क्वारेन्टाइन चेकजाँच विना भित्रिएका ३ हजार ७ सय कुखुराको चल्ला बरामद
भारतीय क्षेत्रबाट अवैध रुपमा पैठारी भइरहेका प्रतिबन्धित कुखुराबारे पटक–पटक कारवाही हुँदै आएपनि शुक्रवार ३ हजार ७ सय चल्ला प्रहरीले बरामद गरी कारवाही अघि बढाएको छ । प्रहरी चौकी तेलियनपुर र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्ट टोलीले क्वारेन्टाइन नगरेर भित्रिएको चल्ला बरामद गरी कारवाही थालेको जनाएको छ । ग्रामीण नाका भएर भित्रिन लागेको चल्ला प्रहरीले बरामद गरी पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा बुझाएको छ ।
स्वाइन फ्लु (एचवन एनवन) र बर्डफ्लुको संक्रमणको आशंका आधारमा सरकारले भारतीय क्षेत्रबाट पंक्षी र पंक्षीजन्य सामाग्री नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । भारतीय क्षेत्रमा ९० रुपैयाँ भारु प्रतिकेजीको कुखुरा नेपालगन्जमा ४ सय रुपैयाँ प्रति केजी बिक्री हुने गरेको छ । प्रतिकुखुरा करिब २५० रुपैयाँ नाफामा भइरहेको कारोबारमा तस्कर, ब्यवसायी, क्वारेन्टाइन कर्मचारी र प्रहरीको संलग्नताको दावी गरिएपछि बढेको कारवाही कुखुरा तस्कर पक्राउ हुँदै आएका छन् ।
५ नं. प्रदेश प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक देवि प्रसाद पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले गत साता नेपाल विद्युत प्राधिकरण नेपालगन्ज क्षेत्रबाट ३२० वटा कुखुरा बरामद गरेर सिमा क्षेत्रमा भइरहेको सेटिङको पर्दाफास गरेको थियो ।
साइकलमा ल्याएको ३२० पिस व्रोइलर कुखुरा बरामद गरि ९ वटा साइकल र ५ जना तस्करलाई कारवाही अघि बढाइएको प्रहरी निरीक्षक पौडेल जानकारी दिएका थिए । पक्राउ परेका तस्कर र बरामद भएको कुखुरा आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन नेपालगन्जमा बुझाइएको थियो ।
पशु क्वारेन्टाइन कार्यालयले जनही १० हजार रुपैयाँका दरले ५० हजार रुपैयाँ जरिवाना असूल गरेको त्यस घटनापछि पनि कुखुरा तस्करी रोकिएन । एक साता अघि भएको कारवाही पछि तस्करले फरक बाटो भएर कुखुरा तस्करी थालेको खुलेको छ ।
बाँकेको साईंगाउँ क्षेत्रबाट अधिकतम कुखुरा तस्करी हुने गरेको सूचनाको आधारमा कारवाही गर्दा चल्ला बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिए ।
‘कुखुरा ग्रामीण नाका भएर पनि भित्रिने गरेकोले सो सम्बन्धी अनुसन्धान र चेकजाँच अघि बढाइएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै इन्चार्ज विष्टले भने, ‘नेपाली क्षेत्रमा मंहगो दरमा बिक्री हुने भएकोले तस्करले पटक पटक प्रयास गर्दै आएका छन् ।’