सार्वजनिक सेवा प्रवाहबारे फोटो प्रदर्शनी


नेपालगन्जको ब्रिटिस इंगलिस बोर्डिंग स्कुलका छात्राहरु स्नेहा घिमिरे र सुभेक्षा चन्दले किताबमा शिक्षा, स्वास्थ्यसँग सम्बन्धित विषयहरु त पढ्ने गरेकै थिए । तर किताबमा पढेका सबै कुराहरु प्रत्यक्ष रुपमा भने देख्न पाएका थिएनन् ।
मंगलबार विद्यालयका प्रधानाध्यापक हेमन्तराज काफ्लेले फोटो प्रदर्शनीको जानकारी गराएपछि उनिहरुपनि जाने इच्छा देखाए । ‘हामीले प्रदर्शनीमा राखिएको फोटोहरु हेरेर स्वास्थ्य, शिक्षासँग सम्बन्धित कुराहरु बुझ्न पायौं ।’ मल्लले भनिन् ।
यस्तै होप इन्टरनेशनलकी कक्षा ९ की छात्रा सजल गैरेले प्रदर्शनमा राखिएको फोटोहरुले विभिन्न जिल्लामा भएका समस्या तथा सवालहरुको बारेमा जानकारी पाएको बताइन ।
पारस्परिक जवाफदेहिता परियोजनाले मंगलबार नेपालगन्जमा गरेको फोटो प्रदर्शनी अवलोकन गरेपछि आफुहरु अझ यो विषयमा बढि जानकारी भएको उनिहरुले बताए ।
राज्यले प्रदान गर्ने सार्वजनिक सेवाहरुको अवस्था झल्काउनका लागि आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका ३४ वटा जिल्लाहरुको स्वास्थ्य, शिक्षा, कृषि, विपद्सँग सम्बन्धित फोटोहरु समावेश गरिएको थियो ।
फोटो प्रदर्शनीको आरम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तोयानारायण सुवेदीले फोटोको माध्यमबाट सार्वजनिक सेवा प्रवाहको बारेमा स्थानीय सरकारलाई समेत सजग बनाएको बताउनुभयो । “फोटो आफै बोल्छ भने जस्तै प्रत्येक फोटोबाट हामीले हेर्ने बित्तिकै एउटा सन्देश पाउन सक्छौं” कार्यकारी अधिकृत सुवेदीले भन्नुभयो ।

परियोजनाका उपप्रमुख सजना महर्जनले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि फोटोको माध्यमबाट वकालत गर्न प्रदर्शनको आयोजना गरिएको बताउनुभयो ।
यसैगरी इक्वेल एक्सेसका मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरले राज्यले जनतालाई दिनुपर्ने सेवाप्रति जिम्मेवार बनाउन फोटो प्रदर्शनले मद्दत गर्ने बताउनुभयो ।
नेपालका ३४ वटा जिल्लाका सन्चालित पारस्परिक जवाफदेहिता परियोजनाले सामुदायिक संघसंस्था तथा मिडियाको क्षमता अभिवृद्धिका माध्यमबाट सार्वजनिक सेवा प्रवाहको बारेमा वकालत गरिरहेको परियोजनाका साझेदार संस्था सूचना तथा मानवअधिकार केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले जानकारी दिनुभयो ।
युएसएडको सहयोग तथा एफएचआईको साझेदारीमा सन्चालन भएको परियोजना अन्र्तगत आयोजना गरिएको प्रर्दशनीको इक्वल एक्सेस, हरप्लेस र सूचना तथा मानव अधिकार केन्द्रले संयोजन गरेका थिए ।
प्रदर्शनीमा ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुले खिचेका ४९ वटा फोटो प्रदर्शनमा राखिएको थियो । जसलाई बाँके जिल्लाका विभिन्न सरकारी तथा गैरसकारी निकायका प्रतिनिधी, संचारकर्मी, शिक्षक तथा विद्यार्थीहरु गरी ३ सय बढिले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया