विकासको सर्वमान्य परिभाषा छैन । यो परिवर्तनशील भएकाले अनेकौं आवश्यकता र परिस्थिति अनुसार विकासको मान्यतामा पनि फेरबदल आइरहन्छ । विकास एक सापेक्षित अवस्था हो र यो निरन्तर चलिरहने प्रक्रिया हो । शिक्षा, स्वास्थ्य, र खाद्य अधिकार पनि बिकास भन्ने कुरा मनन नगरिएसम्म विकासले गति लिन सक्दैन । जब–जब विकास हुँदै जान्छ तव मानिसले आफ्ना इच्छा र चाहना अनुसारका सेवा र वस्तुहरुलाइ रोज्ने अवसर पाउँछन् ।
वास्तवमा विकास भनेको यहि हो भनेर ठ्याक्क परिभाषित गराउन सकिने कुरा होईन । यसलाई खुट्याउनु ज्यादै जटिल कुरा हो । साधारण भाषामा भन्नु पर्दा विकास भनेको मानिसलाई छनौटको अवसर बढीभन्दा बढी दिलाउने प्रक्रिया हो । यसले मानिसको जिवनलाई सरल र सहज बनाउँदै जान्छ । अर्को भाषामा बुभ्नु पर्दा विकास सामाजिक जीवनमा देखिने सकारात्मक परिवर्तन हो । आर्थिक, समाजिक, सास्कृतिक रुपमा गरिने सबै खालका विभेदको अन्त्य र समानता, समता र न्याय विकासका सुचकहरु हुन । छोराछोरी पढाउनको बिद्यालय भए पनि गुणस्तरीय विद्यालय छैनन भने यहाँ शिक्षा क्षेत्रमा राम्रो विकास भएको छ भन्न सकिन्न्न । त्यसैले विकास एउटा बहुआयामिक पक्ष पनि हो । तर अब हुने विकास भनेको क्षणिक विकास मात्र नभए दिगो विकास हुनु पर्दछ । विकास परिणाम नभएर एक प्रक्रिया हो, यो निरन्तर रुपमा एक अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रकिया हो । मानिसको आवश्यकता मात्र बढेको छैन उसको सेवा उपभोग गर्ने प्रवृत्तिमा पनि परिवर्तन भएको छ । उसको रुची बद्लिएको छ । बिकाश प्रक्रियामा यो कुरा मनन हुन जरुरी छ ।
विकास भनेको भौतिक संरचना निर्माण गर्नु हो भन्ने हाम्रो बुझाइ छ । यो बिल्कुलै गलत बुझाई हो । यो बुझाइले मात्र विकासलाई पूर्ण बनाउन सक्दैन । बाटो, पुल, विजुली, विद्यालय, विश्व विद्यालयलगायतका संरचना बनाउदैमा पुग्दैन । विकास सरकारले गरिदिने र जनताले मागिदिने चीज हो भन्ने हाम्रो बुझाइ छ । जुन बुझाई गलत छ । हामीले विकासलाई नीतिगत बनाउनु पर्दछ । कसैको निगाह भयो भने विकास हुने, कसैले उपेक्षा ग¥यो भने विकास नहुने अवस्थाको अन्त्य गरिे एकीकृत योजनाका साथ बिकाश गरिनुपर्दछ ।
विकास एक सापेक्षित अवस्था हो र यो निरन्तर चलिरहने प्रक्रिया हो । जव जव विकास हुदै जान्छ तव मानिसले आफ्ना इच्छा र चाहना अनुसारका सेवा र वस्तुहरुलाइ रोज्ने अवसर पाउछन । त्यसकारण के भन्न सकिन्छ भने जुन समाजका मानिसहरु इच्छा अनुसारका सेवा र वस्तुहरुलाइ रोजेर प्रयोग गर्ने सामथ्र्य राख्दछन त्यो समाज त्यति नै विकसित भएको ठहर्छ । वस्तु र सेवाहरुको रोजाई व्यक्तिको आर्थिक तथा सामाजिक हैसियतमा भर पर्दछ ।
विकास गर्ने शिक्षाले हो । शिक्षा जति ठूलो अस्त्र अर्को छैन । शिक्षाले सम्भावनाको खोजी गर्न सिकाउँछ । हाम्रो शिक्षा त्यसतर्फ केन्द्रित छैन बरु बेरोजगार शैक्षिक प्रमाणपत्रधारी जत्था उत्पादन गरिरहेछ र खाडीतर्फ निर्यात गरिरहेछ । त्यसको सदुपयोग राज्यले गर्न सकिरहेको छैन । शिक्षा आर्जन गर्ने मध्ये ठुलो दक्ष जनशक्तिले देशमा योग्यता र दक्षताको प्रर्दशन गरि देश बिकाशमा सहयोग गरेको पाईदैन ।
यसरी हेर्दा नेपालमा मात्रात्मक रुपमा अधिकाँश जनताको आधारभूत आवश्यकताको परिपूर्ति पनि सुनिश्चित हुन सकेको छैन भने नयाँ संविधान २०७२ ले आत्म सम्मान र स्वतन्त्रताको ब्यवस्थाा गरेको छ । विकासका लागि संबिधानमा ब्यवस्था गरिएका मौलिक हक, कानूनी हकको उपभोग र कार्यान्वय हुन पनि उत्तिकै जरुरी रहेको छ ।
माथी उल्लेखित कुराको गुणात्मक फडको नै विकास हो । अव यो विकास किन जरुरी छ भन्दा सबै जनताको सहज जीवन यापन, न्यूनतम गुणस्तरीय जीवनको सुनिश्चितता गर्न, सबै प्रकारका विभेदहरको अन्त गर्न, भौतिक तथा आध्यात्मीक सम्पन्नता प्राप्त गर्न विकास जरुरी छ ।
सामाजिक बिकास ः
सामाजिक विकास भनेको सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याई सार्वजनिक तथा शहरी सेवामा छनौटको अवसर बढीभन्दा बढी उपलब्ध गराउनु हो । सहरी सेवा भनेको एउटा शहरमा न्युनतम रुपमा उपलब्ध हुनुपर्ने सेवा तथा सुविधा हो जस्तै ः शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोरमैला, व्यवस्थापन, खेलकुद, यातायात, सार्वजनिक, शौचालय सहितको बसपार्क, स्वस्छ खानेपानी, वैकल्पिक ऊर्जाको उपलब्धता, समानता, न्यायपूर्ण समाज, गुणस्तरीय खाद्य पदार्थ आदि हुन । सामाजिक विकासले मानिसलाई विकासको केन्द्रविन्दुमा राख्दछ ।
जस्तै गाडिघोडा हुनेले बाटो पिच बनाउनु पर्छ भन्ला अर्कोले हामीलाई पिच नभए पनि हुन्छ तर गरी खानलाई सीप र पुँजी चाहियो भन्लान । भोको पेटले पिच बाटोमा हिँडेर के काम भनिएला ? सामाजिक विकासले मानिसको प्राथामिक आवश्यकता नाना, छाना र दानालाई केन्द्रविन्दुमा राख्दछ ।
सामाजिक विकास भनेको मानिसको क्षमता विकाससँग सम्बन्धित छ जस्तै ः लक्षित कार्यक्रमहरु, सीप विकाससँग सम्बन्धित कार्यक्रमहरु, लघु उद्यमसँग सम्बन्धित कार्यक्रमहरु आदि । एक दृष्टिकोण अनुसार बिकास प्राकृतिक श्रोतलाई साँस्कृतिक श्रोतमा बदल्ने प्रक्रिया पनि हो । त्यसैले पुर्वाधार विकास गर्नुको कारण पनि समाजलाई सामाजिक विकास तर्फ लैजानु नै हो । तर कसलाई बढी प्राथामिकता दिने भन्ने कुरा ठाउँ बिशेष अनि त्याँहाको जनताको आवश्यकतामा निर्भर गर्दछ ।
मानव अधिकार र विकास
विकासका लागि मानव अधिकारमूखि पद्धती भनेको विकासलाई मानव अधिकारको रुपमा पहिचान गरि तिनलाई दावी गर्न सकिने बनाएर राज्यलाई त्यसको लागी जवाफदेही बनाउँदै विकास हासिल गर्ने विधि हो । यसमा मानव अधिकारहरु विकास हासिल गर्ने माध्यम हुन्छन् भन्ने विकास हुनुको अर्थ नै मानिसका अधिकारको परिपुर्ति हुनु हो भन्ने मान्यता हुन्छ । विकास भनेको सबै मानिसले सबै अधिकार प्राप्त गर्ने प्रक्रिया हो । विकासको योजना बनाउँदा मानिसका सबै अधिकारहरुको परिपुर्ति हुने गरि एकिकृत रुपमा बनाइनु पर्दछ । मानिसका खाद्य अधिकार, स्वास्थ्य अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकार समानताको अधिकार तथा स्वतन्त्रताका अधिकारहरु लगायतका सबै प्रकारका अधिकारहरु पुरा गर्नका लागि एकसाथ योजना गरिनुपर्दछ ।
विकास कार्यको हरेक चरणमा मानव अधिकारका सिद्धान्तहरुको पालना गरिनु पर्दछ । मानव अधिकारमुखि पद्धतीमा विकास कार्य सञ्चालन गर्दा मुल रुपमा तीन वटा पक्षमा विशेष जोड दिनु पर्ने देखिन्छ । अधिकारवालाको अधिकार दावी गर्ने तथा कर्तब्यवालाहरुको कर्तब्य पुरा गर्नको लागि सशत्तिकरण, अधिकारवालाको अधिकारको सम्बन्धमा, कर्तब्यवाला तथा अन्य सरोकारवालाहरु माझ सचेतीकरण र उपयुक्त कानूनी तथा सामाजिक संरचना ।
अधिकारवालाको सशत्तिकरण गर्नका लागी अधिकारवालाहरुलाई संगठित गरि उनीहरुलाई सहभागीतामुलक ढंगबाट आफ्नो अवस्थाको बिश्लेषण गर्न सक्ने तुल्याउनु पर्दछ । जब उनीहरु सचेत हुन्छन् तव आफ्नो उन्नती तथा त्यो बाटोमा रहेका सवालहरु पत्ता लगाउन सक्षम हुन्छन् । सशत्तिकरणकै क्रममा विकासका सवालहरुको प्राथमिकिरण गर्ने र त्यसको कारण विश्लेषण गर्ने, आफ्नो उन्नतीको योजना तथा तिनको कार्यान्वयन गर्न सक्ने तुल्याउने र उनीहरुको तत्कालिन आवश्यकताको परिपूर्ति गर्ने जस्ता कार्यहरु पर्दछन् । परिवेश बिश्लेषण गर्ने क्रममा सामाजिक, आर्थिक राजनैतिक अवस्था, गर्न खोजेको कार्यसंग सम्बद्ध परिवेश, सहयोगी, तटस्थ र विरोधी शक्तिहरुको पहिचान, गरिवीको कारण तथा सशत्तिकरण गर्नु आवश्यक हुन्छ । यस्तो बिश्लेषणमा वाहिरी विश्लेषण भन्दा पनि जानकार ब्यक्तिको सहजीकरणमा समुदायका ब्यक्तिहरुको आफ्नै सहभागिता हुनु जरुरी हुन्छ, किनिकी अधिकारमुखि पद्धतीमा परिवेश बिश्लेषण कार्य आफैमा एउटा सशक्तिकरणको उपकरण मानिन्छ । कतिपय अवस्थामा राज्यका नीति तथा कानूनहरुले नै कुनै समुदाय वा बर्ग विशेषलाई पारिहरको वा विकासको बाटोमा अवरोध गरिरहेको हुन्छ । पछाडी परिरहेका वा पारिएका बर्गलाई अगाडी ल्याउनको लागि विशेष पहल नगरिएको खण्डमा कानूनमा रहेको समानताको प्रावधान निष्कृय हुन्छ ।
आफुलाई असर पर्ने नीतिहरुमा गरिबहरुको आवाज केन्द्रमा रहने गरि निर्णय प्रक्रियामा उनीहरुको सहभागिता गराउन सकिएमा मात्र वास्तवमा बिकासको प्रतिफल हरेक नागरिकले प्राप्त गर्न सक्दछ । हरेक ब्यक्तिले आफ्नो सबै प्रकारका मानव अधिकारको उपभोग गर्न तथा आवश्यक पर्दा ती अधिकार दावी गर्न सक्ने वातावरणको तयार भएमा मात्र प्रत्येक ब्यक्तिको लागी बिकासको प्रतिफल प्राप्त हुन सक्दछ ।
मानव अधिकार र बिकाश बिचको सम्बन्ध
संयुक्त राष्ट्रसंघबाट जारी भएको विकासको अधिकार सम्बन्धी धोषणापत्र सन् १९८६ ले बिकासलाई आर्थिक सामाजिक तथा राजनैतिक प्रक्रिया हो भनी परिभाषित गरेको पाइन्छ । यसबाट बिकासको परिभाषा अत्यन्त्र ब्यापक रहेको पाईन्छ । उक्त धोषणापत्र अनुसार विकासको अधिकारमा मुख्य रुपले ३ वटा अधिकारलाई उल्लेख गरेको पाइन्छ । विकास प्रक्रियामा सहभागी हुने अधिकार, बिकास प्रक्रियामा योगदान गर्ने अधिकार र बिकासको प्रतिफल उपभोग गर्न पाउने अधिकार । कुनै पनि विकासको केन्द्र विन्दु हुने गर्दछ । हरेक बिकास प्रयासहरु मानव केन्द्रित हुने गर्दछ । विकास पद्धतीमा सरोकारवाला सबैलाई विकास सम्बन्धी कामका सबै चरणमा सक्रिय, स्वतन्त्र र अर्थपुर्ण रुपमा सहभागी हुनु पर्ने कुरालाई जोड दिन्छ । मानव अधिकारमुखि पद्धतीमा मानव अधिकारको सम्मान संरक्षण र परिपुर्तिलाई विकासको प्रमुख लक्ष्य मानिन्छ ।
विकास प्रक्रियामा मानव अधिकारका मुल्य मान्यता र सिद्धान्तको प्रयोग हुन सकेमा विकासले गति लिन मद्दत पुग्दछ । मानव अधिकारका मुल्य मान्यतालाई विकासको औजारको प्रयोग गर्न सकेमा विकास पद्धतीमा थप सहयोग पुग्दछ । विकास प्रक्रियामा मानव अधिकारलाई आत्मसात गर्ने पद्धतीमा सुदृढीकरण भई दिगो विकासमा योगदान पुग्न सक्दछ । बिकासकर्मीहरु मानव अधिकारको बिषयमा थप सचेत हुने र बिकास प्रक्रियामा मानव अधिकारको विषयलाई आत्मसात गरिनु पर्दछ ।
विकास प्रक्रियाको नीति तथा योजना निमार्ण, कार्यान्वयन, अनुगमन एवं मुल्याङ्कन तथा प्रभाव बिश्लेषण लगायतका विविध चरणमा मानव अधिकारका मुल्य मान्यता र सिद्धान्तलाई आत्मसात गरिनु पर्दछ । विकास प्रक्रियामा कानूनी राजको मान्यतालाई आत्मसात गर्ने पद्धतीमा सुधार ल्याउनु पर्दछ । विकास प्रक्रियामा विपन्न बर्गको सहभागितामा अभिवृद्धि गरिनु पर्दछ । विकास कार्यक्रम र विकासको प्रतिफललाई समान र समन्यायिक रुपमा विस्तार र बितरण गर्ने पद्धतीमा सुधार भई विकासको कार्यक्रम र प्रतिफल सर्वसाधारण र खासगरि बिपन्न बर्गको पहुँचमा बुद्धि गरि समाबेसी बिकास प्रक्रियालाई प्रोत्साहित गरिनु पर्दछ । (अधिवक्ता गौतम मानव अधिकारको क्षेत्रमा कार्यरत छन् ।)