नेपालगन्ज नगरक्षेत्र अबदेखि क्यामेराको निगरानीमा भएको छ । बढ्दो आपराधिक क्रियाकलाप, अपराध र अनुसन्धान बारे तथ्यहरुमा काम गर्न सुरक्षाका लागि पूरै सहर सिसिटिभी क्यामेराको निगरानीमा राखिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न १६ स्थानमा ५६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । सर्वसाधारणहरुलाई सुरक्षित महसुस गराउन सिसिटिभी क्यामरा जडान गरिएको प्रहरी भनाई छ ।
औद्योगिक सहरको रुपमा रहेको नेपालगन्जलाई सुरक्षा प्रणाली सँग जोडेर सुरक्षित महसुश गराउन आधुनिक सुरक्षा प्रणाली अपनाएको नेपालगन्ज सिसिटिभी व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले बताए ।
समितिले ३३ लाख ९७ हजार २ सय ६८ रुपैया खर्च गरेर सिसिटिभी जडान गरेको हो । क्यामेरा जडानका लागि ४५ लाख ७६ हजार १ सय संकलन भएको थियो । बाँकी रकम मर्मत सम्हारका लागि खर्च गरिने समितिले जनाएको छ ।
‘नेपालगन्ज क्षेत्रमा रात्रिको समयमा हुने अपराधिक क्रियाकलाप, तस्करी र अमानवीय ब्यवहारलाई प्रहरीले २४ सै घण्टा निगरानी गर्ने भएको छ’, बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले भने, ‘सुरक्षाका लागि क्यामरा निकै महत्वपूर्ण आवश्यक थियो ।’
मुख्य विषय सडक दुर्घटना, आवागमन, चोरी र त्यस बमोजिमका अन्य अपराधलाई निगरानी गर्न अनिवार्य भएकोले क्यामरा जडान गरिएको तामाङले बताए । पुरानो जीर्ण अवस्थामा भइ बिग्रेका क्यामेरा पनि मर्मत सम्भार गरी चलाउने विषयमा समितिले काम गरिरहेका छ ।
‘खासगरि ब्यक्तिगत रुपमा जडान भएका क्यामरालाई सार्वजनिक रुपमा पनि प्रयोग गर्न मिल्ने हिसाबले पहल अघि सारिएको हो,’ एसपी तामाङले भने, ‘प्रयोग गर्न मिल्ने स्थान बाहेकमा आफ्नो क्यामेरा जडान गरी सार्वजनिक स्थलको निगरानी बढाइएको छ ।’
बाँके धार्मिक, जातियता, समुदाय लगायतका विभिन्न दृष्टिकोणले संवेदशील क्षेत्र पनि मानिन्छ । भारतीय सिमाना संग जोडिएको जिल्ला भएकोले विदेशी आवागमन र त्यसमा हुन सक्ने सुरक्षा जोखिमलाई ब्यवस्थित गर्न क्यामेरा जडानको योजना अघि सरेको थियो ।
ट्राफिक ब्यवास्थापन, शान्ति सुरक्षा कायम राख्न र अपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न सिसिटिभी क्यामराले महत्वपूर्ण सहयोग गर्ने प्रहरी विश्वास छ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रको धम्बोझी चोक, पुष्पलाल चोक, शिव मन्दिर, जमुनाहा नाका, बागेश्वरी मन्दिर, जिल्ला प्रशासन कार्यालय लगायतका अति संवेदनशिल ठाउँहरुमा यसअघि नै क्यामेरा जडान भएपनि विग्रिएको अवस्थामा थियो ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रदेश प्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा सिसिटिभी क्यामरा सञ्चालनको शुभारम्भ गरेका छन् ।