नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले स्तरीय होटलहरुको हब बन्दै गएको नेपालगन्ज पर्यटकीय दृष्टिले यहाँको गौरवको रुपमा स्थापित हुँदै गएको बताएका छन् ।
नेपालगन्जको पहिलो पाँच तारे होटल, होटल सोल्टी वेष्टेन्ड प्रिमियरको प्रथम बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख डा. राणाले स्तरीय होटलहरुको हब बन्दै गएको बताए । ‘सोल्टी आफैमा नेपालगन्जको गौरव हो’, नगर प्रमुख डा. राणाले पर्यटकीय दृष्टिले नेपालगन्जको भविष्य उज्यालो रहेको औंल्याउँदै भने, ‘ढुक्क हुनुस् नेपालगन्ज विजनेश हबका रुपमा डेभलप हुँदैछ ।’ उनले नेपालगन्जमा एक बर्षभित्र सात वटा क्यासिनो सञ्चालनमा आउने जानकारी दिंदै भने, ‘यो सहर क्यासिनो सिटीका रुपमा स्थापित हुनेछ ।’ डा. राणाले नेपालीहरुलाई प्रवेश नदिइने क्यासिनोका कारण नेपालगन्जमा पर्यटकहरुको ठूलो सम्भावना विकास हुने औंल्याए ।
डा. राणाले होटल तथा पर्यटन व्यवसायदेखि विजनेश हबसम्मका लागि स्थानीय सरकारले नीतिगत सहजीकरणसँगै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रथम बार्षिकोत्सवमा होटलको सेवा, सुविधा र व्यवस्थापनबारे जानकारी गराइएको थियो । ‘काठमाडांैमा सोल्टी स्थापनाको ५० बर्षपछि हामी नेपालगन्ज आएका हौं’, क्राउन प्लाजाका जेनेरल म्यानेजर उपल मजुमदारले बार्षिकोत्सवमा भने, ‘हामी देशका मुख्य सहरहरुमा स्तरीय सेवा सहित पुग्ने योजनामा छौं ।’
होटल सोल्टी वेष्टेन्ड प्रिमियरका जनरल म्यानेजर इन्द्र खड्काले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि अतिथि देवो भवःलाई आदर्श मानेर सेवा प्रवाह गरिरहेको बताए । कार्यक्रममा नेपालमै पहिलो पटक नेपालगन्जमा होटल सोल्टीले प्रवाह गर्न लागिरहेको अत्याधुनिक स्पा सेवा बारे सन्दिप कुमारले प्रस्तुतिकरण गरे ।
बार्षिकोत्सवको अवसर पारेर कार्यक्रममा निम्तालुहरुलाई लक्की ड्र मार्फत दर्जनौ सेवा सुविधाका कुपन निःशुल्क वितरण गरिएको सिताष्मा शाहले जानकारी दिइन् । नेपालकै पहिलो ग्रिन होटलको मान्यता प्राप्त सोल्टीले केही दिनमै स्तरीय स्पा सुरु गर्न लागेको त्यस अवसरमा जानकारी दिइएको थियो । सोल्टीले नेपालगन्जमै पहिलो लाइभ क्यासिनो पनि छिट्टै सञ्चालन आउने जनाएको छ ।