वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छली गरी हुने कारोबार नियन्त्रणका लागि कारवाही तिव्र पारेको छ । विभिन्न बाटो हुँदै भन्सार छलेर भित्रिने सामान नियन्त्रण गर्न वडा प्रहरीले कारवाही अगाडि बढाएको हो ।
त्यसक्रममा वडा प्रहरी कार्यालयले ७ लाख मूल्य बराबरको अवैध सामाग्री नियन्त्रणमा लिएर भन्सार दाखिला गरेको छ । वडा प्रहरीले भन्सार छलेर भारत लग्न जमुनाह क्षेत्रमा लुकाइराखेको १ हजार २ सय ५ किलो काली मरिच बिहीबार राती नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुख, नारायण डाँगीले जानकारी दिए । उक्त मरिचको मूल्य झण्डै ५ लाख रुपैया अनुमान गरिएको छ । उक्त स्थानमा लेडिज फाउण्डेसन क्रिम ६ पेटी (१ हजार ६ सय ८० थान) समेत बरामद गरिएको छ । उक्त कारवाही वडा र जमुनाह प्रहरीले संयुक्त रुपमा गरेका थिए ।
वडा प्रहरी कार्यालयबाट खटिएको नियमित गस्ती टोलीले बजार क्षेत्रबाट समेत भारतबाट भन्सार नतिरि ल्याएको सामान पनि बिहीबार नियन्त्रणमा लिएको छ । वडाले नेपालगन्ज–१० बाट ७० हजार बराबरको सामाग्री नियन्त्रणमा लिएको हो । जसमा पर्दा ७० पिस, काँचो कपडा ५२८ मिटर र ९२ पिस लेडिज सुट छन् ।