घातक ‘पबजी’ को लतमा नेपालगन्जका युवा

रामु ओली
‘गुड्डु टि सप’ का मालिक हुन नाफिस अहमद ’गुड्डु’ । उनको चिया मीठो या ब्यवहार मैले बुझ्ने चेस्टा गरिन् । नेपालगन्जका युवापुस्ताको ठूलो जमात उनैको टि स्टलमा रमाउने गर्छन् । ‘कुनै बेला दैनिक २ हजार ५ सय कपसम्म चिया बेच्ने गुड्डुको कारोबार आजभोलि २ हजार कप सम्म पनि पुग्दैन,’ गुड्डु टि स्टलका नियमित ग्राहक रोबिनले भने । हुनत रोबिनको भनाइमा गुड्डु सहमत वा असहमत भएनन् । सायद कारोबारको अनुभव उनले पनि गरेकै थिए होलान् । त्यसो हुनुको कारण थियो ‘पबजी’ ।

 
प्लेयर ब्याटल ग्राउन्ड (पबजी) एउटा अनलाइन मोबाइल र पिसि गेम हो । पबजी गेम एउटा म्यापमा प्रवेश गरेर खेल्ने गरिन्छ, जहाँ २५ स्कड हुन्छन् भने प्रत्यक स्कडमा चार जना प्लेयर । अनलाइन गेम भएकाले आफ्नो फेसबुक, टुइटर जस्ता सामाजिक संजालका साथी संग कनेक्ट भएर खेल्न सकिने र भ्वाइस म्यासेज द्वारा कुराकानी गर्दै गेमको डाइरेक्सन समेत दिन सकिने भएकाले पबजी युवापुस्ता माझ निकै लोकप्रिय बनेको छ ।

 
पबजी गेममा प्रवेश गरिसके पछि कम्तिमा पनि तीस देखि चालिस मिनेट लगातार मोबाइलमंै ध्यान दिनुपर्ने हुन्छ । गेममा आफुलाई अरु स्कडले मारिदिए पनि आफ्नो स्कडका बाँकी सदस्य रहँदासम्म गेमबाट बाहिर निस्कँन पाइदैंन । यदि निस्किएको खण्डमा पोइन्ट र्याङ्क घट्छ । सम्मोहन को अर्को रुपको रुपमा लिन सकिने पबजीले दिएको नकारात्मक असरहरु धेरै छन् ।

 
’पबजी’ गेम नसुन्ने र नखेल्ने आजभोलि हाँसोको पात्रको रुपमा चित्रण हुँदैछन् । मेरो सन्दर्भमा ‘पबजी’ नसुनेको होइन, नखेलेको पनि होइन । सम्भवतः नेपालमा धेरैले त्यो गेमको बारेमा थाहा नै पाएका थिएनन् त्यति बेलै मैले आफ्नो मोबाइलमा पबजी डाउनलोड गरेको थिएँ । अनलाइन खेल्नुपर्ने र गेमको साधारण नियम नजानेर नै हुनसक्छ ममा पबजीले खासै लत लाग्न सकेन ।


गुड्डुकै चिया पसलमा एक दिन मैले ‘के सारो पबजी खेल्न सकेको ?’ छोटो प्रतिक्रिया दिएको थिएँ ।
भित्रबाट कसैको प्रतिउत्तर उस्तै छोटो आयो ‘देख आया एक जिर्बियाम’ मलाई त्यसको अर्थ बुझ्न लामै समय लाग्यो । पबजी प्लेयर र पबजीका फ्यानहरुले पबजी विरुद्ध प्रतिक्रिया दिनेहरुको लागि तयार गरेको शब्द रहेछ । अर्थात एक जिर्बियाम भएको मोबाइल । अर्थात सस्तो र पुरानो भर्जनको मोबाइल प्रयोगकर्ता । कारण, पबजी लेटेस्ट र हाइली कन्फ्युग्रेसन सफ्टवेयर तथा हार्डवेयर मोबाइलमा मात्र राम्रोसंग चल्ने गर्छ ।

पबजी के हो ? कस्तो गेम हो भन्नुभन्दा पनि पबजीले युवापुस्ता र दैनिक जीवनमा त्यसले पारेको असरको कुरा गरौं । यसले नेपालगन्जका युवाहरुमा निकै घातक लत फँसेको देखिएको छ । गुड्डुको ब्यापार एउटा उदाहरण मात्रै हो । अन्तर्राष्ट्रिय समाचार माध्यमलाई बिश्वास गर्ने हो भने पबजी गेमकै कारण मृत्यु समेत भएको देखिन्छ । जागीर गुमाउने र दुर्घटनाको कुरा त सामान्य नै भैसकेको छ । छिमेकी मुलुक भारतको गुजरातमैं यो गेममाथि प्रतिबन्ध लागिसकेको छ भने अन्य विभिन्न शहरमा पनि प्रतिबन्ध लगाउने पर्ने माग उठ्न थालेको छ ।

 
विभिन्न सञ्चार माध्यमका अनुसार, भारतकै मध्यप्रदेशका एक युवकले पबजी खेल्ने क्रममा पानी भनेर एसिड पिएका थिए । उनलाई उपचारका लागि अस्पताल त लगियो तर, अस्पतालमा पनि उनले खेल्न छाडेनन् । पबजीले मानिसको जीबनमा प्रत्येक्ष तथा परोक्ष रुपमा असर गरेको कुरा स्वयम पबजीका पारखी समेत स्वीकार गर्छन् । त्यसैलेनै यो समस्या अहिले नेपालमा पनि उत्तिकै रुपमा चर्किएको हो । ‘काम तथा पढाईमा ध्यान नरहने, फुर्सद भए पनि र नभए पनि पबजी खेल्ने, पबजी खेलिरहेको अवस्थामा ध्यान अन्यत्र नजाने र जति नै अत्यावश्यक काम भएपनि पबजी छोड्न नसक्ने जस्ता कुराहरूले काम संगै समयको समेत नोक्सान भइरहेको छ,’ पबजी प्लेयर रोबिन तिवारीले दैनिक नेपालगन्जसँग भने ।

 
महिना दिन अघि मात्रै नेपाली संचार माध्यमले अन्तर्राष्ट्रिय संचार माध्यमको हवाला दिदै आठ दिन सम्म लगातार पबजी खेलेकै कारण शारीरिक तथा मानसिक अवस्था नाजुक भएर मृत्युु भएको समाचार प्रकाशित गर्यो । त्यो भन्दा अगाडी समेत अन्तर्राष्ट्रिय समाचार एजेन्सीले त्यस्तै प्रकारको समाचार प्रकाशित गरेको थियो । दुर्घटना र कसैले जागिर गुमाउनु परेको पीडा तथा बिद्यार्थीले स्कुल तथा कलेज छोड्नु परेको खबर सामान्य बनिसकेको छ ।

 
अनलाइन गेम भएकाले मोबाइल डाटाको उच्चतम खपत हुने हुँदा आर्थिक भार समेत बढ्ने निश्चित नै छ भने पबजी फ्री गेम भएपनि गेम भित्र विभिन्न हातहतियार र कीट खरिद गरेर खेल्दा खेलको स्तरमा वृद्धि हुने भन्दै अनलाइन पेमेन्ट गरेर त्यस्ता कीट खरिद गर्ने हुदा नेपाली रुपैयाँ धेरथोर मात्रामा बिदेशीने गरेको तथ्य पनि प्राप्त भएको छ ।
पबजी नेपाली समाजमा मात्रै नभई बिश्व समुदायको लागि नै एउटा घातक समस्याको रुपमा देखापरेको छ । उत्पादनशिल युवाशक्ति दैनिक ६–८ घन्टा सम्म पबजीमा रहनुलाई सकारात्मक पक्कै मान्न सकिंदैन । पबजी प्रयोगकर्ता कम्तिमा पनि दैनिक ६–८ घन्टा पबजी खेल्ने अनुमान सजिलै गर्न सकिन्छ । बढिमा नगन्य । ‘लत बस्ला कि भनेर चलाउनै छाडें,’ वेभ डिजाइनर दिपेश आचार्य भन्छन्, ‘डाउनलोड गरिसकेर पनि विस्तारै टाढिन खोजिरहेको छु ।’

 
पबजीले मानिसको मन र मस्तिष्कलाई एकत्रित गरेर खेल अवधिभर मोबाइल मै टिकाइरहने हँुदा लामो समय सम्म मोबाइल प्रयोग गर्दा उत्पादन हुने मानसिक तथा शारीरिक रोग तथा समस्या हुने हुन्छ भने खेल अवधिभर खेलमै ध्यान केन्द्रित रहने हुदा त्यस बिचमा कसैले बोलाउदा या काम विशेष झकझकाउदा रिसाउने, चिढिने र हातपात सम्मको अवस्था सृजना हुने गर्दछ । ‘खतरनाक गेम हो,’ आचार्यले दैनिक नेपालगन्जसँग भने ।

 
अन्तर्राष्ट्रिय समाचार माध्यमले पबजी खेल्नैका लागि जागिर छोडेका कयौं उदाहरण दिएका छन् भने स्कुल तथा कलेजका बिद्यार्थी कलेज सम्म नपुग्ने गरेको समेत भेटिएको छ । त्यस्तै, लामो समयसम्म आफ्नो सन्तान, श्रीमान तथा श्रीमतिहरु मोवाइलमैं वा गेममै झुन्डिएर बस्दा परिवारका अन्य सदस्यले गाली गर्दा परिवारिक कलह निम्तिने र गेम खेल्नैको लागि लामो समय सम्म घर देखि बाहिरै बस्ने गरेको समेत एक अध्ययनले बताएको छ ।

 
एनडिटिभिका अनुसार भारत हैदरबादको एक छात्रलाई अभिभावकले पबजी खेलेकै कारण गाली गर्दा उसले आत्महत्या गरेको, पबजी खेल्दा खेल्दै एक जनाले पानी सम्झेर एसिड पिएको बताएको छ । आश्चर्यलाग्दो कुरा त के भने पबजीकै कारण एसिड पिएका ती व्यक्ति अस्पतालमा उपचारार्थ भर्ना गरिरहँदा पनि खेल्न छाडेनन् । त्यस्तै प्रकृतिका कयौं खबर एनडिटिभिले लगातार अपडेट गरेको छ । पबजी को नकारात्मक असरको कारण भारतको गुजरात पुलिसले गुजरातको विभिन्न जिल्लामा पबजी खेल्न रोक लगाएको छ भने कयौं ब्यक्तिलाई पबजी खेलेकै कारण हिरासतमा समेत लिएको थियो ।

 
आखिर प्लेयर ब्याटल ग्राउन्ड (पबजी) किन गेम पारखीहरु माझ यसरी चर्चित हुदैछ त ? यसको सर्वमान्य उत्तर कसैले दिन सकेका छैनन् । कसैले राम्रो ग्राफिक्स गेमको रुपमा चित्रण गरेका छन त कतिले गेम संगै कुराकानी गर्ने सुबिधा हुनुलाई मान्दछन भने करोडौं रुपैयाँको अन्तर्राष्ट्रियस्तरमा पबजी टुर्नामेन्ट गर्नु र त्यसको म्यासेज दुनियाँभरमा संचार गर्नुपनि एक कारण मान्दछन । कारण जे नै भएपनि पबजी विभिन्न घटनाहरूको कारकतत्व बन्दै गएको आजको यथार्थ हो । जसको प्रभावबाट नेपालगन्ज पनि गाँजिंदै गएको देखिन्छ ।

 
मनोचिकित्सकहरु पबजीले भबिस्यमा मानसिक समस्या सृजना हुने दाबी गरिरहँदा हाम्रै नेपाली समाजमा पनि विभिन्न किसिमका असामान्य ब्यक्तिगत हरकतहरु देखापर्न थालेको छ । जसले भबिष्यमा आर्थिक, शारीरिक, मानसिक संगै सामाजिक हानी गर्न सक्छ ।

 
नेपालगन्जकै कयौं चिया पसलमा पबजी पारखी हरु घन्टौं खेलमा झुमेको देखिनु सामान्य भएको छ । कोहि ब्यक्ति लगातार बीस मिनेट देखि धेरै मोबाइलमा केन्द्रीत भएको छ भने तपाईं ढुक्क साथ भन्न सक्नुहुन्छ उ पबजी खेल्दै छ । किनकी पबजी बाहेकका अन्य कुनै गेम्स या एप्लिकेसनले त्यति लामो समय सम्म लगातार बाँधेर राख्न सक्दैन । त्यसरी लगातार पबजी खेल्ने गरेका मोबाइल प्रयोगाकर्ता माझ गर्धनमा समस्या देखिन थालेको भारतीय फिजिसियनहरु बताउने गर्छन् र समयमै सचेत रहन समेत आग्रह गरेका छन् । अब हामी अनुमान लगाउन सक्छौ कि त्यसबाट हाम्रो दैनिक जिबन र शारीरिक तथा मानसिक अवस्थामा कस्तो असर गर्ला ? यो नै अहिलेको प्रमुख प्रश्न बनेको छ ।

 
राजधानी काठमाडौंस्थित महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका अनुसार, पछिल्लो समय विभिन्न विद्यालयका प्रिन्सिपल र अभिभावकहरुले प्रहरीलाई यो गेममाथि नियन्त्रण लगाउन आग्रह गर्न थालेका छन् । तर, बाँकेको नेपालगन्जमा त्यस्तो कुनै गुनासो भने सतहमा आएको छैन । ‘हामी कहाँ त्यस्तो कुनै गुनासो आएको छैन,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरिक्षक अरुण पौडेलले दैनिक नेपालगन्ज सँग भने, ‘यसको नकारात्मक परिणाम बारे अभिभावकनै सचेत हुनुपर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया