नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिटको काम सुरु

नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट निर्माण कार्य सुरु भएको छ । आसन्न आठौं राष्ट्रिय खेलकुदका लागि महत्वपूर्ण संरचना मानिएको भिआइपी प्याराफिटका लागि फाउण्डेशन निर्माण कार्य सुरु भएको हो ।

 
‘चीनबाट प्याराफिट तयार भएर हिडिसकेकाले रंगशालामा त्यसलाई जडान गर्ने फाउण्डेशन ढलान कार्य सुरु भयो’, खेलकुद विकास समिति नेपालगन्जका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘माघ महिनाभित्रै रंगशालाको महत्वपूर्ण पक्ष मानिएको भिआइपी प्याराफिट निर्माण कार्य सक्ने गरी काम अगाडि बढाएका छौं ।’
झण्डै १८ करोड लगानीमा निर्माण हुने नेपालगन्ज रंगशालाको भिआइपी प्याराफिट निर्माणको ठेक्का लिएको मलेसियन कम्पनीको जिम्मेवारीमा चीनमा निर्माण सकेर नेपालका लागि पठाइसकेको जानकारी प्राप्त भएको अध्यक्ष ओलीले बताए । ‘रंगशालाका लागि ट्रयाक एण्ड फिल्ड, त्यसअघि माटो पटान, ग्राभेल, जियो टेक्सटायल जाली र मैदानमा पाइप बिछाउने काम अन्तिम चरणमा पुगेको छ’, अध्यक्ष ओलीले रंगशाला निर्माण कार्य अन्तिममा पुगेको जानकारी दिंदै भने, ‘दर्शक प्याराफिट निर्माण कार्य सम्पन्न भैसकेको छ ।’

 
अत्याधुनिक पूर्वाधार सहितको नेपालगन्ज रंगशाला तयार भएपछि दर्शक क्षमता वृद्धिदेखि विभिन्न पूर्वाधारहरु थपिंदैछन् । आसन्न आठौंका लागि भव्य समारोह बीच उद्घाटन कार्यक्रम नेपालगन्ज रंगशालामा गर्ने योजना छ । राष्ट्रपति विद्या देवि भण्डारीले उद्घाटन गर्ने आठांै राष्ट्रिय खेलकुद आगामी फागुन अन्तिम साता आयोजना गर्ने लक्ष्य राखिएको छ । यसअघि मंसिर २१ गतेदेखि आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुद माघको अन्तिम साता प्रस्ताव गरिएको थियो । नेपालगन्ज रंगशालाका भिआइपी प्याराफिट लगायतका मुख्य पूर्वाधारहरु निर्माण गर्न समय लागेपछि प्रतियोगिता सर्दै फागुनको अन्तिम साता पुगेको हो ।

 
आठौंलाई मध्यनजर झण्डै १ सय करोड लगानीमा नेपालगन्ज, कोहलपुर, खजुरा लगायत प्रदेश ५ का बर्दिया, दाङ्ग, रुपन्देही, पाल्पा जिल्लाहरुमा भौतिक पूर्वाधार निर्माण भैरहेका छन् । ‘निर्माणाधिन पूर्वाधारहरु माघ मसान्तसम्म सक्ने गरी अहोरात्र काम भैरहेको छ’, अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया