प्रदेश ५ मा प्रत्येक दिन दुर्घटनाका कारण २ जनाले अकालमा ज्यान गुमाउने गरेका छन् । प्रदेशमा चालु आ.व.को आठ महिनामा भएको दुर्घटनाका कारण सरदर झण्डै दुई जनाले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको हो । जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार प्रदेश ५ मा चालु आ.व.को फागुनसम्म ३ सय ४८ जनाले दुर्घटनाका कारण अकालमा ज्यान गुमाएका छन् । उक्त अवधीमा ६ सय ४२ जना गम्भीर घाइते भएका छन् भने ४ सय ८३ जना सामान्य घाइते भए ।
प्रदेश ५ मा ट्राफिक व्यवस्थापनका लागि खटिने जनशक्ति अत्यन्त न्यून रहेको पाइएको छ । सडक दुर्घटनाका न्यूनीकरणका लागि गठित कार्यदलले आइतबार नेपालगन्जमा आयोजना गरेको छलफल कार्यक्रममा प्रस्तुत तथ्यांकबाट प्रदेश ५ मा सरदर २१.११ किलोमिटरमा १ जना ट्राफिकको दरबन्दी रहेको खुलेको हो । कार्यक्रममा प्रदेश ५ मा ट्राफिक सम्बन्धी अवस्था जानकारी गराउँदै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख, प्रहरी निरिक्षक हिरेन्द्र रोकायले प्रदेशमा जम्मा ४ सय ६० ट्राफिक प्रहरीको दरबन्दी रहेको जानकारी दिएका हुन् । जसमा २४ महिला र ४ सय ३६ जना पुरुष ट्राफिक कार्यरत रहेका छन् ।
प्रदेश ५ मा राजमार्ग मात्रै ३ सय ६१ किलोमिटर रहेको छ । जसमा चल्ने सवारी साधनको निगरानी गर्ने ट्राफिकको संख्या भने न्यून पाइएको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार, दुर्घटनाका घटना पनि प्रत्येक बर्ष वृद्धि भैरहेको छ । आ.व. २०७२÷०७३ मा ८२५, आ.व. ०७३/०७४ मा ८ सय ४३ र आ.व. ०७४/०७५ मा ८ सय ५६ वटा दुर्घटनाका घटना अभिलेखिकरण भएको प्रदेश ट्राफिक प्रहरीको तथ्यांक रहेको छ ।
प्रदेश ५ मा दुर्घटनामा ज्यान गुमाउने, गम्भीर घाइते र साधारण घाइतेहरुको तथ्यांक पनि डरलाग्दो रहेको छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार आ.व. २०७२/०७३ मा ५ सय ८१ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए भने ८०७ गम्भीर ६ सय ९२ जना साधारण घाइते भएका थिए । आ.व. ०७३/०७४ मा ५ सय ७० जनाको दुर्घटनामा ज्यान गएको छ । सोही आ.व.मा ७ सय २१ गम्भीर ५८८ जना साधारण घाइते भएका छन् ।
आ.व. ०७४/०७५ मा दुर्घटनामा मृत्यु हुनेहरुको संख्या अघिल्लो बर्षको भन्दामा कमी आएको छ । उक्त अवधीमा दुर्घटनाका कारण ५ सय ४५ को मृत्यु, ८ सय ५४ जना गम्भीर र ५ सय ७१ जना साधारण घाइते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख रोकायले जानकारी दिएका छन् ।
दुर्घटनाको कारण पहिल्याएर न्यूनिकरणका लागि कदम चाल्ने उद्देश्य राखिएको कार्यक्रममा तीव्र गति, जथाभावी ओभरटेक, ओभरलोड, जीर्ण सडक र चालकको लापरवाही दुर्घटनाको कारणका रुपमा प्रस्तुत गरिएको थियो । ‘मापसे गरेर सवारी चलाउने, सडकमा बिग्रीएका सवारी साधनलाई संकेत बिनै राख्ने, प्रहरी पहुँच नभएको ठाउँमा ओभरलोड गरी सवारी चलाउनाले पनि दुर्घटनामा मृतकको संख्या बढ्दै गएको हो’, रोकायले भने, ‘यात्रुहरुले जथाभावी बाटो काट्ने, झुण्डिएर यात्रा गर्ने, विवाह, मलामी, वनभोज, राजनीतिक दलका कार्यक्रममा ट्राफिक नियम पालना नगर्दा दुर्घटनाहरु बढिरहेका छन् ।’ उनले न्यून जनशक्ति, जीर्ण सडक, ट्राफिक नियम अटेरीका कारणले पनि मानिसले ज्यान गुमाउने, अंगभंग हुने गरी दुर्घटनाका घटना हुने गरेको बताए ।
प्रदेशमा दुर्घटनाको घटना र मृतकको संख्या बढ्दै गएपछि त्यसको न्यूनीकरणको उपाय खोज्न प्रदेश ५ सरकारले सडक सुरक्षा, सुझाव कार्यदल गत फागुनमा कार्यदल गठन गरेको थियो । प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा गठित सडक सुरक्षा सुझाव कार्यदलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, प्रदेश ५ का प्रहरी प्रमुख सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्यसचिव छन् । उक्त कार्यदल प्रदेशका विभिन्न जिल्लामा सुझाव संकलन गर्ने क्रममा नेपालगन्ज आएको हो ।
प्रदेशका सडकको अवस्था, सडक सुधारका लागि गर्नुपर्ने काम, दुर्घटना रोक्ने उपायसहितको प्रतिवेदन दुई महिना भित्र तयार गरी प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी दिइएको छ । प्रतिवेदनका आधारमा प्रदेश सरकार सडक सुरक्षा योजना बनाएर लागु गर्ने योजनामा छ ।
आइतबार नेपालगन्जमा आयोजित सुझाव संकलन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेल, सशस्त्र प्रहरी, जिल्ला स्थित यातायात व्यवसायी संघका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरुले कार्यदल समक्ष दुर्घटनाका कारण र आगामी दिनमा प्रदेश सरकारले चाल्नुपर्ने कदमका बारेमा सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले पछिल्ला दिनमा नेपालगन्जका चोकचोकमा बढेको ट्राफिक सक्रियताको प्रशंसा गरे । ‘दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमलाई कडाईका साथ पालना गराउन आवश्यक छ’, अध्यक्ष वैश्यले ट्राफिक प्रहरीसँग भने, ‘आपतकालीन अवस्था र अञ्जानमा कसैले नियम तोडेमा भने नरम व्यवहार गर्नुस् ।’
अधिवक्ता बसन्त गौतमले बाँच्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह गरे । ‘हरेक नागरिकलाई बाँच्न पाउने अधिकार छ’, गौतमले भने, ‘त्यसका लागि नियमहरुलाई कडाईसँग लागु गरिनुपर्छ ।’ उनले सडकमा रहेका खाल्टाखुल्टी, ओभरलोड, तिव्र गतिमा नियन्त्रण गरिनु पर्ने धारणा राखे । ‘जथाभावी चालक अनुमति नदिनुस्’, गौतमले भने, ‘अदक्ष चालक पनि दुर्घटनाका कारक हुन् ।’
हरप्लेसका टोप बहादुर खड्काले ट्राफिक व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन आग्रह गरे । उनले दुर्घटना न्यूनीकरणका लागि धेरै विषयहरु जोडिने गरेको उल्लेख गरे । ‘चालकको तनाव, खराब सडक, ट्राफिक नियमको वेवास्ता दुर्घटनाका कारक हुन्’, उनले भने, ‘त्यसैले ट्राफिक नियमबारे अभिमूखिकरण, चालकलाई उत्प्रेरित गर्ने, सडकको गुणस्तर सुधार गर्ने काम गरिनुपर्छ ।’ खड्काले फिल्डमा खटिने ट्राफिकलाई उत्प्रेरित गर्न समेत आवश्यक रहेको बताए । ‘ट्राफिकको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैले उनीहरुलाई उत्प्रेरणा हुने हिसाबले प्रदेश सरकारले योजना बनाउनु पर्छ’, खड्काले भने ।
शिवलाल पाण्डेले सवारी साधनको अवस्था निरन्तर चेकजाँच गर्ने व्यवस्था गरिनु पर्ने बताए । पुष्प आनन्द गिरीले ट्राफिक प्रहरीको कारवाही राजश्व असुली भन्दा सुधारोन्मुख हुनुपर्ने बताए । ‘जरिवाना लिने र यथावस्थामा छाडिदिने हो भने दुर्घटना न्यूनीकरण हुँदैन’, उनले भने, ‘जुन नियमको पालना भएको छैन त्यसलाई तत्काल पालना गर्न लगाउनु पर्छ ।’ सशस्त्र प्रहरीका एसपी भेष बहादुर बस्नेतले ट्राफिक प्रहरीको कमी भए सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई पनि ट्राफिक व्यवस्थापनमा प्रयोग गर्न सकिने धारणा राखेका थिए ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले दुर्घटनाबाट जोगिन नागरिक पनि जिम्मेवार हुनुपर्ने धारणा राखे । ‘आफ्नो ज्यान जोगाउन नागरिक आफै पनि सचेत हुनुपर्छ’, पौडेलले भने, ‘सरोकारवाला सबैले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना न्यूनीकरण हुन्छ, अकालमा ज्यान गुमाउने जोखिम रहँदैछ ।’ अधिवक्ता विश्वजित तिवारीले ट्राफिकका सम्बन्धमा भएका ऐन, नियम र अदालती फैसलालाई कार्यान्वयन गर्नुपर्ने धारणा राखे । ‘क्षमता भन्दा बढी यात्रु कोच्ने यातायात व्यवसायी र यात्रा गर्ने यात्रुलाई पनि कारवाहीको व्यवस्था हुनुपर्छ’, अधिवक्ता तिवारीले भने ।