महानगर गाथा

‘मानिस असल गुणले उत्तम हुन्छ, नकि उच्च आसनमा बसेर । महलको छानामा बस्दैमा काग कहिल्यै गरुड बन्छ र ?’ एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका अधिकृत वीरेन्द्र ठगुन्नाको जीवनशैलीसँग यो ‘चाणक्य वाणी’ ठ्याक्कै मेल खान्छ ।

महानगरको यात्रा (गाथा)का क्रममा भेटिएका ठगुन्नाको बोली व्यवहार जति सहज छ, जीवनशैली झन् सरल लाग्छ । ‘लो लाइफस्टाइलका हाइ प्रोफाइल’ हुन् उनी । उनीसँग चुन उद्योगमा तल्लो तहको कर्मचारीका रुपमा काम गरेको अनुभव एकातिर छ भने अर्कोतर्फ अहिले कमाइका हिसाबले पनि आम नेपाली भन्दा आकर्षक जागिरे हुन् ।

बुवा भारतीय गोर्खा सेनामा थिए । उनी सात कक्षासम्मको पढाइ आसाममै गरे । जन्मथलो कञ्चनपुरको महेन्द्रनगरमा फर्किएर उच्च शिक्षासम्म अध्ययन गरे । एक पटक लहलहैमा फेरि बुवा भएकै ठाउँ असाम घुम्न पुगे । त्यसबेला त्यहाँ भइरहेको सामाजिक कार्यले उनलाई लोभ्यायो । अन्ततः करिअरको गन्तब्य नै बन्यो । ब्रिटिसहरुले अनुदान दिएर खानेपानीका क्षेत्रमा सामाजिक कार्य भइरहेको थियो । यसमा केही समय काम गरे, त्यसले उनलाई गाउँ, टोल बस्तीमा पुगेर काम गर्न प्रेरित गर्यो । काममा मजा आयो । नेपाल फर्कनुपर्ने थियो, फर्के । थप अध्ययनलाई जारी राखे । आफन्त सिडिओ थिए मकवानपुरमा । उनलाई भेट्न हेटौडा गएका बेला उतै जागिर गर्ने मेसो मिल्यो । त्यतिबेला हेटौडा चुन उद्योगमा काम गरे, तर मन बसेन । एक दिन प्लान नेपालका प्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारीसँग भेट्न आएका थिए । त्यो दिन नै ठगुन्नाका लागि टर्निङ प्वाइन्ट बन्यो । केही महिनामै प्लान नेपालमा काम सुरु गरे । बिभिन्न आइएनजिओ हुँदै सेभ द चिल्ड्रेन पुगे ।

बुवाको इच्छा सेनामा भर्ती गराउने थियो । यिनी भने अनौपचारिक काममा मात्र रुची राख्ने बानी भयो । तसर्थ यस्तै आइएनजिओमा रमाउँदै आएका छन् । यो भन्दा थप आकर्षक मानिएका इन्टरनेसनल एजेन्सीले उनको मनलाई तान्नै सकेको छैन । ‘औपचारिक पोशाक वा अन्य औपचारिकतामा बस्नै सक्दिन ।’ उनी भन्छन्–‘काम र नतिजामा नै बिश्वास गर्छु ।’

टिसर्ट र जिन्स खास पहिरन हो, मोटरसाइकल वा स्कुटर प्रिय वाहन । अत्याधुनिक वातानुकुलित सवारी साधन उनको कार्यालयमा दर्जनौं संख्यामा छन् । उनी भने सामान्य मोटरसाइकलमा जिन्स र टिसर्टका साथ भेटिन्छन् । मातहत कर्मचारीबाट गाडीतर्फ संकेत गर्दै तह अनुसार उठबस र व्यवहार गरिदिन आएको अनुरोध बिर्सिदिन्छन् । र, उपल्लो तहबाट सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरिदिन आएको निर्देशन नसुनेझैं गरिदिन्छन् । देशभित्र असुरक्षा अनुभुति कहिल्यै भएन उनलाई । समाजशास्त्रमा मास्टर्स र जनसम्पर्कमा पोष्ट ग्राजुएट उनी करिब १३ बर्ष नेपालगन्जलाई नजिकबाट नियालेका छन् । झण्डै आधा दर्जन आइएनजिओको अनुभव बटुलिसकेका ठगुन्ना यसपटक हाम्रो महानगर गाथाको रोजाइमा परेका हुन् ।

प्रशासनिक हिसाबले नेपालगन्ज कुनै पनि प्रदेशको मुकाम रहेन । व्यापारिक हिसाबले अझैं यो तीन प्रदेशको हब हो । कुनै बेला मध्य र सुदुरपश्चिमको व्यापारिक केन्द्र रहेको नेपालगन्ज अहिले पनि प्रदेश नं ५, कर्णाली र ७ का लागि बिजनेस हब रहेको ठगुन्ना मान्छन् । ‘नेपालगन्जले आत्तिनुपर्ने केही छैन ।’ उनी भन्छन् –‘विकल्पको खोजी गर्ने हो । धेरै सम्भावनाहरु जिवितै छन् । यो त आशाको शहर हो, होप सिटी ।’

बिश्वविख्यात गायक बब मार्लीनले भनेका छन् नि ‘एउटा ढोका बन्द हुँदा के तिमीलाई थाहा छ दोस्रो खुलेको हुन्छ ।’ उनैले भनेका छन् ‘आफ्नो इतिहास नबिर्स, न त भाग्य नै’ यो भनाइसँग ठगुन्ना पुर्ण सहमत छन् । नेपालगन्जको इतिहास समृद्ध छ । इतिहासको जगमा उभिएर नै भाग्य र भविष्य आफैं निर्माण गर्ने हो । यो शहर त सांस्कृतिक धरोहरको पर्याय हो । बिभिन्न धर्मावलम्बी, सम्प्रदाय र जातजातिका मानिसहरु बर्सौंबर्षदेखि मिलेर बसेका छन् । धेरै भौतिक पुर्वाधार निर्माण भइसकेका छन् । ‘यो नै यहाँको सुन्दर पक्ष हो, अमुल्य सम्पत्ति हो ।’ उनी भन्छन्– ‘यसलाई जोगाएर अगाडि लैजानु अबको आवश्यकता हो ।’ प्रशासनिक केन्द्र सारिंदा आत्तिहाल्नुपर्ने उनी कुनै कारण देख्दैनन् । सम्भावनाको खोजी नगर्नेहरुले मात्र यस्तो बिषयमा चिन्ता लिने उनी बताउँछन् ।

एक दशक बढी नेपालगन्ज बसेका उनी यतिबेला जागिरका सिलसिलाका संघीय राजधानी काठमाडौं जाँदैछन् । केही महिना अघिसम्म सेभ द चिल्ड्रेनमा एसोसियट डाइरेक्टरका रुपमा नेपालगन्जलाई मुकाम बनाइ यो क्षेत्र हेरिरहेका ठगुन्ना पदोन्नती भइ काठमाडौं जान लागेका हुन् । अब उनी देशभरका कार्यक्रम हेर्नेछन् प्रोग्राम अपरेसन डाइरेक्टरका हैसियतमा । कालान्तरमा नेपालगन्जमैं फर्कने सोंच बनाएका छन् । किनकी नेपालगन्जसँग उनको बेग्लै मोह छ । ‘नेपालगन्जसँग मेरो भावनात्मक सम्बन्ध छ,’ नेपालगन्ज छाड्नुअघि कफीको चुस्कीसँगै उनी थप गफिए । नेपालगन्जसँग नजिकको सम्बन्ध हुनुका पछाडि पनि केही कारण रहेछन् । महेन्द्रनगर पुख्र्यौली घर भएको उनले विवाह गरेपछि श्रीमतिसहित आएको पहिलो ठाउँ नेपालगन्ज । पहिलो सन्तानका रुपमा छोरी जन्मिएको ठाउँ नेपालगन्ज । जागिरका सिलसिलामा केही समय अन्य जिल्ला पुगे । फेरि नेपालगन्ज फर्किए, अनि दोस्रो सन्तान छोरो जन्मियो । यसरी पत्नी, छोरी र छोराको पनि बेग्लै आत्मियता जोडिएको छ नेपालगन्जसँग ।

जमिन खरिद गरेका छन्, सेवानिवृत्त जीवन नेपालगन्जमै घर बनाउने योजना छ, अनि सामाजिक कार्यका अन्य थुप्रै योजना । औद्योगिक शहरको परिचय पाएको नेपालगन्जलाई उनी शिक्षा, स्वास्थ्य र कृषिको सम्भावनाको शहर मान्छन् । भारतको राजधानी लखनउसँगको सिधा कनेक्सनले पनि स्वास्थ्यको हब बनिरहने उनको बुझाइ छ । ‘स्वास्थ्यको यति राम्रो पहुँच र सहजता काठमाडौंपछि अन्य शहरमा देखिंंदैन ।’ उनी भन्छन् –‘शिक्षामा पनि यहाँका विद्यार्थीले संघीय राजधानी काठमाडौंका साथै विदेशमा पनि राम्रो गरिरहेका छन् ।’

चिकित्सा शिक्षाका साथै थुप्रै प्राविधिक शिक्षालय खुलेका छन् । उच्च शिक्षाका लागि तमाम कलेज छन् । अध्याधुनिक मन्टेश्वरी स्कुलदेखि उच्च शिक्षाका कलेजहरुको संख्यामा निरन्तर वृद्धि हुनु यो ठाउँको विकासको संकेत हो । मध्य तथा सुदुरपश्चिमकै पुरानोमध्ये महेन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नती गर्न सके फेरि नेपालगन्जमा शिक्षाको आकर्षण फर्कने उनी बताउँछन् । किनकी नेल्सन मण्डेलाले कतै भनेका छन् ‘शिक्षा त्यस्तो सशक्त हतियार हो, जसले विश्व बदल्न सक्छ ।’ बालबालिकाको शिक्षामा काम गरिरहेको सेभ द चिल्ड्रेनका प्रोग्राम अपरेसन डाइरेक्टर ठगुन्नासँग सोध्दा उनले पनि पिछडिएका बालबालिकालाई मुलधारमा ल्याउन धेरै काम गरेको अनुभव सुनाए । गैर सरकारी संस्थाहरुकै कारण आज नीति निर्माण गर्न राज्यलाई सहज भएको छ । सरकार नपुगेको र नभ्याएको ठाउँमा गैर सरकारी संस्था पुगेका हुन्छन् । यसले पनि अल्पसंख्यक र पिछडिएका नागरिकलाई मुलधारमा ल्याउन सघाउँछ । ‘गैर सरकारी संस्थाहरुले यथार्थ धरातलमा टेकेर काम गरेका हुन्छन् र वास्तविक रिपोर्ट दिइरहेका हुन्छन् ।’ उनले दावी गरे –‘जसका कारण राज्यलाई नीति, नियम, ऐन कानुन बनाउन सजिलो भएको छ ।’

प्रशासनिक केन्द्रसँगै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका क्षेत्रीय कार्यालय पनि उतै सर्दैछन् । सेभ द चिल्ड्रेन पनि जाँदैछ । यसले नेपालगन्जलाई अवश्य नोक्सान पुराएको छ । ठगुन्नाकै भनाइमा नेपालगन्जस्थित अफिसले बार्षिक ८ करोड रुपैयाँ खर्च गर्दथ्यो । यो सब यहाँकै होटल, समुदायमा खर्च हुन्थ्यो । भौतिक पुर्वाधार तथा सुविधाका हिसाबले सबै आइएनजिओको इच्छा नेपालगन्जमै कार्यालय राख्ने हुन्थ्यो । विमानस्थल, सडक, होटल, बजार तथा अन्य मनोरञ्जनका साधन उपलब्धताका हिसाबले सबैले मुकाम नेपालगन्जमै बनाउन चाहन्थे । अब सार्नुपर्ने बाध्यात्मक अवस्था आयो ।

पुर्वाधारलगायत क्षेत्रमा यतिधेरै लगानी भइसकेको ठाउँका लागि राज्यको स्पष्ट नीति आउन ढिलाइ हुनु उनले दुर्भाग्य ठानेका छन् । आर्थिक लगानी अनुसार प्रतिफल लिन चुनौति देखिरहेका छन् । ‘संसारमा धेरै लगानी भएका शहरमा राज्यले ध्यान नदिंदा विकृति बढेका कैयन उदाहरण छन् ।’ उनले भने–‘ तसर्थ सरकारले नेपालगन्ज जस्ता शहरबाट फाइदा लिनसक्छ, लिनुपर्छ ।’ यहाँको शिक्षा, स्वास्थ्य, कृषि, यातायात र पर्यटनका क्षेत्रमा नीजि क्षेत्रको लगानीले राज्यलाई करको मात्रा बढाइदिएको छ । रोजगारी सिर्जना गरिदिएको छ । राज्यले फाइदा लिनसक्नुपर्ने तर्क एकातिर छ भने अर्कोतर्फ स्थानीय सरकारले पनि शहरप्रति आकर्षण बढाउने काम गर्न जरुरी छ ।

नेपालगन्जले छिमेकी स्थानीय तहसँग समन्वय गरी शहरलाई झन लोभलाग्दो शहर बनाउने र गाउँलाई गाउँ नै रहन दिनेगरी नीति तर्जुमा गर्नतर्फ लाग्नुपर्ने सुझाव छ । दर्जन बढी देश भ्रमण गरिसकेका उनी चीनको सिचवान राज्यको उदाहरण दिन चाहन्छन् । चीन सरकारले आफ्ना नागरिकलाई गाउँबाट शहरमा बसाइसराइ गर्न प्रेरणा दिने गरेको उनले सुनाए । ‘शहरकेन्द्रित विकासले भौतिक पुर्वाधार निर्माणका साथै समग्र विकासमा केन्द्रित हुन सजिलो हुन्छ र त्यसबाट सबै नागरिक लाभान्वित हुन्छन् ।’ उनले सुनाए –‘ग्रामीण क्षेत्रको भुभाग कृषि उत्पादनमा जोड दिनुका साथै कृषि पर्यटनलाई सँगसँगै लैजान सकिन्छ र उद्योग स्थापनामा पनि सहज हुन्छ ।’ स्थानीय तहको राम्रो अभ्यास फिलिपिन्समा पनि रहेको उनले सुझाए । राज्यले जीवनपयोगी शिक्षा र प्रोफेसनल शिक्षालाई सँगसँगै लैजानुपर्छ । अस्थीर देश र राज्यमा जीवनपयोगी शिक्षा आवश्यक हुन्छ । उनीहरु नागरिक समाजका सदस्यहरु हुन्छन् । उनीहरुमा धेरै ठुलो सपना हुँदैन । तसर्थ राज्यले यस्तो कुरामा जोड दिनुपर्ने उनको राय छ । चीनले नैतिक शिक्षा सुरु गरिसकेको छ ।

अर्कोतर्फ मुलुकले संघीयताको अभ्यास गरिरहँदा करको दायरा बढाइरहेको छ । यसले नागरिकमा संशय पैदा भएको छ । ्–‘करका बारेमा बुझाउन नसक्नु नै कमजोरी हो, यसलाई सहज ढंगले बुझाउनुपर्छ,।’ मासिक रुपमा राज्यलाई कर बुझाउने गरेका ठगुन्ना भन्छन्–‘कर लिइसकेपछि सरकारले नागरिकलाई तत्काल अनुभुति गराउन सक्नुपर्छ ।’

मान्छेसँग नै कमीकमजोरी हुन्छ । गल्ती मान्छेले नै गर्छ, सही पनि मान्छेले नै गर्छ । गल्ती महसुस गरी सच्याउनेतर्फ पाइला बढायो भने समृद्ध शहर बन्नेमा शंका रहँदैन । उनी भन्छन्–‘राम्रो मात्र गर्ने देवता, नराम्रो मात्र गर्ने दानव । यही देवता र दानवीबीच मानव हुन्छ । जसले राम्रो गर्दागर्दै पनि त्रुटि हुनसक्छ, तर सच्याउदै जाने ठुलो छाती भने हुनुपर्छ ।’ नेतृत्वले सपना देख्नुपर्छ, नागरिकलाई सपना बाँड्नुपर्छ । महानगरको अर्थ समृद्ध शहर हो । यो बनाउने सपना नगरपितासँग हुनुपर्ने उनी बताउँछन् ।

एक विद्धानले कतै भनेका छन् नि महान सपना नहुने मान्छे पखेका काटिएका चराजस्तै हुन् । बृहत उद्देश्य नलिनु र सपना नदेख्नु पनि अपराध सरह हो । महान लक्ष्य बनाएर हिंडेमा आजको हाम्रो मनको बीज भोलि बिशाल वृक्ष बनेर झाँगिन्छ । मात्र समय लाग्छ ।

प्रतिक्रिया

प्रतिक्रिया