२१ हजार रुपियामा स्वरोजगार बनेकी काली अहिले वार्षिक करोडौंको टर्न ओभर मेन्टेन गर्छिन् । ८० लाख ऋण छ, त्यो भन्दा बढी काम गर्ने उत्साह छ, जुनून छ, जज्बा छ । काली भन्छिन्, ‘हिम्मत र अवसर भएमा महिलाले गर्न नसक्ने केहि काम छैन ।’
दैनिक नेपालगन्ज/रुपा गहतराज
कुनै समय यस्तो पनि थियो छोरीचेली घरबाट निस्किए भने कुरा काट्ने मात्रै होइन, नकारात्मक दृष्टिकोणले समेत हेरिन्थ्यो । यो कुरा थाहा पाएर पनि ती सबैको बेवास्ता गरेर केही गर्ने अठोटका साथ घरबाट निस्किइन्, नेपालगन्जकी काली मिंया । यसरी भन्न सकिन्छ, चरित्र माथिको प्रहार सहँदै उनले एउटा बिद्रोह नै गरिन् ।
कली सम्झिन्छिन्, मुस्लिम समुदायकी ५० बर्षीया काली मिंया घरबाट निस्कँदा छिमेकीले मात्रै होइन, घरपरिवारकै सदस्यले पनि काट्नसम्म कुरा काटे । सबैले एउटै शब्द उच्चारण गर्थे, ‘मुखबाट खाने पानी नाकबाट खाई , ।’ अहिले तिनै छिमेकी र परिवारका सदस्यहरु भन्न थालेका छन् ,‘मेरो छोरा छोरीलाई सहि बाटोमा लगाइदेउ न काली ! ’
सामान्य शिक्षा आर्जन गरेकी अर्घाखाँची अमिलिडाँडाकी काली मिंयालाईलाई घर बाहिरको कुरा केही थाहा थिएन । घरभित्रकै संसारमा हराएकी काली एक हिसाबले परनिर्भर थिइन् । राम्रोसँग बोल्न समेत नजान्ने उनले आफैं उद्यमी बनेर अरुलाई समेत सिप सिकाई रोजगार देलिन् र यत्तिको चर्चामा आउलिन् भन्ने कुरा त उनी आफैंले पनि सोचेकै थिइनन् ।
गाउँमा जन्मिएकी कालीले धेरै पढ्न पाइनन् । समाजमा चलेको चलनअनुसार उनको पनि चाँडै विवाह भयो । परिपक्व उमेर नहुँदै अर्काको घर जानु पर्यो, घरव्यवहार सम्हाल्नु पर्यो, बच्चा जन्मियो, बच्चाको स्याहारसुसार गर्नुपर्यो, यी सब कुरा उनको जीवनमा चाँडै भयो । घाँसदाउरामैं उनको जीवन चलिरहेको थियो ।
बिबाह पछि काठमाडौमा जाँदा, एक दिन उनले साथीहरुको सल्लाहमा सिलाइ कटाइको तालिम हुँदैछ भन्ने खबर पाइन् । उक्त तालिममा कालीले पनि सहभागिता जनाइन् । त्यो तालिम कालीको लागि जीवनको कोसेढुंगा बन्यो । तालिमको समयमा कालीले गारमेन्टको महत्व र बजार बुझिन् । हातमा सिप पनि बस्यो । अब भने उनलाई आफूले सिकेको सिपलाई त्यसै खेर फाल्न मन लागेन । केही गरेरै छाड्ने अठोट गरिन् ।
सुरुमा उनले पहिलोपल्ट नेपालगन्जमा आएर सात बर्ष अघि कस्मेटिकको होलसेल पसल गरेकी कालीलाई त्यो होलसेलको ब्यबसायले जीवन नधान्ने चेष्टा आयो, अनि नयाँ काम गर्ने सोंच पलायो । उनको हातमा सिप थियो । मनमा आँट अनि उत्साह पनि थियो । त्यतिबेला उनीसँग भएका यत्ति तीन कुरा हुन् ।
२०६८ सालमा ८ हजारको सिलाई मेसिन किनेर १३ हजारको पेटिकोट बनाउने कपडा किनेर गारमेन्ट उद्योग संचालन सुरु गरिन् । ५ रुपैयाको पिसमा एउटा पेटिकोट सिलाइन् । दिनमा पाच रुपैयाको दरले ५ सय वटा पेटिकोट सिलाएका दिन सम्झँदै कालीले दैनिक नेपालगन्ज सँगको भेटमा भनिन्, ‘एकै दिनमा २५ सय हँुदै मासिक ५० हजार बन्दै गयो ।’
‘अब यो बिग्री, आफू त बिग्री बिग्री घरपरिवारलाई को इज्जत फालि भन्दै नातेदार परिवारले तथानाम कुरा काटे,’ कालीले सम्झिइन्, ‘तै पनि म बिचलित भइन, निरन्तर काममा लागिरहें ।’ काम गरेर खान उनलाई लाज लागेन । नेपालगन्जमा उनले एउटा घर भाडामा लिइन् । त्यही कोठमा कपडा सिलाउने मेसीन राखिन् । त्यस पछि सुरु भयो उनको जीवनमा महत्वपूर्ण संघर्ष र सफलताको यात्रा ।
काम गर्दै जाँदा उनको गारमेन्टको कपडाबारे नेपालगन्जमा अरुलाई पनि जानकारी भयो । विस्तारै पसलवालाहरु कपडा किन्न उनको कोठामै पुग्न थाले । दिनदिनै माग बढ्न थाल्यो । यसले कालीलाई उत्साहित बनायो । पेसामा निरन्तर लाग्ने उत्प्रेरणा मिल्यो ।
काली मिया भन्छिन् , ‘गारमेन्टबाट नै परिवार र छोराछोरीको जीवन धानेकी छु ।’ हुनपनि उनले अहिले कपडा सिलाउने मेसिन पनि थप्दै गएकी छन् । उनको गारमेन्ट उद्योगमा अहिले १५ वटा मेसिन छन् । ओभर लक मेसीन किन्नुका साथै, सुइटर बनाउने पावर फलाइ मेसीन किनिन् । कालीले सुरुको गरेको कपडा सिलाउने काम सानो कोठाबाट अहिले ठूलो उद्योगको रुपमा परिणत भएको छ । उनले उद्योगको नाम लुम्बिनी गारमेन्ट कपडा उद्योग राखेकी छन् ।
सुरु गरेको तीन बर्षमै सात करोडको कारोबार भयो । साढे दश लाखको लगानीमा सुरु भएको गारमेन्ट उद्योगमा २०७४ साल पुस २६ मा बत्ती सट भएर आगलागी हँुदा काली मियाको जिबन अन्धकारमय भएको थियो । तर हिम्मत हारिनन् । त्यही हिम्मत अनि साहसले फेरि गारमेन्ट उद्योग सुरु गरिन । १० लाख ५० हजार रुपिया स्थानीय ब्यापारीहरुले ऋण दिएर सहयोग गरे । त्यहि लगानीबाट फेरि उद्योग फस्टाउँदै गयो । अहिले ८० लाख जति ऋणमा उद्योग चलिरहेको छ, निर्धक्क कालीलाई कहिले आफु पुरुष भन्दा फरक लाग्दैन । उनी भन्छिन, ‘हामीले हिम्मत र अवसर भएमा गर्न नसक्ने केहि काम छैन ।’
कुनै दिन आफैं रोजगारीको खोजीमा भौतारिएकी काली अहिले अरुलाई रोजगारी दिने भएकी छिन् । ३० जना कामदारसँगै अहोरात्र खटिइरहेकी उनीसँग उत्साह छ भन्छिन्, ‘दक्ष कामदार पाइन्छ भने ५ सय जनालाई म रोजगारी दिन्छु ।’
अरुलाई पनि रोजगारी
कुनै दिन आफैं रोजगारीको खोजीमा भौतारिएकी काली अहिले अरुलाई रोजगारी दिने भएकी छिन् । उनले उद्योगमा अहिले ३० जना कामदार छन् । जसमा ७ जना महिलालाई रोजगारी समेत दिएकी छिन् । त्यतिमात्र हैन उनको गारमेन्टको कपडा मध्य देखि सुदुरका जिल्लामा समेतपुग्ने गरेका छन ् ।
उसो त गारमेन्टको कपडाको माग दिनदिनै बढ्दो छ । माग अुनसारको कपडा अझै पनि बजारमा पुगेको छैन । ‘उत्पादित कपडा बेच्न कतै जानै पर्दैन । अर्डर गरेर कारखानामै लिन आउँछन् । माग पनि बढ्दो छ । आफूले नभ्याएपछि उनले बाहिर काम दिदा अरु कामदारले रोजागरी समेत पाएका छन् । आफ्नो सफलतामा उत्साहित उनी भन्छिन्, ‘गारमेन्टमा काम गर्ने नेपाली कामदारको अभाव छ, नेपालीलाई तालिम र सिप दिन सक्यांै भने मैले नै ५ सय जनालाई रोजगारी दिन सक्छु ।’
शहरमा केही सम्भावना नै छैन, केही गर्नै सकिन्न भन्नेहरुलाई उनी एक राम्रो उदाहरण बनेकी छन ् काली मिया । गारमेन्ट उद्योगबाट सबै खर्च कटाएर महिनामा केही आम्दानीसजिलै जोगिने उनी बताउँछिन् । काली भन्छिन्, ‘गर्यो भने नेपालमै प्रशस्त सम्भावनाहरु रहेछन् । मैले सामान्य लेखपढ बाहेक गरिन् । त्यसमाथि म मुस्लिम महिला । तै पनि म यस अवस्थासम्म आइपुगे । यो नै ठूलो खुसीको कुरा हो । त्यही आत्मबिश्वास ले हौसला थप्दै जान्छ । अझै बढि गर्ने साहस दिन्छ ।