देबेन्द्र राज पौडेल
आगामी मंसिर अन्तिम साताका लागि तिथि निश्चित गरिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बजेट अभावमा जोखिममा परेको छ । मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि निर्माण भैरहेका भौतिक पूर्वाधारका काम अघि बढाउन बजेट अभाव भएको हो । जसका कारण प्रतियोगिता नै जोखिममा पर्न सक्ने आशंका खेल क्षेत्रले गरिसकेको छ ।
प्रतियोगिताका लागि अब साढे ३ महिना मात्रै बाँकी छ । अघिल्लो आ.व.मा भएका कामको भुक्तानी साउनको अन्तिम साता हुँदा पनि निकासा हुन सकेको छैन । रकम निकासाकै लागि समितिको टोली काठमाडौंमा सक्रिय छ । ‘हामी प्रयासरत छौं’, मध्यपश्चिम क्षेत्रीय खेलकुद समितिका अध्यक्ष ओलीले भने, ‘एक महिना भयो अघिल्लो आ.व. १७ करोड अझै भुक्तानी हुन सकेको छैन ।’
५५ प्रतिशतसम्म भौतिक पूर्वाधारहरु निर्माण भैसकेको दाबी गर्छन् समितिका अध्यक्ष भीम ओली । तर, समितिकै अन्य पदाधिकारी भने स्थलगत ४५ प्रतिशत भन्दा माथि काम नभएको बताउँछन् । बर्षाका कारण पनि कतिपय आयोजना प्रभावित छन् भने अघिल्लो आ.व.कै भुक्तानी नहुँदा काम ठप्प हुने अवस्थामा छ ।
सरकारले यस बर्ष आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि २ अर्ब ४ करोड विनियोजना गरेको छ । तर, समयमै बजेट निकासा नगर्ने सरकारी परिपाटीले आठौंलाई पनि स्पष्ट रुपमा प्रभावित गरेको छ । बजेट अभावले काम द्रुत रुपमा अघि बढाउन समस्या भएको बताउँछन् समितिका अध्यक्ष ओली । एक महिनादेखि मन्त्रालय र राखेप धाइरहेका ओली भन्छन्, ‘अघिल्लो आ.व. र आगामी आ.व.का लागि तत्काल बजेट निकासा नहुने हो प्रतियोगितामा धक्का पुग्न सक्छ ।’ ‘काम अगाडि बढाउन पैसा चाहियो’, उनी भन्छन्, ‘बजेट निकासा नै नहुने हो भने कसरी अघि बढाउन सकिन्छ ?’ यद्यपि, उनी आशावादी चाही छन् ।
‘आठौं सरकार, राखेप र खेलकुद विकास समितिको साझा मिसन हो’, अध्यक्ष ओली भन्छन्, ‘त्यसैले सबै पक्ष गम्भीरताका साथ अगाडि बढ्नु पर्छ ।’ उनी तत्काल बजेट निकासामा भएमा सबै पूर्वाधार निर्माणका काम समयमै सकिने दाबी गर्छन् । महिना दिन बढी बजेटकै लागि काठमाडौं बिताएका अध्यक्ष ओली अब बजेट आउनेमा आशावादी रहेको बताउँछन् । उनी भन्छन्, ‘म यति भन्न चाहन्छु कि बजेट आउँछ र आठौं समयमै हुन्छ ।’
३५ खेलमा प्रतिस्पर्धा हुने आठौंका लागि कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान र लमहीको क्रिकेट मैदान, नेपालगन्ज र दाङको रंगशाला, सीतापुरमा भलिबल स्टेडियम, सुटिङ रेन्ज, कबड्डी, कराँते, खोखो र बहुउद्देश्यीय हल र कभर्डहल लगायत १३ आयोजना सञ्चालनमा छन् । निर्मार्णाधिन रहेका कुनै आयोजनालाई पूर्ण रुपमा बजेट प्राप्त भएको छैन । समितिका पदाधिकारी बजेट अभावमा निर्माणाधिन आयोजना सुस्त रहेको बताउँछन् ।
आठौंका लागि कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण भैरहेको छ । जसका लागि ९० लाख रुपैया“ खर्च भइसकेको छ । थप १० लाख मैदानमा पीच ग्राउण्ड निमार्णका छुट्याइएको छ । ‘१० लाखले निर्माण पूरा हुने सम्भावना देख्दिन’, अध्यक्ष ओली भन्छन् । नेपालगन्ज रंगशालाको ट्रयाक एण्ड फिल्ड निर्माणका साढे छ करोड खर्च भइसकेको अध्यक्ष ओली बताउँछन् । थप २१ करोड दर्शक र भीआईपी प्याराफिट निर्माणका लागि लाग्ने अनुमान गरिएपनि बजेट भने निकासा भएको छैन ।
नेपालगन्जको कारकाँदोमा निर्माणाधिन जुडो एकेडेमीका लागि २३ लाख निकासा भएको छ तर उक्त रकम अपुग हुने बताइएको छ । त्यस्तै, नेपालगन्जमा बनाइने भारोत्तोलन भवनका लागि ८५ लाख अनुमान गरिएको छ । सुटिङ रेन्जका लागि ४५ लाख, पौडी पोखरीका लागि १५ करोडको लागतमा काम भैरहेको छ तर, दुवै आयोजनालाई थप रकम आवश्यक पर्ने देखिएको छ । बाँकेको खजुरामा निर्माण सुरु भएको भलिबल स्टेडियमका लागि २ करोड आवश्यक भएपनि ८८ लाख मात्रै निकासा भएको अध्यक्ष ।
एक करोड लागतमा बर्दियाको बा“सगढीमा कबर्ड हल निर्माण भइरहेको छ । जसका लागि जम्मा १५ लाख निकासा भएको छ । बर्दियाको ठाकुरबाबा गाउँपालिका भुरीगाउँमा १ करोड ७५ लाख लागतको निर्माणाधिन खोखो कबर्डहलका लागि १५ लाख, देउखुरीको क्रिकेट मैदानका लागि ६५ लाख छुट्याइएपनि बजेट कम पर्ने सम्भावना रहेको औंल्याइएको छ । दाङको बेलझुण्डीमा २५ करोड लागतमा रंगशाला निर्माण भइरहेको छ । तर, त्यसका लागि पनि बजेट निकासा हुन सकेको छैन । दाङको तुल्सीपुरमा कँराते कर्बडहल निर्माणका लागि एक करोड लागत लाग्ने छ । तर त्यसका लागि २५ लाख रुपैया“ मात्रै निकासा भएको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कोट हात्तीको छावा राखिएको छ । प्रतियोगिताको नारा र गीत यसअघि नै सार्वजनिक भइसकेको छ । प्रतियोगिताको नारा ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । ।
वि.सं. २०७३ पुस १५ गते धरान पूर्वाञ्चलको धरानको एन्फा एकेडेमीमा भएको सातौ राष्ट्रिय खेलकुदको समापनमा कार्यक्रममा महामहिम उपराष्ट्रपति नन्द बहादुर पुन, तत्कालीन खेलकुद मन्त्री दलजीत श्रीपालीको उपस्थितिमा मध्यपश्चिम क्षेत्रमा क्षेत्रीय खेलकुद समितिका अध्यक्ष ओलीले प्रतियोगिता आयोजनाको जिम्मेवारी लिंदै आठौंका ेझण्डा बुझेका थिए । ‘त्यसपछि लगातार प्रयासरत् छु’, उनी भन्छन्, ‘यो पश्चिमका लागि गौरवको विषय भएकाले यसका सबै तह र तप्का यसका लागि जुट्नुपर्छ ।’ झण्डै ७ हजार खेलाडी ३ हजार अफिसियलको सहभागिता रहने प्रतियोगितामा १० दिनसम्म सञ्चालन हुनेछ ।
आयोजनाका लागि बजेट अभाव भए थपिने बताउँदै आएका खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माको दाबीका बीच बजेट अभावले आठौं समयमै आयोजना हुनेमा भने आशंका उब्जाएको छ । बाँकेमै प्रतियोगिताका मुख्य आयोजना हुने निश्चित भएपनि स्थानीय तहले चासो नदेखाएको आरोप खेलकुद विकास समितिका पदाधिकारीहरुले लगाउँदै आएका छन् । ‘बाँकेका स्थानीय तहले आठौं राष्ट्रिय प्रतियोगिताका लागि खासै चासो राखेको पाएनौं’, उनीहरु भन्छन् ।