विवाह नहुँदासम्म मदरसामै बालिका

कक्षा दोहोर्याउँदै मुस्लिम बालिका, बाँकेमा मदरसा शिक्षाको दुराअवस्था

शैक्षिक सिद्धान्त अनुसार ५ वर्ष पूरा भएका बालबालिका अनियवार्य विद्यालय भर्ना भएर शैक्षिक प्रक्रियामा सहभागी भएको हुनुपर्छ । अध्ययन गर्दै जाँदा वार्षिक हिसाबले कक्षा बढ्दै जानु स्वभाविक प्रक्रिया हो । तर, उमेर बढी भएपनि एउटै कक्षामा बढ्न बाध्य हुने गरेका मुस्लिम बालिकाहरुलाई अझै शैक्षिक सुधारको क्रममा ल्याउन सकिएको छैन ।
बाँकेमा खासगरि राप्तीपारि मटेहिया गंगापुर र फत्तेपुर तथा नगरोन्मुख गाबिस मानिएका सोनपुर र रनियापुरमा स्थापित रहेको मदरसाहरुमा अध्ययनरत बालिकाहरु बाध्यकारी रुपमा कक्षा दोहोर्याइरहेको पाइएको छ ।

 
मदरसामा अध्ययन गरिरहेका केहि बालिकाहरु स्थानीय क्षेत्रमा अन्य विद्यालय नभएका कारण उमेर बढि हुँदा पनि मदरसामै नै सीमित रहेर अध्ययन गरिरहेका छन् । समुदायमा रहेका मदरसाका शिक्षक, प्रधानाध्याक, अभिभावक, मदरसा ब्यवस्थापन समिति र स्वयं बालबालिकाहरु संग समेत कुरा बुझ्दा अन्य क्षेत्रमा जाँदा असुरक्षित महसुस हुने भएकोले मदरसामा धार्मिक ज्ञान हासिल गर्दै बसेको तरन्नुम (परिवर्तित नाम) ले बताइन् । अभिभावकको घरमा नै बालिकाले कक्षा दोहोर्याउने कारणबारे जानकारी लिँदा, अन्य विद्यालयमो सुरक्षा जोखिम हुने भएकोले मदरसा शिक्षामा नै केन्द्रित राखिएको बताइएको छ ।

 
सोनपुर बस्ने समसुल खाँ भन्छन्, सरकारी विद्यालय भएपनि त्यहाँ उर्दु नपढाउने भएकोले धार्मिक ज्ञानका लागि उमेर बढी भएपनि मदरसानै उत्तम देखिएको छ । ‘धार्मिक विद्यालय भएकोले बालिकाको सुरक्षा सम्बन्धी विषयमा पनि विश्वस्त हुन सकिन्छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘कतिपय अवस्थामा लगानी गर्न नसक्ने अभिभावकले पनि बालबालिकालाई बाहिर पठाउँदैनन् ।’

 
रनियापुर, सोनपुर मुस्लिम समुदाय बाहुल्य क्षेत्र हो । खजुरा गाउँपालिकामा गाभिएका यी वडाहरुमा ६ वटा मदरसा स्थापित छन् । धार्मिक मान्यता अनुसार मदरसामा अध्ययन गर्दा धार्मिक कुराहरु सिक्ने, आस्थावान हुने र पछि मौलाना जस्तो उपाधि हासिल गरी समुदायमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वासले मदरसा आकर्षणको केन्द्र पनि मानिन्छ ।

 
पछिल्लो समयमा सरकारी अनुदान, मापदण्ड, परिमार्जन लगायत कारणबाट मदरसामा मुस्लिम धर्म सम्बन्धी शिक्षा संगै सामुदायिक विद्यालयमा अध्यापन गराउने विषयहरु पनि समावेश हुन थालेका छन् । विद्यार्थीहरु मुस्लिम समुदायको विषय संगै नेपाली अंग्रेजी गणित विज्ञान जस्ता विषय पनि अध्ययन गर्न थालेका छन् । सरकारले बाँकेमा रहेका कुल ११७ प्रावि, ३ निमावि र १ मावि मदरसामा गरी ४२ वटा राहत शिक्षकहरुको ब्यवस्था गरेको छ ।

 
करिब १ लाख बालबालिकाहरु मदरसामा अध्ययन गरिरहेको सरकारी तथ्याँक छ । सामुदायमा सामुदायिक विद्यालय र निजी विद्यालयहरुको पनि स्थापना भएको छ । केहि समययता गाउँतिर निजी विद्यालयहरुको माँग बढि रहेको छ ।
जिल्लामा स्थापना भएका मदरसाहरु विस्तारै राज्यको अधिनमा संचालन हुने प्रयास गर्दैछन् । नेपालगन्ज उपमहानगरपालिका र स्थानीय तहमा समाहित भएको शिक्षा कार्यालयको अधिकारलाई विस्तारै प्रयोग गर्ने बारे प्रयासहरु भइरहेका छन् ।

 
मदरसाहरुमा एउटा राहतकोटाबाट एक देखि तीन जना शिक्षकहरु अध्यापन गराउँछन् । भौतिक संरचनाहरुको अवस्था अधिकाँश स्थानमा दैनीय छ । अधिकाँशमा स्वच्छ खानेपानी, शौचालय, डेस्क बेन्चको असुविधा छ ।
कक्षा दोहो¥याउने कारण, सामाजिक विचार, धारणा, अभिभावक र शिक्षक विचको अवस्था, विद्यार्थीहरुको चाहना, अभिभावकको दृष्टिकोण लगायत बारे मदरसाका शिक्षकले खुलेर कुरा गर्न चाहेनन् ।

 
शिक्षा प्राप्त गर्नका लागि मदरसा बाहेकको संरचनामा उनीहरुको लागि बाधा छ, परिवार समाज सबै प्रकारको अवरोधका कारण कक्षा ५ सम्म मदरसामा अध्ययन गरेपनि, त्यसपछि पुनः कक्षा १ बाट वा पाँच कक्षा भित्रै विवाह नहुँदा सम्म पढ्नु पर्ने बाध्यता छ ।

 

 
बालिकाहरुको चाहना अन्य विद्यालयमा वा मदरसानै उच्च शिक्षा सम्म भए अध्ययन गर्ने चाहना त छ, तर समाजको डर त कहिँ परिवारको अवरोधले देश विकासमा भूमिका खेल्न सक्ने बालिकाहरुलाई चुल्हो चौको सम्म मात्र थन्क्याएको छ ।
किशोरीले अन्य विद्यालयमा जाँदा प्रेम सम्बन्धमा फस्ने, अर्काको बहकाउमा लाग्ने वा आफ्नो नियन्त्रण गुम्न सक्ने अभिभावकलाई डर हुन्छ । त्यही कारण हो किशोरीलाई २३ वर्ष उमेर पुगेपनि कक्षा ३ वा ५ मा पढ्न बाध्य पारिन्छ ।
मदरसा शिक्षा आम्दानीको श्रोतको रुपमा प्रयोग भएका कारण यसमा भइरहेको सरकारी लगानी औचित्यहीन भएको तराई मानवअधिकार रक्षक संजाल प्रदेश नं.५ का संयोजक आलम खानले बताए ।

 

 
मदरसाबाट उत्पादन भएका विद्यार्थीको भविष्य के हुने भन्ने अझै यकिन हुन सकेको छैन, दैनिक नेपालगन्ज संग कुरा गर्दै खान भन्छन्, सामुदायिक विद्यालय सरह मदरसाको ब्यवस्थापन हुन नसके आगामी दिनमा यसको औचित्य आफै समाप्त हुनेछ ।

 

 

‘पहिलो कुरो त मदरसा र सामुदायिक विद्यालयको विद्यार्थी नै छुट्याउन गार्हो छ’, शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका ईकाइ प्रमुख गोरख थापाले भने, ‘विद्यार्थीलाई यकिन गर्नकै लागि अनलाइन विवरण राख्ने प्रक्रिया थालिएको थियो, त्यसमा पनि नक्कली विद्यार्थी परेको खुल्न आएको छ ।’

 

 
‘मदरसा र सामुदायिक विद्यालय दुबै तर्फबाट लाभ लिनका लागि एउटै विद्यार्थी प्रयोग भइरहेको पाइयो’, थापाले भने, ‘यद्यपि यो चुनौतीलाई समाधानका लागि प्रयास भयो तर सफल हुन सकिएन ।’ ‘मदरसामा विद्यार्थीबाट प्राप्त हुने लाभका लागि पनि कक्षा दोहोर्याउने प्रवृति समाप्त हुन सकेको छैन’, थापा भन्छन्, ‘इमान्दारी नै गर्न नचाहने ब्यक्तिलाई जसरी भएपनि सुधार गर्न चुनौतीपूर्ण नै हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया