आठौंका लागि सकियो प्रदेश ५ को छनौट, छिट्टै खेलाडीको नाम सार्वजनिक

आसन्न आठांै राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु आगामी चैत्र २० गते गर्ने तयारी भैरहेको मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताएका छन् । सुदूरपश्चिममा आयोजित वाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कप २०७५को उपाधी विजेता नेपालगन्ज ११ का खेलाडीहरुलाई सम्मान गर्न बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका इभेन्टहरु चैत्र २० बाट सुरु गरिने बताएका हुन् ।

 
प्रतियोगिताको मिति औपचारिक रुपमा भने घोषणा गरिएको छैन । राष्ट्रपति विद्या देवी भण्डारीसँग प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गर्न चैत्र २५ गतेको मिति प्रस्ताव गरिएपनि त्यो चैत्र २७ गतेसम्म सर्न सक्ने खेलकुद विकास समितिका पदाधिकारीहरुले बताएका छन् । ‘राष्ट्रपतिज्यूको समय चैत्र २७ गतेका लागि निश्चित भएको सूचना पाएका छौं’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका एक पदाधिकारीले भने ।

 
भौतिक पूर्वाधार समयमै निर्माण नसकिंदा गत मंसिरदेखि औपचारिक र अनौपचारिक रुपमा तय गरिएका मिति गर्दै आएको छ । त्यसैले खेलकुद विकास समिति औपचारिक उद्घाटन अघि नै खेलका विभिन्न इभेन्टहरु आयोजना गर्ने तयारीमा छ ।

 
प्रतियोगिताको मिति औपचारिक घोषणा नगरिएपछि प्रतियोगिताको तयारी भने तिव्र रुपमा भैरहेको छ । भौतिक पूर्वाधार निर्माणदेखि प्रतियोगिताका लागि गठित उपसमितिले सक्रियतापूर्वक जिम्मेवारी सम्हालिरहेका छन् ।
‘आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ५ को छनोट कार्य पनि सकिएको छ’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओलीले भने, ‘अब प्रदेशको नेतृत्व गर्दै फिल्डमा उत्रने खेलाडीहरुको नामावाली तयार भैरहेको छ ।’ प्रदेश ५ मा २७ वटा खेलको छनोट कार्य सकिएका हो । अध्यक्ष ओलीले १/२ दिनभित्रै प्रदेश ५ बाट खल्ने सबै विधाका खेलाडीहरुको नाम सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

 
समितिले बन्द प्रशिक्षणको तालिका समेत चैत्र ९ गतेभित्र समितिमा आइपुग्ने जानकारी दिएको छ । ‘बन्द प्रशिक्षणको तयारी पनि भैरहेको छ’, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष ओली भन्छन्, ‘छानिएका खेलाडी बीच तालमेलका लागि एक हप्ता बन्द प्रशिक्षण सञ्चालन हुनेछ ।’

 
अध्यक्ष ओलीले प्रदेश ५ मै आठौं राष्ट्रिय खेलकुद आयोजना हुने भएकाले यस प्रदेशका खेलाडीको मनोबल पनि उच्च रहेको विश्वास व्यक्त गरेका छन् । ‘प्रदेश ५ ले राम्रो खेल्छ र पदक भित्र्याउँछ भन्नेमा हामी विश्वस्त छौं’, अध्यक्ष ओलीले भने ।

 
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण बाँके खेल पूर्वाधारको क्षेत्रमा देशमै दोस्रो स्थानमा रहेको दाबी अध्यक्ष ओलीले गरेका थिए । ‘बाँकेमा धेरै खेलका पूर्वाधार निर्माण भएको छ, यसले खेलाडीले खेल्ने अवसरको सुनिश्चितता भएको छ भने नयाँ–नयाँ खेलाडीहरु उत्पादन हुने सम्भावना बढेको छ’, अध्यक्ष ओलीले भने । उनले खेल्नका लागि स्तरीय खेल पूर्वाधारहरुले बाँकेको खेल क्षेत्रको विकासमा फड्को मार्ने बताए ।

 

 

खेलाडी सम्मान

सुदूरपश्चिममा आयोजित वाह्रवन दोस्रो आमन्त्रित गौरीगंगा कप २०७५को उपाधी हात पारेको नेपालगन्ज ११ को टिमलाई बुधबार नेपालगन्जमा सम्मान गरिएको छ । नेपालग्न्ज ११ स्पोर्टस् क्लबले एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई सम्मानित गरेको हो । फागुन २५गते बाट सुरु भएको फुटवल खेलमा नेपालगन्ज ११ ले प्रथम स्थान हासिल गरी रु ३ लाख नगद सहित ट्रफीको हकदार बनेको थियो ।

 
नेपालगन्ज ११ का अध्यक्ष घनश्याम थापा क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश न ५ का क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, क्षेत्रीय निर्देशक एवं प्रशिक्षण विभाग प्रमुख जयन्त शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक वस्नेत, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक झलक गैरे लगायतले खेलाडी तथा क्लबलाई बधाई दिएका थिए ।

 
क्लवका सचिव गान्धी हमालले सञ्चालन गरेको सो कार्यक्रममा पूर्व वरिष्ठ फुटवल प्रशिक्षक श्याम श्रेष्ठ, खेलकुद विकास समितिका क्षेत्रीय उपाध्यक्ष नरेन्द्र थापा, फुटवल प्रशिक्षक रविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालगन्ज ११ का सदस्य विकास थापाले मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया