प्रहरीलाई घटनाको सूचना दिएको घण्टौंसम्म पनि नपुग्ने गरेको गुनासो सधै जनस्तरमा रहन्छ । विगतका कतिपय घटनामा प्रहरी ढिलाई र कमजोर उपस्थितिले क्षति समेत बढेको पाइन्छ । जसले बेलाबखत प्रहरी संगठन आलोचित हुँदै आएको छ । तर, अब भने बाँके प्रहरीले आफुलाई चुस्त राख्ने भएको हो । प्रहरीले नगर क्षेत्रमा सूचना पाएको १० मिनेटमै घटना स्थल पुग्ने गरी तयारी गरिरहेको जानकारी दिएको छ ।
हालै बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक अरुण पौडेलले आइतबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरभित्र सूचना पाएको १० मिनेट भित्र र नगर बाहिर नजिकको प्रहरी चौकीबाट बाटोको समय बाहेक ५ मिनेटभित्रै प्रहरी घटनास्थल पुग्ने व्यवस्था गर्न लागेको जानकारी दिए । सूचना दिएको घण्टौंसम्म प्रहरी पुग्यो भन्ने गुनासो नरहने उनको भनाइ थियो । ‘त्यसका लागि भएका स्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गरिनेछ’, उनले भने ।
प्रहरी उपरीक्षक पौडेलले जनचाहना बमोजिम काम गर्ने आफ्नो लक्ष्य रहेको बताए । उनले लागुऔषध, गुण्डागर्दी रोकथाम र नियन्त्रण आफ्नो प्रयास रहने बताए । अपराध नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रहरी उपरीक्षक पौडेलले आवश्यकता बमोजिम स्थानीय नागरिक, स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने जानकारी दिए । जिल्लामा आएपछि अपराधका तथ्यांक नियालेका प्रहरी प्रमुख पौडेलले लागुऔषध समस्याका रुपमा पाएको बताए । उनले प्रदेश प्रहरीले पनि लागु औषध नियन्त्रणका लागि कार्ययोजना पठाएकाले पूर्ण रुपमा कार्यान्वयन गर्दै अगाडि बढ्ने बताए । नगर सुरक्षाको विषयमा प्रशासनसँग पनि समन्वय गर्ने पौडेलले जानकारी दिए ।
दुर्घटनाका घटना हुन्छन् तर कारण नखोजिने गरेको उल्लेख गर्दै प्रहरी उपरीक्षक पोखरेलले भने, ‘अब दुर्घटनाको कारण खोजेर समाधानका दिशामा अघि बढ्ने छौं ।’ उनले दुर्घटना नियन्त्रण र रोकथामका लागि ट्राफिक प्रहरी र स्थानीय तहसँग योजना बनाएर अगाडि बढ्ने बताए । लागुऔषध र दुर्घटना न्यूनीकरणका लागि जनचेतनाको भूमिका महत्वपूर्ण हुने भएकाले प्रहरी उपरीक्षक पौडेलले जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने बताए ।
भारतसँग खुला सीमा रहेका कारण अपराध गरेर आउने र जाने जोखिम जिल्लामा बढी रहेको प्रहरी उपरीक्षक पौडेलले बताए । उनले भने, ‘त्यसविरुद्ध जिल्लामा भएका प्रहरी संरचनालाई सक्रिय पारिनेछ ।’ उनले सीमावर्ती प्रहरी चौकीलाई सीमामा चेकजाँच र निगरानी बढाउन निर्देशन दिइने बताए । प्रविधिको प्रयोगसँगै त्यससँग सम्बन्धित अपराध पनि बढेको प्रहरी उपरीक्षक पौडेलले बताए । ‘प्रविधिको सहज पहुँचले अपराध बढाएको छ’, उनले भने, ‘उनले त्यस्ता अपराध नियन्त्रण गर्न प्रहरीले समयानुकुल भूमिका निर्वाह गर्नेछ ।’
गुण्डागर्दी समाजमा अशान्ति ल्याउने भएकाले त्यसको निगरानी गरिरहने प्रहरी प्रमुख पौडेलले बताए । ‘गुण्डागर्दी गर्नेलाई कुनै पनि हालतमा छोडिनेछैन’, उनले भने । प्रहरी उपरीक्षक पौडेलले नगरमा सिसिटिभी जडान भैसकेकाले सुरक्षा निगरानी गर्न सहज भएको बताए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुर सिंह थारुले घटनाका सूचना पहुँच सहज पार्न प्रहरी उपरीक्षकसँग आग्रह गरेका थिए । उनले भने, ‘अपराध अनुसन्धानमा असर पार्ने बाहेकका सूचना दिन कञ्जुस्याई नगरियोस् ।’