नेपालगन्जको बीपी चोकमा भएको भिषण आगालागीबाट पेट्रोलपम्प जोगाउने प्रयास सुरु भएको छ । दुईबटा दमकलले आगलागी नियन्त्रण गर्न नसकेपछी नेपालगन्ज विमान स्थलमा थप एउटा दमकल झिकाईएको छ । राती १२ः३० बजे तीन बटै दमकल मिलेर आगोली नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
नेपालगन्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि नगरपालिका छेउसम्मका दर्जन बढी पसलमा जोखिम हुनेगरी आगलागी भएको हो । ‘चार वटा पसलमा क्षति पुगिसकेको छ’, प्रत्यक्षदर्शी सरोजकुमार चन्दले भने, ‘फर्निचर पसलहरुको रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भैरहेको छ ।’ बाँके प्रहरीले आगो नियन्त्रणका लागि दुई वटा दमकल सहित प्रहरी सक्रिय भैरहेको जनाएको छ । यो समाचार तयार पारुन्जेल आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको थिएन ।
यसअघि मंगलबार नेपालगन्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका अर्डर एण्ड सप्लायर्समा मङ्गलबार राति आगलागी भएको थियो ।
आगलागीबाट दुवै पसलमा रहेका सामान जलेर नष्ट भएकाले रु डेढ करोडको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिएका छन् । उनका अनुसार, बडिमालिकाबाट शुरु भएको आगो छेउमा रहेको प्रेरणा फेन्सी स्टोरमा सल्किएको थियो । विद्युत् चुहिएर आगलागी भएको आशङ्का गरिएको छ । उपमहानगरपालिकाको दमकल र सुरक्षाकर्मीले आगो निभाएका थिए । पछिल्लोपटक नेपालगन्जमा विद्युत् चुहिएर पसलमा आगजनीका घटना बढेका छन् ।
(भिडियो सौजन्य : सरोजकुमार चन्द)










