बाँके प्रहरीले पर्वलाई लक्षित गरी आवागमन गर्ने नागरिकहरुको सहयोगका लागि ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ ।
नेपाल–भारतको सीमानाको जमुनाहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै ‘नागरिक सहायता कक्ष’ स्थापना गरेका छन् । बिहीबार दुवै देशका सीमावर्ती सुरक्षा अधिकारीहरु बीच बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नागरिक सहायता कक्षको शुभारम्भ गरे ।
‘यसले नागरिकहरुलाई सहजीकरण गर्नेछ’, प्रजिअ भुजेलले प्रहरीले गरेको कार्यको सरहना गर्दै भने । बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले पर्वको बेला हुने विभिन्न खाले समस्यालाई नागरिक सहायता कक्षले प्रत्यक्ष सहयोग गर्ने बताए ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सीमा सुरक्षा बलका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाह, भैरवगण इमामनगर ब्यारेक राँझाका प्रमुख सेनानी सुर्य बहादुर थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख योगेन्द्र केसीसँगै सीमावर्ती भारतीय थानाका प्रहरी निरीक्षक आलक राव लगायत सहभागी थिए ।
त्यसक्रममा भारतीय सुरक्षा अधिकारीसँग नेपालका सुरक्षा अधिकारीहरुले भारततर्फ नेपालीलाई कुनै खालको समस्या सिर्जना नगर्न र समस्या केही भैपरिआए तत्काल जानकारी गराउन आग्रह गरेका थिए । प्रहरीले त्यसखाले नागरिक सहायता कक्ष नेपालगन्ज बसपार्क लगायतका विभिन्न ठाउँमा राख्ने जनाएको छ । खासगरी दशैं तिहारका लागि घर फर्कने नेपालीहरुलाई सीमावर्ती क्षेत्रमा ठगी, जबर्जस्ती, दुव्र्यवहारजन्य घटनाहरु दोहोरिने गरेपछि प्रहरीले उनीहरुको सहजीकरणका लागि सहायता कक्ष स्थापना गरेको हो ।
बाघको छाला सहित दुई पक्राउ
बाघको छाला सहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बैजनाथ–१ गाभर भ्यालीमा प्रदेश प्रहरी ब्यूरो र बाँके प्रहरीको संयुक्त टोलीले दुई जनालाई बाघको छाला र दाह्रा सहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रण बहादुर विष्टका अनुसार, दुई थान बाघको छाला र ६ वटा दाह्रा (दाँत) सहित पक्राउ परेका बासगढी नगरपालिका–१ का कृष्ण वादी र चन्दन नेपालीलाई पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक अनुसन्धान पछि जिल्ला वन कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।