छाडा पशु : कान्जी हाउस र गौशाला नै विकल्प

बाँके राष्ट्रिय निकुन्जले वन क्षेत्रमा चौपाया छाड्न अवरोध गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले सो बारे विकल्पमा चासो बढाएको छ । खासगरि नेपालगन्ज वडा नं.१३ र वडा नं.२१ मा अत्याधुनिक कान्जी हाउस निर्माणको प्रक्रिया र नेपालगन्ज क्षेत्रमा नै ब्यवस्थित गौशाला निर्माण र संचालनका लागि छलफल अघि बढाएको हो ।

 
‘यसको दीर्घकालीन निकासबारे हामी यसअघि नै विचार गरिसकेकोले बजेट छुट्याउने काम भइसकेको छ’, नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले भनिन्, ‘तबसम्मका लागि निकुन्जले आंशिक रुपमा सहयोग गरोस् भन्ने हाम्रो अपेक्षा हो ।’

 
‘नेपालगन्जमा छाडा चौपाया एउटा प्रमुख समस्याको रुपमा देखिएपछि यस बारे नीति नियम र कार्य योजना बारे तय गर्न सर्वदलीय बैठकको पनि तयारी भइरहेको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उपप्रमुख थापाले भनिन्, ‘हामी दीर्घकालीन निकास खोज्ने क्रममा नै छौं, तर समस्यालाई तत्काल समाधान गर्न दबाव उत्तिकै बढी छ ।’

 
नेपालगन्ज सहित बाँकेको विभिन्न ग्रामीण क्षेत्रमा देखिएको चौपाया समस्या समाधान गर्ने पहल सुरु भएकै बेला बाँके राष्ट्रिय निकुन्जले एक महिला सहित १३ जनालाई थुनामा राखेर कारवाही गरेकोपछि यस बारे नेपालगन्ज उपमहानगरपालिका गम्भीर बनेको छ । नेपालगन्ज स्थित फुल्टेक्रा कान्जी हाउसबाट ५ वटा ट्रकमा चौपाया जंगलमा छाड्न गएको टोलीलाई मंगलबार राती बाँके राष्ट्रिय निकुन्जले अभद्र ब्यवहार गर्दै रातभरि थुनामा राखेर पशु सहित ट्रक फिर्ता गरेको थियो ।

 
‘नेपालगन्जमा दुर्घटना सहितको विषयमा चुनौती बन्दै गएको पशु चौपायालाई जंगलमा छाड्ने अभियानमा यसअघिदेखि नै अवरोध गर्दै आएको बाँके राष्ट्रिय निकुन्जले मंगलवार उपमहानगरपालिका कर्मचारीलाई थुनामा राखेपछि यसबारे नयाँ किसिमबाट विचार गर्नु पर्ने देखियो’, उपप्रमुख थापाले भनिन्, ‘यो तत्कालै समाधान हुने समस्या पनि होइन ।’

 
जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त प्रयासमा चौपाया नियन्त्रणको अभियान अघि सरेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया