अहिलेसम्म विद्युत नपुग्दा बाँके नरैनापुर गाउँपालिकामा कुनैपनि उद्योग स्थापित छैनन्
बाँके नरैनापुर गाउँपालिका आठ वटा स्थानीय तह मध्येको एउटा हो । ३५ हजार जनसंख्याको बासोबास क्षेत्रमा अहिलेसम्म कुनै रोजगारमुलक उद्योग स्थापना हुन सकेका छैन । डिजेल इन्जिनबाट संचालन हुने बाध्यात्मक सामान्य घरेलु उद्योग बाहेक रोजगारमूलक उद्योगको स्थापना राप्तीपारि क्षेत्रमा हुन सकेको छैन । कुल १७२.३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिका उद्योग विहिन अवस्थामा छ ।
गाउँपालिका क्षेत्रको उत्तर तर्फ राप्तीसोनारी गाउँपालिका, दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना जोडिएको छ । गाउँपालिकामा ६ वटा वडा छन् । कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया र गंगापुर गाबिस क्षेत्रलाई समाहित गरेर गाउँपालिका गठन भएको हो । स्थानीय तहको निर्वाचन अघि गाउँमा विद्युत, सडक, रोजगार, शिक्षा, स्वास्थ्य लगायत थुपै्र सन्दर्भमा चर्चा चलेपनि अवस्थामा परिवर्तन आउन सकेको छैन ।
‘निर्वाचनको समयमा विद्युत, सडक, यातायात, उद्योग, कारखानाको चर्चा हुन्छ तर काम हुनै सकेको छैन’, स्थानीय बासिन्दा रमेश गोडिया भन्छन्, ‘विद्युत नभएकै कारण दूध डेरी संचालन गर्ने योजना यत्तिकै रोकिएको छ ।’ पटक–पटक खाडी देशमा काम गरेर फर्केका गोडिया भन्छन्, ‘यहाँ विद्युत मात्रै उपलब्ध भए विभिन्न कारोबारहरु गर्न सकिन्थ्यो ।’ विद्युत नभएका कारण कुनै उद्योग कारखाना संचालन गर्न नसकिएको उनको गुनासो छ ।
रोजगारीका लागि खाडी देश वा भारत जाने चलन विच स्थानीयहरुको चासो विकासमा पनि केन्द्रित छ । भौतिक संरचनाहरु पक्की हुँदै गएका छन् । सडक, नाली सहित अन्य सरकारी संरचना पनि सोही अनुसार बृद्धि भएका छन् ।
मधेसी समुदायको बाहुल्यता रहेको नरैनापुर गाउँपालिकामा पछिल्लो समय ईंटा उत्पादनको काम अघि बढेको छ । गत वर्षबाट नरैनापुर ५ मा केएनजी ईंटा उद्योग स्थापना भएपछि भारतीय क्षेत्रबाट आयात हुने ईंटा बन्द भएको छ ।
ईंटा उद्योग संचालक मेराज अहमद खाँले विद्युतीय आवश्यकता नभएका कारण काम सुरु गरिएको बताए । ‘काठ र कोयलाबाट ईंटा पकाउने काम हुन्छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘त्यस बाहेक अन्य कारोबार गर्न गार्हो छ ।’
‘योजना, सपना र लक्ष्य नभएको होइन, मुख्य चुनौती विद्युत र सडक नै छ’, स्थानीय बासिन्दा सिराज अन्सारीले भने, ‘फर्निचर उद्योग संचालन गर्नका लागि योजना बनाउँदै गर्दा २ वर्ष खाडीमा बसेर फर्केको छु ।’ विभिन्न योजना बुन्दै असुविधाको आधारमा योजनाहरु मनमानै रहने गरेको स्थानीय युवाहरुको गुनासो छ । ‘तरकारी खेतीमा अग्रसरता देखाउँदा पनि बजार सम्म पुर्याउन सडक नभई हुँदैन,’ कटकुईंयाका होली यादव भन्छन्, ‘भारतीय बजारबाट खाद्य सामाग्री संगै तरकारी पनि आयात हुने गरेको छ ।’
गैरसरकारी र सरकारी प्रयासमा स्थानीय बासिन्दालाई विभिन्न तालिम र रोजगारको सम्भावना दिएपनि दीर्घकालिन योजना विना काम अघि बढ्न सकेको छैन । ‘तालिम लिएर प्रयोग गर्ने स्थान छैन’, वडा नं.५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य भन्छन्, ‘अधिकाँश युवाहरु बेरोजगार भएर विदेशी भूमिमा पसिना बगाउनु परेको छ । ’ ‘स्थानीय स्तरमा उद्योग, कारखाना, सडक र विद्युत विस्तार नहुँदा सम्म रोजगारी उत्पन्न गर्न सकिँदैन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै अध्यक्ष मौर्यले भने, ‘यहाँ उत्पादन भएको दूध समेत भारतीय बजारमा बिक्री हुने गरेको छ ।’
नरैनापुर गाउँपालिका क्षेत्रमा विद्युतका लागि विकास बजेटबाट अनुदान गरिएपनि विभिन्न लापरवाहीका कारण हाल सम्म विद्युत पुग्न सकेको छैन । ठेक्का लिएको कम्पनी र विद्युत प्राधिकरण विचको समस्याले गर्दा राप्तीपारिका बासिन्दा सास्ती खेप्दै आएको आरोप छ ।
‘विद्युत विस्तारका लागि पहल भइरहेको छ’, नरैनापुर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत मो.इस्माईल खाँले भने, ‘यसअघि गाबिस हुँदाकै समय देखि अनुदान गरेर विद्युतीकरण पहल थालिएको हो ।’ ‘विभिन्न लापरवाही, उदासीनताले गर्दा विद्युत समयमा विस्तार हुन सकेन,’ खाँले भने, ‘आम नागरिक समेतले पटक पटक चासो देखाउँदा पनि समस्या अझै उस्तै छ ।’ ‘सडक विस्तारै पूरा हुँदैछ’ उनले भने, ‘विद्युतको काम पनि अघि बढ्ने सम्भावनाहरु सुनिएको छ ।’