निर्मलका हत्यारलाई कारवाही माग्दै आज नेपालगन्ज र कोहलपुरमा प्रदर्शन

कञ्चनपुरकी किशोरी निर्मला पन्तको गम्भीर यौन शोषण पछि गरिएको हत्यामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै देशभर दबाब प्रदर्शन गरिने भएको छ । आज शनिबार नेपालगन्ज लगायत देशका विभिन्न ठाउँमा प्रदर्शनको तयारी भएको हो ।

 
त्यसक्रममा नेपालगन्जमा पनि सामूहिक दबाब प्रदर्शनको तयारी भैरहेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए । ‘यौन शोषण पश्चात निर्मम हत्या गरिएको डेढ महिना व्यतित भइसक्दा समेत अपराधी कानुनको दायरामा आउन नसकेको र देशैभर घटेका यौन हिँसाका घटनाहरु बिरुद्ध नेपालगन्जमा प्रदर्शन गरिने भएको हो’, निर्देशक शाहले भने ।

 
शुक्रबार नेपालगन्जमा बसेको नागरिक समाजका प्रतिनिधिहरुको भेलाले शनिवार नेपालगन्जमा प्रदर्शन गर्ने निर्णय गरेको हो । ‘स्थानीय बिपी चौकमा निर्मलाहरुको निम्ति न्यायका लागि प्रदर्शन गर्ने निर्णय गरिएको छ’, निर्देशक शाहले भने, ‘प्रदर्शनमा प्लेकार्ड सहित आँखामा पट्टि बाँधि बिरोध प्रदर्शन गरिनेछ ।’बैठकमा गैसस महासँघ बाँकेका सचिव नमस्कार शाह, बाँके युनेस्को क्लबका आशिष बर्मा, पत्रकार कृष्ण अधिकारी लगायतले कार्यक्रमका बारेमा बोलेका थिए ।

 
बैठक पश्चात सामुहिक बिज्ञप्ती जारी गर्दै बाँके स्थित नागरिक समाजका प्रतिनिधिहरुले निर्मला पन्त लगायतका यौन हिंसामा परेका घटनाहरुमा यथाशिघ्र दोषी पत्ता लगाई हदैसम्मको सजाय दिलाउन, पीडितलाई न्यायको अनुभूति दिलाउन र प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न गराउन नेपाल सरकार लगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

 
विज्ञप्ती मार्फत अगुवाहरुले यौन हिंसामा परेका महिला र पीडित परिवारलाई न्याय नदिलाए सम्म र वास्तविक पीडकलाई कानुनको दायरामा नल्याएसम्म सशक्त रुपमा अगाडि बढ्न उद्घोष गरेका छन् । विज्ञप्तिको अन्तमा शनिवार आयोजना गरिने कार्यक्रममा सहभागी हुन सबैलाई अपिल गरिएको छ ।

 
विज्ञप्ति जारी गर्नेहरुमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, गैसस महासंघ बाँकेका सचिव नमस्कार शाह, बासका अध्यक्ष मन भण्डारी, बाल अधिकारकर्मी साहिल अन्सारी, एसओएसका लक्ष्मण कार्की, नेपालगन्ज साइकिलिङ्ग क्लबका गगन थापा, इन्सेकका बिनोद पाण्डे, महिला जागृति शेलकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, फातिमा फाउण्डेसनकी शबनम परविन, सामाजिक सद्भाव महिला समितिकी सचिव ऋचा लुईंटेल, बाँके युनेस्को क्लबका आशिष बर्मा, सिविन नेपालका सिद्धराज पनेरु, उच्च अदालत बारका राकेश कुमार सोनी, अधिवक्ता लोक बहादुर शाह लगायत रहेका छन् ।

 
त्यस्तै बाँकेको कोहलपुरमा पनि निर्मलाका हत्यारालाई कारवाही माग गर्दै प्रदर्शन गरिने भएको छ । विहान ८ बजे प्रदर्शन राखिएको अधिकारकर्मी नेतृ बसन्ती अधिकारीले जानकारी दिएकी छन् । हत्या, बलात्कार जस्ता महिलामाथिका जघन्य अपराधविरुद्ध एक्यबद्धताका लागि प्रदर्शन राखिएको उनले बताइन् ।

प्रतिक्रिया

प्रतिक्रिया