प्रहरीले रोप्यो हजार विरुवा

नेपालगन्जलाई हरित नगरी बनाउने अभियानमा बाँके प्रहरीले महत्वपूर्ण सुरुवात गरेको छ । त्यसका लागि बुधबार मात्रै नेपालगन्ज–१६ जयसपुर स्थित सीमा प्रहरी चौकी परिसरमा एक हजार विरुवा रोपिएको हो ।

 
‘प्रहरी कार्यालयका खाली ठाउँमा विरुवा रोप्ने अभियान सुरु गरिएको छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङले हरियाली अभियानबारे भने, ‘छिट्टै जमुनाह प्रहरी कार्यालय परिसरमा रहेको १० कठ्ठा जग्गामा पनि वृक्षारोपण गरिनेछ ।’ खजुरा धनौली स्थित इलाका प्रहरी कार्यालय परिसरमा वृक्षारोपणका लागि निर्देशन दिइने जानकारी दिइँदै प्रहरी उपरीक्षक तामाङले भने, ‘जिल्लाभरीका प्रहरी चौकीहरुमा सकेजति वृक्षारोपण अभियान चलाइने छ ।’

 
बुधबार जिल्लाका प्रतिनिधिमूलक ६० बढी व्यक्तित्वहरु वृक्षारोपणमा सहभागी भए । सीमा प्रहरी चौकीको खाली रहेको ४९ कठ्ठा ७ धुर जमिनमा प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी सहित प्रहरी अधिकारीहरु, प्रतिनिधिमूलक व्यवसायिक अगुवाहरुले एकसाथ प्रहरी कर्मचारीहरुको सक्रियतामा एक हजार विरुवा रोपेका हुन् । ‘अधिकांश विरुवा फलफुलका छन्’, प्रहरी आफैले काँडेतार लगाएर जग्गा तयार गरेको जानकारी दिंदै प्रहरी उपरीक्षक तामाङले भने, ‘सागुन लगायतका काठजन्य रुखका विरुवा पनि रोपिएका छन् ।’

 
आँप, लिच्ची, अनार, अम्बा लगायतका फलफुलहरु बढी रोपिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके प्रहरीले आफ्नै अग्रसरतामा सहयोग जुटाएर हरित अभियान सुरु गरेको हो । ‘बर्दिया वनले विरुवामा ठूलो सहयोग गरेको छ’, काँडेतार र पिलरका लागि विभिन्न व्यक्तिहरुसँग सहयोग मागिएको जानकारी दिंदै प्रहरी उपरीक्षक तामाङले भने, ‘जिल्लामा रहेका सबै जसो चौकीहरुलाई वृक्षारोपणका लागि प्रेरित गरिंदैछ ।’

 
कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले प्रहरी अभियानबाट सबैले पाठ सिक्नुपर्ने बताए । उनीहरुले सबैजसो सरकारी कार्यालयदेखि उद्योगी, व्यवसायी, घर परिवारसम्मले खाली जग्गामा वृक्षारोपण गरेर हरियाली ल्याउन सके उजाड नेपालगन्ज हरित नगरमा परिणत हुन बेर नलाग्ने टिप्पणी गरे । ‘हामीले सचेतना अभियानका रुपमा जागरुक बनाउन खोजेका पनि हौं’, प्रहरी उपरीक्षक तामाङले सबैले हरित अभियान चलाउन सके वातावरण अनुकुलतामा निकै फाइदा पुग्ने धारणा राख्दै भने ।

प्रतिक्रिया

प्रतिक्रिया