नेपालगन्ज उपमहानगरपालिकाले ५० स्थानमा पार्किङ्ग स्थल तोकेर ठेक्काका लागि टेण्डर आव्हान गरेको छ जुन भदौदेखि लागु हुने सम्भावना छ
नेपालगन्ज उपमहानगरपालिकाले यातायातका साधन पार्किङ्ग व्यवस्थित गर्ने भएको छ । निश्चित स्थान नतोकिंदा हाल सडक छेउ मनलागी गरिने पार्किङ्गले ट्राफिक अव्यवस्थित भएपछि उपमहानगरपालिकाले विभिन्न ५० ठाउँमा पार्किङ्ग स्थल तोकेको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोय नारायण सुवेदीले भदौंदेखि तोकिएको पार्किङ्ग स्थल कार्यान्वयनमा आउने सम्भावना रहेको बताएका छन् । ‘पार्किङ्गका लागि स्थान तोकेर टेण्डर आव्हान गरिसकिएको छ’, सुवेदीले भने, ‘भदौंमा टेण्डर प्रक्रिया पूरा भएर ठेक्कामा जान सक्छ ।’
निश्चित स्थान नतोकिंदा सडक छेउ रोकिने यातायात व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई चुनौति छ । यातायातका साधन जथाभावी नरोक भन्ने ट्राफिकसँग यहाँ पार्किङ्ग गर भन्ने जवाफ थिए । ‘पार्किङ्ग लागु भएपछि व्यवस्थापनमा धेरै सहज हुनेछ’, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख हिरेन्द्र रोकायले भने, ‘यसले सहरलाई पनि व्यवस्थित बनाउँछ ।’
नेपालगन्जमा बनाइएका घर अगाडि कसैले पनि पार्किङ्गका लागि ठाउँ छोडेका छैनन् । अझ सडक बिस्तारका नगरका विभिन्न स्थानमा घर भत्काइएपछि अधिकांस घर नालीमै जोडेर बनाइएको छ । ‘मनलागी पार्किङ्ग बाध्यता हो’, दिपेश आचार्य भन्छन्, ‘स्थान तोकिए सहज हुनेछ ।’
नेपालगन्ज उपमहानगरपालिकाले ट्रक पार्किङ्गका लागि ३ वटा स्थान तोकेको छ । सुर्खेतरोडको मनिकापुर तथा काराकाँदो क्षेत्रमा ट्रक पार्किङ्गका लागि स्थान तोकिएको हो । नगरका १९ ठाउँमा कार, जीप र २८ ठाउँमा मोटरसाइकलका लागि पर्किङ्ग गर्ने क्षेत्र छुट्याइएको हो । ‘पार्किङ्ग ठेक्का स्वीकृत भए लगत्तै पार्किङ्ग स्थल कार्यान्वयनमा आउनेछ’, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘उक्त नियम कडाईका साथ लागु गरिनेछ ।’
‘सडकको नाला छाडेर निश्चित सडक क्षेत्र पार्किङ्गका लागि तोकिएको हो । ‘त्यस बाहेक कुनै संरचना भने निर्माण हुनेछैन’, उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख भुपति खत्रीले भने, ‘भदौं ९ गतेसम्म अन्तिम सीमा तोकेर टेण्डर आव्हान गरिएको छ ।’ पार्किङ्गबाट ठेकेदारले मोटरसाइकलबाट १०, जीप कारबाट २० र ट्रकबाट ४० रुपैयाँ असुल गर्न पाउने उपमहानगरपालिकाले जारी गरेका सूचनामा उल्लेख छ । ‘नेपाल सरकार, वैदेशिक, कुटनीतिक नियोगका एजेन्सी तथा लाभको उद्देश्य नराखी सञ्चालन हुने संघ, संस्थाबाट भने पार्किङ्ग शुल्क असुल्न पाइने छैन’, राजश्व शाखा प्रमुख खत्रीले भने । उपमहानगरपालिकाले पार्किङ्गलाई राम्रो आर्थिक स्रोत समेत बनाउने भएको छ । ‘५० ठाउँको पार्किङ्ग ठेक्काको न्यूनतम मूल्य २५ लाख राखिएको छ’, उनले भने ।
सशुल्क पार्किङ्ग भएकाले कार्यान्वयनमा केही समस्या देखिन सक्ने आशंका पनि रहेको छ । ‘नयाँ व्यवस्था लागु गर्न सुरुमा केही समस्या हुनसक्छ’, बाँके ट्राफिक प्रहरी प्रमुख रोकाय भन्छन्, ‘हामी पार्किङ्ग ठेक्कामा गएपछि हरसम्भव सहयोग गर्नेछौं ।’ उनले सुरुमा ठेक्का पाएकाहरुसँग पनि समन्वय गरिने बताए । उनी व्यवस्थित पार्किङ्गले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउँछन् ।
नेपालगन्जका कतिपय जेब्रा क्रस रहेको स्थानमा बार रहेकाले त्यसलाई हटाउन उपमहानगरपालिकालाई आग्रह गरिएको रोकायले जानकारी दिए । ‘३÷४ स्थानमा जेब्रा क्रस भएकै ठाउँमा बार राखिएको छ’, उनले भने, ‘उपमहानगरपालिकाले नगरप्रमुख बार हटाउन आवश्यक रहेको स्थानबारे जानकारी माग्नु भएको छ ।’ रोकाय केही दिनमा उपमहानगरपालिकाले जेब्राक्रस भएका ठाउँको बार हटाउन सक्ने बताएका छन् ।