पर्यटन ब्यवसायसंगै खेल क्षेत्रको बिकासको नीति लिनुपर्ने सम्बद्धहरुको सुझाव
रामु ओली
आठौं राष्ट्रिय खेलकुदको चर्चा देशले गर्दैछ । खेल जगतले गर्दै छ । विशेष नेपालगन्ज र नेपालगन्जबासीले । नेपालगन्जले करोडौंको भौतिक पुर्वाधार पायो, यो संगै नेपालगन्ज र नेपालगन्जसंग सम्बन्ध राख्ने ब्यक्ति बिच नयाँ बहस छेडिएको छ, खेल पर्यटनको । विहीवार अभूतपूर्व भव्यतासाथ राष्ट्रपति विद्यादेवी भण्डारीले आठौंको औपचारिक उद्घाटन गरेपछि राष्ट्रिय खेलकुद प्रतिको आकर्षण सामान्य मान्छेमा समेत उत्तिकै बढेको देखिन्छ ।
नेपालगन्जमा यतिबेला सामान्य चिया, चाट पसलदेखि तारे होटलसम्मको चहलपहल ह्वात्तै बढेको छ । शुक्रवार दाङ पुगेकाका एक जना पत्रकारले आफ्नो फेसबुक पेजमा आफुहरुले गासबासका लागि राम्रो होटल नपाएको गुनासो गर्दै सबै भरिभराउँ भएको सन्देश दिएका थिए । प्रदेश ५ का खासगरि नेपालगन्ज, दाङ र बुटवल खेलाडी देखि अफिसियलको चापले चलायमान छ । त्यसमा पनि नेपालगन्जमा आधाबढी संख्या यतै छ ।
करिबकरिब दुई दशक अघि सन् १९९८ मा नेपाल भ्रमण वर्ष, १९९९ मा आठौं साफ र २००२ मा सार्क शिखर सम्मेलनको तयारीले नेपालमा अर्बौंको भैतिक पुर्वाधार निर्माण गरिसकेको थियो । त्यसै समयमा वातावरणविद् तथा पर्यटन ब्यवसायी कर्ण शाक्यले नेपालमा खेल पर्यटनको अवधारणा सार्वजनिक गरेका थिए । होटल तथा सडक पुर्वाधार तयार थिए भने देश खेलकुदका पुर्वाधारहरुले सम्पन्न थियो । नेपालको लागि उपयुक्त समय थियो । कारण न कुनै ठूलो लगानीको आवश्यकता थियो न त कुनै पर्यटन र खेल क्षेत्रमा भौतिक पुर्वाधार निर्माण गर्नुपर्ने नै थियो ।
दुई दशक अघि समग्र देशले प्राप्त गरेको अवसर ठिक उस्तै किसिमले यतिबेला नेपालगन्जले प्राप्त गरेको छ । आठौं राष्ट्रिय खेलकुदले खेल क्षेत्रमा अथाह भौतिक पुर्वाधार दिएको छ भने केही बर्ष यता होटल ब्यवसायीका लागि नेपालगन्ज पहिलो रोजाइमा परेको छ । जसको उदाहरणका रुपमा एकपछि अर्को गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय चेन होटलका लगानी नेपालगन्जमा भित्रनुलाई लिन सकिन्छ ।
सुशील मल्ल, खजुरा गाउँपालिका वडा नम्बर २ का स्थानीय बासिन्दा हुन् । अध्ययन र रोजगारीको सिलसिलामा उनी यतिबेला जापान छन् । बाँकेको आर्थिक, राजनीति र विशेषगरी खेल क्षेत्रलाई नजिकबाट नियालिरहेका उनले आठौंले दिएको खेल पुर्वाधारमा के गर्न सकिन्छ भनेर निरन्तर छलफलमा रहेको बताउँछन् । मल्ल नेपालगन्जमा ब्यवसायिक क्लब स्थापना गरि खेललाई पर्यटन संग जोडेर खेल र पर्यटन दुबैको टेवा पु¥याउन सकिने जिकिर गर्छन् ।
बाँके बर्दिया मैत्री समाज जापानका अध्यक्ष समेत रहेका मल्ल बिश्वका विभिन्न देशमा छरिएर रहेका बाँकेबासी साथीहरुसंग छलफल चलिरहेको र चाँडै नै नेपालगन्जको खेल पर्यटनमा केही गर्ने ठोस कार्य गर्ने बताउछन् । ‘हामीले जापानमा हरेक बर्ष बागेश्वरी गोल्ड कपको आयोजना गर्दै आएका छौँ, खेल पर्यटनको अवधारणा अनुरुप बागेश्वरी गोल्डकप नेपालगन्जमा चाँडै सुरुवात गर्ने योजनामा छौँ,’ मल्लले दैनिक नेपालगन्ज सँगको सम्पर्कमा भने ।
मकाउमा पर्यटन क्षेत्रमा काम गर्दै आएका नेपालगन्जबासी भरत खड्का सानै देखि खेलकुदमा रुचि राख्थे । उनी अहिले सामाजिक संजाल र अनलाइन न्युज मार्फत आफ्नो नगरिको खेल उत्सवको बारेमा अपडेड भैरहन्छन । बाँकेले प्राप्त गरेको अथाह भौतिक पुर्वाधारका बारेमा उनको चासो बढ्दै गएको छ । ती भौतिक पुर्वाधारमा अब हामीले के गर्न सकिन्छ त्यता पट्टि सोच्ने बेला भएको उनको धारणा छ । ‘बाँकेले यतिका भौतिक पुर्वाधार प्राप्त गरेको छ, हाम्रो देशमा पर्यटनको प्रचुर सम्भावना छ, त्यसैले आठौंले दिएको खेल पुर्वाधारलाई प्रयोग गर्दै खेल पर्यटनको ब्यवस्थित सुरुवात गर्नुपर्छ,’ खड्का भन्छन् ।
नेपालगन्ज पर्यटन ब्यवसायको आधार मानिने स्तरीय होटल तथा गन्तव्यको लागि केन्द्रबिन्दुमा छ भन्दा फरक पर्दैन । मानसरोवर यात्राको लागि आधारको रुपमा नेपालगन्ज उदाइदिंदा एक पछि अर्को गर्दै स्तरीय तथा तारे होटलहरु धमाधम खुल्दै गएका छन भने भएका होटलले आफ्नो स्तर वृद्धि गर्दै छन् । त्यही आधार र आठौंले दिएको खेल क्षेत्रको भौतिक पुर्वाधारको सदुपयोग गर्दै खेल पर्यटनमा नेपालगन्जले लगानी र पाइला चाल्नुपर्ने सम्बद्ध विज्ञहरुको धारणा छ । हस्पिटालिटी विज्ञ एवम् म्यानेजमेन्ट कन्सल्टेन्ट भरत बिष्टले अबको नेपालगन्ज पर्यटन र खेलकुदलाई मिलाएर खेल पर्यटनको अवधारणामा जानुपर्ने धारणा राख्छन् । त्यसो गर्दा पर्यटन ब्यवसायसंगै खेल क्षेत्रको समेत बिकास हुने बिष्टको बुझाइ छ । ‘यहाँका पर्यटन व्यवसायीले यसरी सोच्न ढिलो गर्नु हुन्न,’ विष्टले दैनिक नेपालगन्जसँग भने, ‘यी पूर्वाधारमा नियमित प्रतियोगिताको आयोजना गरिरहँदा नेपालगन्ज आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्दै जान्छ ।’
आठौंले नेपालगन्जलाई पर्याप्त खेल पुर्वाधार दियो । तर ती खेल पुर्वाधारको सहि किसिमले सदुपयोग नभए देशको अर्बौं लगानी खेर जानेमा नेपालगन्जबासी चिन्तित पनि छन् । ‘आठौंले दिएको ठुलो लगानीको उपहारलाई पर्यटन ब्यवसायको सहकार्यमा खेल पर्यटनको अवधारणामा नेपालगन्ज जानु उचित विकल्प हुन्छ,’ नेपालगन्ज १० का हेमन्त शाहीले दैनिक नेपालगन्जसँग भने, ‘नभए अहिले बनेका भौतिक पुर्वाधार नेपालगन्जको लागि उपयोगहीन हुनेछन् ।’
हुन त नेपालगन्ज आफंैमा मध्य तथा सुदुरको औद्योगिक तथा ब्यापारिक केन्द्र पनि हो । तर, पछिल्लो समयमा नेपालगन्जले आफ्नो परिचयलाई त्यतिकैमा सिमित भने राखेको छैन । हाल होटलको हबको रुपमा क्रमिक रुपमा विकसित भैरहेको अवस्थामा खेल क्षेत्रले इतिहासकै अधिक भौतिक पुर्वाधार प्राप्त गरेको समयमा ती दुबै कुराको सहि सदुपयोग गर्न सके आठौंले दिएको उपहारको सहि अर्थ साबित हुने निश्चित छ ।