बाँकेलाई संघीय सरकारको तीन अर्ब बजेट

सबै भन्दा बढी नेपालगन्ज र कम बजेट पाउनेमा नरैनापुर गाउँपालिका

संघीय सरकारले आगामी आ.व. २०७६/०७७ मा बाँकेका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थ मन्त्रालयका अनुसार, बाँकेका आठ वटा स्थानीय तहका लागि २ अर्ब ९० करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको हो । सरकारले वित्तीय समानिकरण अनुदान तर्फ १ अर्ब ३२ करोड २३ लाख र सशर्त अनुदान तर्फ १ अर्ब ५७ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको हो ।


संघीय सरकारले बाँकेका स्थानीय तह मध्ये सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकालाई विनियोजन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले ६९ करोड ५६ लाख रुपैयाँ संघीय सरकारबाट पाउने छ । जसमध्ये वित्तीय समानिकरण तर्फ ३१ करोड ४८ लाख र सशर्त अनुदान तर्फ ३८ करोड ८ लाख रुपैयाँ रहेको छ ।

कोहलपुर उपमहानगरपालिकाका लागि सरकारले आगामी आ.व.का लागि ४१ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोहलपुरले वित्तीय समानिकरण तर्फ १९ करोड १५ लाख र सशर्त अनुदानतर्फ २२ करोड २२ लाख रुपैयाँ प्राप्त गर्ने अर्थ मन्त्रालयले जानकारी गराएको छ ।


बाँकेमा रहेको उपमहानगरपालिका र नगरपालिकाका लागि गरिएको बजेट विनियोजन गाउँपालिकाको भन्दा बढी छ । गाउँपालिका मध्ये खजुरा गाउँपालिकाका लागि सरकारले सबैभन्दा बढी रकम विनियोजन गरेको छ । खजुरा गाउँपालिकाले आगामी आ.व.मा ३८ करोड ८२ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त गर्नेछ । जसमा वित्तीय समानिकरण तर्फ १५ करोड ३ लाख र सशर्त अनुदान तर्फ २३ करोड ७९ लाख रुपैयाँ रहेको छ ।


गाउँपालिकामा खजुरा गाउँपालिका पछि राप्तीसोनारी गाउँपालिकाको बजेट रहेको छ । राप्ती सोनारी गाउँपालिकाले खजुरा गाउँपालिकाकै हाराहारीमा कुल ३७ करोड २४ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त गर्दैछ । राप्तीसोनारी गाउँपालिकाले वित्तीय समानिकरण तर्फ १६ करोड २४ लाख र सशर्त अनुदान तर्फ २१ करोड रुपैयाँ प्राप्त गर्दैछ । राप्ती सोनारीले वित्तीय समानिकरण तर्फ बाँकेका गाउँपालिकामा सबैभन्दा बढी बजेट प्राप्त गरेको हो ।


विकासमा पछि परेको भनिएको राप्तीपारीको नरैनापुर गाउँपालिकाले बाँकेमा सबैभन्दा कम बजेट संघीय सरकारबाट प्राप्त गरेको छ । नरैनापुरले २२ करोड ६८ लाख रुपैयाँ आगामी बर्षका लागि पाउने भएको हो । जसमा वित्तीय समानिकरण तर्फ १० करोड ९६ लाख रुपैयाँ र सशर्त अनुदान तर्फ ११ करोड ७२ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । जानकीको लागि पनि संघीय सरकारले नरैनापुरकै हाराहारीमा बजेट विनियोजन गरेको छ । जानकी गाउँपालिकाले आगामी आवमा संघीय सरकारबाट २२ करोड ७८ लाख रुपैयाँ प्राप्त गर्नेछ । वित्तीय समानिकरण तर्फ १२ करोड ८ लाख र सशर्त अनुदान तर्फ १० करोड ७० लाख रुपैयाँ जानकीका लागि संघीय सरकारले विनियोजन गरेको हो ।


डुडुव गाउँपालिकामा आगामी आ.व.का लागि संघीय सरकारबाट २३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा वित्तीय समानिकरणतर्फ ११ करोड ७५ लाख र सशर्त अनुदानमा ११ करोड ९९ लाख रुपैयाँ रहेको छ । बैजनाथ गाउँपालिकाका लागि ३२ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमा वित्तीय तर्फ १५ करोड ५४ लाख र सशर्त अनुदान तर्फ १८ करोड ३८ लाख रुपैयाँ रहेको छ ।


बाँकेका स्थानीय तह बजेट बनाउँदैछन् । संघ र प्रदेशबाट छुट्याइएको बजेट र आन्तरिक स्रोतको मूल्यांकन गरी बजेट बनाइरहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिएका छन् । ‘असार १० गतेभित्र उपमहानगरपालिकाको बजेट ल्याउने तयारी गरिएको छ’, प्याकुरेलले भने । बाँकेका अन्य स्थानीय तह पनि बजेट बनाउने र चालु आ.व. को अन्तिम महिना सुरु हुन लागेका बाँकी विकास निर्माणको कामहरु सकिउन् भन्ने उद्देश्यले त्यसैमा व्यस्त पाइन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया