‘सेक्स र्याकेट’ खोज्दै प्रहरी नौ जोडी फन्दामा

विभिन्न होटलहरुमा ‘सेक्स र्याकेट’ सञ्चालन भएको भन्ने चर्चा चलेपछि प्रहरीले कोहलपुरका दर्जनौं होटलमा एकसाथ शनिबार राती एकसाथ छापा मारेको छ । कोहलपुर क्षेत्रमा संगठित अवैध यौन कारोबार भैरहेको चर्चा चलेपछि प्रहरीले एकसाथ विभिन्न ठाउँमा छापा मारेको हो ।

 

इलाका प्रहरी कार्यालय कोहलपुरले बसपार्क, चप्परगौडी, न्यूरोड लगायतका विभिन्न ठाउँमा एकसाथ छापा मारेको हो । त्यसक्रममा नौ जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ‘व्यवसायी हुन् वा प्रेमी प्रेमिका हुन् भन्नेबारे अनुसन्धान भैरहेको छ’, अबेर राती इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज, डिएसपी रमेश बहादुर सिंहले दैनिक नेपालगन्जसँग भने, ‘यौन व्यवसायी रहेछन् भने व्यवसाय सञ्चालन गर्नेलाई र होटल समेतलाई कारवाहीको दायरामा ल्याइनेछ ।’

 

केहीदिन यता अधिकारकर्मी महिलाहरुले कोहलपुरका कतिपय होटल व्यवसायीहरुले यौन व्यवसायलाई मलजल गरिरहेको भन्दै प्रहरीलाई ध्यानाकर्षण गराएपछि शनिबार एकसाथ ४० बढी प्रहरी परिचालन गरी होटलहरुमा छापा मारिएको डिएसपी सिंहले जानकारी दिए । ‘चार छुट्टाछुट्टै टोली बनाएर एकसाथ ३० बढी होटलमा छापा मारिएको हो’, शंकास्पद ९ पुरुष र ९ महिलालाई विभिन्न आपत्तिजनक अवस्थाबाट नियन्त्रणमा लिइएको जानकारी दिंदै प्रहरीले भनेको छ, ‘उनीहरु मध्ये कतिपय सुरक्षाकर्मी पनि पाइएका छन् ।’ ‘पक्राउ परेकाहरु मध्ये सबैको अवस्थाबारे अनुसन्धान गरेर मात्र थप केही भन्न सकिन्छ’, डिएसपी सिंहले भने । पक्राउ परेका मध्ये कतिपय क्याम्पसका विद्यार्थी पनि छन् ।

 

प्रहरीका अनुसार, पक्राउ परेकाहरुमा आफुहरु प्रेमी–प्रेमिका भएको दर्शाउनेहरु पनि छन् । ‘सम्बन्धको वैधता नभएकालाई अवैध सम्बन्ध राख्ने ठाउँ उपलब्ध गराउनेलाई पनि पछिल्लो संहिताले दोषीमानेर कारवाहीको दायरामा ल्याउन भनेको छ’, डिएसपी सिंहले अवैध यौन कार्यलाई मलजल गर्ने होटलहरुलाई पनि कारवाहीको दायरामा ल्याइने जानकारी दिंदै भने । कोहलपुर प्रहरीले कुनै पनि किसिमका अपराधजन्य क्रियाकलाप नियन्त्रणका लागि प्रहरी एक्सनमा उत्रिने बतएको छ । ‘अवैध यौनजन्य क्रियाकलापलाई निरुत्साहित गर्न निरन्तर कारवाही प्रक्रिया अगाडि बढाइएको छ’, डिएसपी सिंहले विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा हुने यौनजन्य क्रियाकलापलाई नियन्त्रण गरिने जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया