आजदेखि आठौं, पाँच खेलका प्रतिष्पर्धा सुरु गरिंदै

आज बुधवारदेखि आठौं राष्ट्रिय खेलकुद अन्तर्गतका विभिन्न खेलहरु सुरु गरिंदैछन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन बैशाख ५ गते नेपालगन्ज रंगशालामा गरिने पूर्व कार्यक्रम रहेपनि विभिन्न ५ खेलका लागि निर्धारित तालिका अनुसार आजैबाट हुन लागेका हुन् ।

 
‘आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न ५ विधाका प्रतिष्पर्धा बुधवारबाटै गरिंदैछ,’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले दैनिक नेपालगन्ज सँग भने, ‘विभिन्न ५ ठाउँमा बुधवारनै ती खेलका शुभारम्भ औपचारिक रुपले आयोजना गरिंदैछन् ।’ आठौं राष्ट्रिय खेलकुदको मुख्य समुद्घाटन समारोह भने आगामी २०७६ बैशाख ५ गते नेपालगन्ज रंगशालामा आयोजना हुनेछ । प्रतियोगिता उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारी र समापन बैशाख ११ गते समापनमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आतिथ्य गर्ने कार्यक्रम छ । ‘सकभर हाम्रो आतिथ्यता राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूबाट स्वीकार हुनेमा ढुक्क छौं,’ निमन्त्रणा गरिसकिएपनि स्वीकृतिको जानकारी नआइसकेको जनाउ दिंदै सदस्य सचिव विष्टले भने ।

 
राखेपका प्रेस सल्लाहकार समेत रहेका आठौंका प्रचार संयोजक रोहित दाहालले दाङको घोराहीस्थित कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगल खेल मैदानमा पुरुष हक्की, बुटवलमा लनटेनिस हुनेछन् । ललितपुरको सातदोबाटोमा स्क्वासको प्रतिष्पर्धा हँुदैछ । ‘नेपाल सरकारका प्रवक्ता, सञ्चारमन्त्री गोकुल बासकोटाले स्क्वासको शुभारम्भ गर्दै हुनुहुन्छ,’ मंगलवार सोही कार्यक्रमका लागि राजधानी काठमाडौं फर्किएका सदस्य सचिव विष्टले भने ।

 
उद्घाटन अघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गोल्फ उद्घाटन समारोह अघिनै सकिने कार्यतालिका छ । महिला हक्की नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३ गतेदेखि मात्र शुरु हुने बताइएको छ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हँुदैछ ।

 
आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ . बृहत राष्ट्रिय खेलकुदको पहिलो, दोश्रो र तेश्रो संस्करण बाहेक दुई वर्षको अन्तरालमा पहिलो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो । ‘हाम्रा लागि यहीनै पनि गौरबको कुरा छ,’ मंगलवार दिनभर नेपालगन्ज रंगशालामा भीआइपी प्याराफिटका लागि खटिएका राखेप सदस्य सचिव विष्टले भने ।

 
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले सोमवार देखि प्याराफिटमा देखिएको समस्या समाधान गरेर सदस्य सचिव विष्ट काठमाडौं फर्किएको बताए । भन्सारका कारण भीआइपी प्याराफिटको सामान आउन रोकिंदा चिनिया प्राविधिकले तोकिएको समयमा काम पुरा हुन नसक्ने चेतावनी दिएका थिए । सदस्य सचिव विष्टले सबै समस्या हल गरिएको जानकारी दिंदै उद्घाटन समारोहका लागि प्याराफिट तयारी अवस्थामा पाइने बताए ।

 
त्यस्तै, प्रचारप्रसारलाई तिव्रता दिंदै पोष्टर, पम्प्लेटका काम अगाडि बढाइएको छ । प्रचार समितिका सदस्य टिएस ठकुरीले नेपालगन्जबाट बाहिर जाने यातायातका साधनहरुमा स्टीकर टाँस्न लागिएको जानकारी दिए । ‘नेपालगन्ज उद्योग वाणिज्य संघ, जुमा स्पोर्टस् क्लब लगायतका विभिन्न संघ, संस्थाहरुबाट स्वस्फूर्त पनि आठौंका लागि प्रचारात्मक काम भैरहेको छ’, ठकुरीले भने, ‘अन्य प्रतियोगिता स्थलहरुमा पनि स्थानीय स्तरका प्रचारप्रसारका काम भैरहेका छन् ।’

 

प्रतिक्रिया

प्रतिक्रिया