दैलेख/अमर सुनार
सदरमुकाम दैलेख बजारको सनराइज स्कूलमा यूकेजीमा अध्ययनरत अध्ययनरत एक बालक मृत अवस्थामा फेला परेका छन् । मंगलवार दिउँसो विद्यालय हाताभित्रै हराएका ६ वर्षीय बालक हिम्मत शाहीको खोजी गर्ने क्रममा बुधवार विहान विद्यालयको पानी ट्याँकीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
दैलेखको ठाँटीकाँध गाउँपालिका–३ बिसला घर भई बच्चा पढाउन कै लागि दैलेख सदरमुकाममा डेरा बस्ने तपेन्द्र शाही र हेमा शाहीको पहिलो सन्तान विद्यालय हातामै मृत फेला परेको विषयलाई परिवारले विद्यालयको लापरवाही भएको भन्दै आक्रोस पोखेका छन् ।
हिक्मतको मृत्यू भएपछि तपेन्द्र र हेमाको २ वर्षको छोरी मात्र बाँकी छ । तपेन्द्र वैदेशिक रोजगारीमा जान थालेपछि ४ वर्षदेखि हेमाले बच्चा पढाउन सदरमुकाममा बस्तै आएकी हुन् । शौचालय नजिकै पानीको ट्याँकीमा डुबेर मृत्यूभएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । उनले घटनाको अनुसन्धान सुरु भइसकेको बताए ।
बालक शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ । बालक मृत भेटिएको खवरपछि आमा हेमा शाही बेहोस भएकी छिन् ।