नेपालगन्जको बसुदेवपुर स्थित होटल सोल्टी वेष्टेन्ड प्रिमियरले पाँच तारे स्तरको प्रमाण प्राप्त गरेको छ । बाँकेमै पाँच तारे होटलको स्तर पाउने सोल्टी पहिलो हो । ‘सेवा, सुविधा पहिलेदेखि नै प्रवाह गरेपनि सरकारको सम्बन्धित निकायले प्रमाणित गरी फाइभ स्टारको सर्टिफिकेट दिएको छ’, उत्साहित हुँदै सोल्टी वेष्टेन्ड प्रिमियरका जनरल म्यानेजर इन्द्र खड्काले दैनिक नेपालगन्जसँग भने ।
नेपालकै पहिलो ग्रिन होटलको मान्यता पाएको सोल्टी अघिल्लो बर्ष जनवरी फष्टबाट औपचारिक सञ्चालनमा आएको हो । ‘गत मार्चबाट हाम्रा सबै ८१ वटा रुम सञ्चालनमा आए’, जिएम खड्काले भने, ‘फाइभ स्टारका सबैजसो सेवा सुविधा प्रदान गरिसकेका छौं ।’
१ सय २५ करोड बढी लगानीमा नेपालगन्ज–१९ बसुदेवपुरमा सञ्चालन गरिएको सोल्टी वेष्टेन्ड प्रिमियर हेर्दा सामान्य जस्तो लागेपनि ग्रिन होटलका लागि यसले ल्याएको प्रविधि पूर्णतया वातावरणमैत्री छ । त्यसैले होटलले ‘ग्रिन’ उपाधी पनि प्राप्त गर्न सफल भयो । ‘वातावरण जोगाउने उद्देश्यले निर्माण गरिएको यो होटल यूएस ग्रिन बिल्डिङ्ग काउन्सिलको सुपरिवेक्षणमा निर्माण भएको हो’, जिएम खड्काले नेपालगन्जको पहिलो फाइभ स्टार होटलका रुपमा सोल्टीले सेवा प्रवाह गरेकोमा खुशी व्यक्त गर्दै भने, ‘हामीले होटलमा एसीको सट्टा रेडियन्ट टेक्नोलोजी प्रयोग गरेर वातानुकुलित बनाएका छौं ।’
जिएम खड्काका अनुसार चुलोबाट निस्कने धुँवालाई पनि स्मोक स्क्रेबरको प्रयोगबाट कार्बन रहित बनाइन्छ । ‘त्यसपछि मात्र बाहिरी वातावरणमा पठाइने हुनाले त्यसले कुनै हानी नोक्सानी गर्दैन’, उनले भने, ‘होटलमा बार, रेष्टुराँ, ब्याङ्क्वेटसँगै सेवाग्राहीले स्पा, जीम, स्टीमबाथ, ज्याकुजी, स्वीमिङ पुलको सुविधा लिन सक्नेछन् ।’ क्यासिनो सञ्चालन तयारी पनि अन्तिममा पुगेको जिएम खड्काले जानकारी दिए ।