सेन्ट्रल प्लाजाको सेवा बिस्तार गर्दै ठाकुरद्वारामा रिसोर्टका लागि लगानी गरेको हो ।
कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजा प्रालिले सेवा बिस्तार गर्दै बर्दिया ठाकुरद्वारामा सेन्ट्रल प्लाजा जंगल रिसोर्ट सञ्चालन गर्ने भएको छ । पश्चिम नेपालकै प्रसिद्ध पर्यटकीय क्षेत्र बर्दिया निकुञ्जको काखमा ठाकुरबाबा नगरपालिका–६ लठुवामा करिब २ विगाह क्षेत्रफल भित्र सेन्ट्रल प्लाजा जंगल रिसोर्ट सञ्चालन गर्ने भएको हो । शुक्रबार शुभ मुहुर्त पारी होटलका प्रबन्ध निर्देशक देवानन्द अर्याल, उनका पिता डोल प्रसाद अर्याल, आमा तुलसीदेवी अर्याल र धर्मपत्नी कुसुम शर्मा अर्यालले संयुक्त रुपमा निर्माण कार्यको शुभारम्भ गरेका छन् ।
‘१५ महिना भित्र भौतिक पूर्वाधार तयार गरेर सेवा सुचारु गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ’, कोहलपुरमा जिल्लाकै सुविधा सम्पन्न होटल सेन्ट्रल प्लाजा सञ्चालनमा ल्याएको ठिक एक बर्षपछि ठाकुरद्वारामा सेवा बिस्तारका लागि २६ करोड लागत अनुमानमा जंगल रिसोर्ट सुरु गरेका अर्यालले दैनिक नेपालगन्जसँग भने । प्रबन्ध निर्देशक अर्यालका अनुसार, पूर्णतया वातानुकुलीत र वातावरणमैत्री सेन्ट्रल प्लाजा जंगल रिसोर्टलाई ‘ग्रीन होटल’का रुपमा तयार गरिनेछ ।
दुई विगाह क्षेत्रफलमा ३६ कोठा रहने रिसोर्टमा रेष्टुरेन्ट, बारदेखि स्वीमिङपुलसम्मका पूर्वाधारहरु रहने जानकारी दिंदै प्रबन्ध निर्देशक अर्यालले भने, ‘सिमेन्ट र रड बाहेकका सम्पूर्ण निर्माण सामाग्रीहरु स्थानीय मौलिकताका हुनेछन् ।’ खासगरी थारु संस्कृति र नेपाली मौलिक पहिचान दिने संरचना प्यागोडाशैलीको हुने अर्यालको भनाइ छ ।
सरकारले सन् २०२० लाई पर्यटन बर्षका रुपमा तयारी गरेपछि निजी क्षेत्रबाट धमाधम लगानी भैरहेको छ । ‘निराशाजनक अवस्था रहेपनि भविष्यप्रतिको आशा अझै हराएको छैन’, यति छिटै अर्को ठूलो लगानी किन ? दैनिक नेपालगन्जको प्रश्नमा युवा पर्यटन व्यवसायी अर्यालले उत्साहित हुँदै भने । उनले पर्यटन पूर्वाधारको निर्माण भएमात्र पर्यटक आउने वातावरण सबल हुने धारणा राख्दै निजी क्षेत्रबाट गरिएका प्रयासलाई सरकारलाई प्रोत्साहन गर्दै जानुपर्ने बताए ।
बाँकेमा सेन्ट्रल प्लाजा सहित आधा दर्जन तारे होटल सञ्चालनमा छन् । ५५ करोड बढी लगानीको सेन्ट्रल प्लाजा सँगै अर्यालले ठाकुरद्वारामा २६ करोड लगानी नयाँ पूर्वाधार निर्माण थालेका हुन् ।