मानसिक पीडामा बेपत्ताका परिवार

द्वन्द्वरत पक्षले ६० दिन भित्र बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्छौ भनेको सन्दर्भमा अहिलेसम्म पनि जिउँदो मर्दोको अवस्था यकिन हुन नसकिरहेको सन्दर्भमा सत्य, न्याय र परिपुण प्राप्त गर्ने पीडितहरुको अधिकार भए पनि अहिलेसम्म बेपत्ताहरुको अवस्था सार्वजनिक नहुनु दुःखद् कुरा भएको मानव अधिकार आयोगको नेपालगन्ज प्रमुख चन्द्रकान्त चापागाईले बताए ।

 
नेपालमा बिधिवत रुपमा द्वन्द्व अन्त्य भएको १२ बर्ष ब्यतित भैसक्दा पनि बेपत्ता पारिएकाहरुको सास र लासको अझैसम्म पत्ता लाग्न नसकी पीडितहरु रातदिनको मानसिक यातना बाध्य भैरहेकोले बेपत्ताहरुले बताउने गरेका छन् ।
नेपालमा चलेको दशक लामो सशस्त्र द्वन्द्वको क्रममा द्वन्द्वरत पक्षबाट बिभिन्न बहानामा निकै ठुलो मात्रामा व्यक्ति वेपत्ता पार्ने कार्य भए । सशस्त्र द्वन्द्वका क्रममा नेपाल भरिबाट १३४७ जना बेपत्ता भएको तथ्याङ्क आईसिआरसिले सार्वजनिक गरेको छ । त्यस मध्ये मध्य र सुदुरपश्चिमा क्षेत्रमा मात्रै राज्य र विद्रोही पक्षबाट गरि जम्मा ७२१ जना व्यक्तिहरु वेपत्ता भएको आईसिआरसीले जनाएको छ ।

 
बाँके जिल्लामा बेपत्ता भएको भनी स्थानीय शान्ति समिति मार्फत नेपाल सरकार शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तरिम राहतका लागि दिएका १२१ जना पीडित परिवारले निवेदन दिएका थिए । बाँकेबाट बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोगमा १२६ जनाले उजुरी दिएका छन् भने नेपाल अधिराज्यबाट २८ सय बढी उजुरी परेको सन्दर्भलाई हेर्दा हाल यति नै बेपत्ता पारिएका छन् भनेर एकिन गर्न सकिने अवस्था छैन ।

 
प्रत्येक बर्षको ३० अगष्ट दिन मनाइने ब्यक्ति बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा बिभिन्न कार्यक्रमका साथ मनाइँदैछ । त्यसक्रममा बाँकेमा पनि विभिन्न कार्यक्रमहरु तय गरिएका छन् । बाँकेमा बेपत्ताहरुको सम्झनामा रक्तदान र अन्तरक्रिया गरिएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

 
बेपत्ता पार्ने कार्यको अपराधिकरण र बेपत्ता नागरिकको सार्वजनिकरण गर भन्ने मुल नाराका साथ बेपत्ता बिरुद्धको दिवस मनाइन लागेको हो । यस पटक द्वन्द्व पीडित साझा चौतारी लगायतका पीडितका संस्थाले कानूनमा परिमार्जन, आत्मसम्मान सहितको परिपूरणको अधिकार र बेपत्ता आयोगको पुनरगठनको सुनिश्चित गर भन्ने नारालाई अगाडी सारेको न्यायको लागि द्वन्द्व पीडित समाज बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीले जानकारी दिइन् ।

 
बेपत्ता बनाइएका ब्यक्तिहरुलाई सम्झना गर्ने र पीडितहरुको न्यायको पक्षमा वकालत गर्ने उद्देश्यका साथ यो दिवस मनाउँदै गर्दा नेपालका बेपत्ता पीडितहरुको अवस्था भने दयनीय र कहाली लाग्दो रहेकोे पाइन्छ । बर्षौसम्म पनि मरे वा जिउँदै छन् ? भन्ने कुराको सत्य तथ्य थाह नपाउँदा सयौ बेपत्ता परिवारहरु रातदिनको मानसिक पीडा भोग्न बाध्य भैरहेका छन् ।

 

 

मेटिएन समाजको नकारात्मक हेराई

द्वन्द्व सकिएको १२ बर्ष ब्यतित भैसक्दा पनि द्वन्द्व पीडित र युद्धरत पक्षहरुलाई हेर्ने नकारात्मक दृष्टिकोण मेटिन नसकेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । महिला कानून र बिकास मञ्चले बैजानाथ गाउँपालिकाको बनियाभारमा आयोजित संक्रमणकालिन न्यायमा समुदायको भुमिका बिषयक सम्बाद कार्यक्रममा बोल्दै द्वन्द्व प्रभावितहरुले आफुहरु प्रति हेर्ने नकारात्मक टृष्टिकोण नमेटिएको बताएका हुन । युद्ध पीडित एवं दश बर्षे द्वन्द्वमा संलग्न कबिता बिक, मिरा कार्की, बसन्ता रोकाय, पार्वती बुढा लगायतले जनताको मुत्ति र समाज परिवर्तनको लागी आफुहरु युद्ध लडेकोमा गाउँका केही ब्यक्तिहरुमा आस्थाका आधारमा बिभेद गर्ने, सरकारी सेवा सुबिधा र बिभिन्न अवसरबाट बन्चित गर्ने, झुठ्ठा लाच्छना लगाउने गरेको दुखेसो पोखेका थिए ।

 
आफुहरु गाउँ समाजमा सद्भावका साथ मिलेर बस्न चाहेको भन्दै द्वन्द्व प्रभावितहरुले समाजले हेर्ने नकारात्मक सोचमा परिवर्तन हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा केही सहभागीहरुले भने अहिले गाउँमा कसैलाई आस्थाको आधारमा भेदभाव नगरिएको, समाजमा मिलेर बस्ने गरिएको र सरसहयोगको भावना रहेको बताएका थिए ।

 
कार्यपालिका सदस्य संगिता सुनारले आफुले यस अघि द्धन्द्ध पीडित को हो भन्ने थाहा नभएको भन्दै सम्बाद कार्यक्रमबाट द्वन्द्व, यसले पार्ने प्रभाव र द्वन्द्व न्यूनिकरणका लागि सम्बादको महत्वको बारेमा बुझेकाले आगामी दिनमा द्वन्द्व ब्यवस्थापन गर्न मद्दत पुग्ने बताइन् ।

 
यसै गरि न्यायपालिका सदस्य मनमाया चुनाराले गाउँपालिकाले प्रदान गर्ने सेवा सुबिधामा बिचार र आस्थाका आधारमा कसै उपर भेदभाव नगरिने प्रतिवद्धता जनाउँदै गाउँ समाजमा देखिने द्वन्द्वलाई सम्बादका माध्यमबाट समाधानको पहल गरिने बताइन् ।

 
महिला कानून र बिकाश मञ्चका कार्यक्रम संयोजक बिनु लामा र अधिवक्ता बसन्त गौतमले गाउँ समाजमा देखिने द्वन्द्वका बिषयलाई टोल छिमेकमै बसेर सम्बादको माध्यामबाट द्वन्द्व ब्यवस्थापन गर्न सकिने बताए । द्वन्द्वलाई समयमै ब्यवस्थापन नगरे यसले हिंसात्मक रुप लिन सक्ने भएकाले सम्बादको माध्यामबाट द्वन्द्व र बिवाद समाधान गर्न उपयुक्त हुने बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया