‘महानगर’लाई डिजिटल बिसौनी

    झण्डै ७ करोड लगानीमा नेपालगन्जका २१ स्थानमा डिजिटल बिसौनी र १० ट्राफिक पोष्ट
    रामु ओली/दैनिक नेपालगन्ज
    नेपालगन्ज यतिबेला सबै दृष्टिले महानगरउन्मुख छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा तिब्रता दिइँदैछ । हरेक दिन आफुलाई प्रबिधि मैत्री बनाइरहेको नेपालगन्जमा यसै बेला आधुनिक शहरको झल्को दिनेगरि आधुनिक प्रविधिको डिजिटल बस बिसौनी तथा डिजिटल ट्राफिक बुथ तयार हुन लागेको छ ।

     
    नेपालगन्ज उपमहानगरपालिकासँगको समझदारीमा निजी क्षेत्रले नेपालगन्जको ट्राफिक चोक देखि राँझा चोक सम्म सुर्खेतरोडका २१ स्थानमा डिजिटल बस बिसौनी र १० स्थानमा ट्राफिक बुथ निर्माण गर्न लागिएको हो । त्यसका लागि झण्र्डै ७ करोड लगानी गरिंदैछ । बिपि चोक, जिल्ला शिक्षा कार्यालय, धम्बोझी, भेरी अस्पताल, त्रिभुवन चोक, बागेश्वरी मन्दिर लगायतका विभिन्न स्थानमा निर्माण कार्य भइरहेकोे डिजिटल बस बिसौनी तथा चोकमा डिजिटल ट्राफिक बुथको काम दुई हप्ता भित्रै सकिने योजना छ ।

     
    नेपालगन्ज उपमहानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत समेत रहेका सुचना अधिकारी शरद कुमार पौडेलका अनुसार, काठमाडौं महानगरमा यसखालको जिम्मेवारी लिएको एपेक्स नेपाल प्रालिनै नेपालगन्जमा अवसर पाएको हो । काठमाडौं महानगरको सुन्दरता र ब्यवसायिक रुपले समेत सफल भएपछि पोखरा, चितवन, बिराटनगर, बुटवल, भैरहवा, अत्तरिया, धनगढीमा यस किसिमको डिजिटल बस बिसौनी तथा ट्राफिक बुथ बनाइसकिएको छ । बाँकेकै कोहलपुरमा समेत यसखालको काम भइसकेको एपेक्सले जनाएको छ ।

     
    नेपालगन्ज उपमहानगरपालिकाले एपेक्स नेपाल प्रालिसंग १० बर्षको लागि वार्षिक १५ लाख २६ हजार तीन सयमा रुपैयाँमा सम्झौता गरेको छ, भने निर्माण कार्यको सम्पुर्ण खर्च एपेक्स कै रहने र त्यो बापत एपेक्सले कानुनले निषेध नगरेका बिज्ञापन गर्न पाउनेछ । ‘नगरको सुन्दरता, यात्रुहरुको सहजता संगै उपमहानगरपालिकाले राजस्व समेत प्राप्त गर्ने छ,’ सुचना अधिकारी पौडेलले दैनिक नेपालगन्जसँग भने ।

     
    डिजिटल बस बिसौनीमा विभिन्न प्रचार सामाग्री सुन्दर किसिमले राखिनेछन् । यात्रुको लागी घामपानीमा ओत लाग्ने स्थानको समेत ब्यवस्था गरिंदैछ । ‘नगरलाई सुन्दर बनाउन र उर्जाको समेत बचतको लागि सोलारको ब्यवस्था गरेर रातीमा बत्ती बल्ने डिजिटल बस बिसौनी बन्दैछन्,’ एपेक्स नेपाल प्रालिका निर्देशक कृष्ण प्रसाद आचार्यले दैनिक नेपालगन्ज भने, ‘यो ब्यापारिक परियोजना भए पनि यसले शहरलाई सुन्दर बनाउँछ ।’ झण्डै ७ करोड अनुमानित लागत सुनाउँदै आचार्यले नेपालगन्जको सौन्दर्यमा यसले शोभा बढाउने बताए ।

     
    निर्देशक आचार्यले बिज्ञापनको दुनियाँमा नेपालगन्जले एक किसिमको फड्को नै मारेको प्रतिक्रिया दिंदै भने, ‘बिदेशमा यो किसिमका परियोजना निकै सफल छन् र यसले शहरको सुन्दरतालाई आधुनिक प्रबिधि र वातावरण मैत्री सँग जोड्छ ।’
    डिजिटल बस बिसौनी निर्माण कार्य हेर्दै गरेका स्थानीय तथा बटुवा समेत निकै खुसी छन् । रातीमा समेत सोलार मार्फत बत्ती बल्ने डिजिटल बस बिसौनी नेपालगन्जमा पनि देख्न पाउने कुराले नेपालगन्ज १० निवासी हेमन्त शाही दङ्ग छन् । डिजिटल बस बिसौनी निर्माण कार्य हेर्दै गरेका शाहीले अब नेपालगन्जले आफुलाई श्रृङ्गार गर्दै गएकोमा खुशी समेत व्यक्त गरे । ‘हेर्दा समेत आकर्षक देखिने डिजिटल बस बिसौनी काठमाडौंमा देखेको थिएँ अब नेपालगन्जमा पनि त्यस किसिमको डिजिटल बस बिसौनीले नेपालगन्जको सुन्दरता बढाउने भयो’ शाहीले भने ।

     
    त्यस्तै सेतु बिक चोकमा आइटी ब्यवसाय संचालन गरेका अफजल शेख पनि डिजिटल बस बिसौनी तथा ट्राफिक बुथ निर्माण हुँदै गरेकोमा खुसी व्यक्त गर्छन् । ‘पहिले पहिले बिदेशमा देख्न पाइन्थ्यो अब आफ्नै शहर समेत प्रबिधिसंग जोडिदै गयो यो एकदमै राम्रो कार्य हो’ शेखको भनाइ छ । कोहलपुरमा ६० लाखको लगानीमा ८ वटा यात्रु प्रतिक्षालय र २ वटा ट्राफिक पोष्ट निर्माण गरिएको एपेक्सले जनाएको छ ।

    प्रतिक्रिया

    प्रतिक्रिया