महानगरको ‘डिपिआर’ बनाउँदै नेपालगन्ज, २५ लाख बजेट

मंगलबार बसेको उपमहानगरपालिकाको बोर्ड बैठकले डिपिआर बनाउन २५ लाख रुपैयाँ बजेट छुट्याउने निर्णय गरेको हो

नेपालगन्जलाई महानगर बनाउने अवधारणा कार्यान्वयनका लागि औपचारिक प्रक्रिया अगाडि बढेको छ । नेपालगन्ज उपमहानगरपालिकाको मंगलबार बसेको बोर्ड बैठकले नेपालगन्ज–कोहलपुर–खजुरालाई एकीकृत गरी महानगर बनाउन औपचारिक प्रक्रिया अगाडि बढाएको हो ।

 
‘त्यसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरिने भएको छ’, नेपालगन्जका नगर प्रमुख डा. धवल समशेर राणाले त्यसका लागि नगर सभाले पनि बाटो खोलिसकेको जानकारी दिंदै भने, ‘महानगरका लागि औपचारिक प्रक्रिया अगाडि बढाइँदैछ ।’

 
नगर प्रमुख डा. राणाका अनुसार, डिपिआरका लागि २५ लाख रुपैयाँ पनि छुट्याउने निर्णय भएको छ । ‘नेपालगन्ज आसपासका सबै स्थानीय तहसँग समन्वय गरी कुन–कुन भुगोललाई महानगरपालिका भित्र गाभ्ने भन्ने स्थलगत अध्ययन गर्न कन्सल्टेन्ट हायर गरिनेछ’, उपप्रमुख उमा थापामगरले भनिन्, ‘यसैसाता कन्सल्टेन्ट हायर प्रक्रिया सुरु गर्ने सहमति बनेको छ ।’ उपमहानगरपालिकाले यसअघि एलजीसिडिपीका नाममा रहेको २५ लाख रुपैयाँलाई रकमान्तर गरी महानगरका लागि काम अगाडि बढाउने भएको हो । प्रदेश ५ मा तीन वटा महानगरको परिकल्पना गरिएकोमा कार्यान्वयनका लागि औपचारिक प्रक्रिया अगाडि बढाउने नेपालगन्ज पहिलो हो ।

 
प्रदेश सरकारले नेपालगन्ज–कोहलपुर, दाङ्गको घोराही–तुल्सीपुर र रुपन्देहीको बुटवल–भैरहवा एकीकरण गरी तीन वटा महानगर परिकल्पना गरेको छ । ‘ग्रेटर नेपालगन्जको अवधारणा निकै पहिले हामीले गरिसकेकाले पनि यो काममा हाम्रो अग्रसरता स्वभाविक हो’, डा. राणाले भने । हालैमात्र दैनिक नेपालगन्जले आफ्नो साप्ताहिक आर्थिक विशेष ‘महानगर’का लागि पहिलो अंकमै नेपालगन्ज, कोहलपुर र खजुराका प्रमुखलाई महानगरको सवालमा एक ठाउँमा राखेर संवाद आयोजना गरेको थियो । संवादमा सहभागी तीन वटै स्थानीय तहका प्रमुखले महानगरको सम्भावनालाई स्वागत गर्दै पहल थाल्न म्यान्डेड दिएको थियो । कोहलपुर र खजुराले महानगरका लागि नेपालगन्जले अग्रसरता लिनुपर्ने धारणा सार्वजनिक गरे लगत्तै मंगलबार बसेको आकस्मिक बैठकले डिपिआरलाई एजेन्डाका रुपमा राखेको हो ।

 
यसैबीच, महानगरको एजेन्डालाई सरकार समक्ष पुर्याउन नगर प्रमुख डा. धवल समशेर राणा आज बुधबार राजधानी काठमाडौं जाँदैछन् । ‘नगरपालिका संघको बैठकमा नेपालगन्ज महानगर एउटा एजेन्डा हो’, उपप्रमुख थापाले दैनिक नेपालगन्ज भनिन्, ‘मंगलबार मात्रै नगरपालिका संघको प्रादेशिक समितिले प्रदेश ५ का तीन वटा प्रस्तावित महानगरको कार्यान्वयनमा केन्द्र सरकारले सहयोगको ठोस पहल थाल्न केन्द्रीय संघ मार्फत ज्ञापन पत्र बुझाउने निर्णय भएको छ ।’ थापा नगरपालिका संघ प्रदेश ५ की सहसंयोजक हुन् । मंगलबार संघको प्रदेश बैठक बुटवलमा बसेको थियो भने आज संघको केन्द्रीय बैठक राजधानी काठमाडौंमा बस्दैछ । नेपालगन्ज उपमहानगरपालिकाको मंगलबार बसेको बैठकले करार कर्मचारीबारे पनि आवश्यक निर्णय लिएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया