मार्च ४, १८१६ मा नेपाल र ब्रिटिस इन्डियाबीच सुगौली सन्धी भयो । त्यो बेला नेपालले धेरै भुभाग गुमाउन पुग्यो । पुर्वको टिष्टादेखि पश्चिमको काँगडासम्मको भुभाग सुम्पिएरै नेपालले अंग्रेजसँग सम्झौता गरेको थियो ।
वि.सं. १९०३ मा कोतपर्व र भण्डारखाल पर्वपछि जब जंगबहादुर राणाले सम्पुर्ण अधिकार हरण गरी शक्ति आफ्नो हातमा लिए, नेपालमा राणा शासनको उदय भयो । उता भारतमा अंग्रेजको शासन निरन्तरता थियो । चेतनाको बिस्तारसँगै भारतीयहरु अंग्रेजविरुद्ध मोर्चाबन्दी सुरु गरिसकेका थिए, स्वतन्त्रताको विगुल फुकिसकेका थिए । त्यतिबेला भारतीय स्वतन्त्रता संग्रामको गदर आन्दोलन (लखनउ विद्रोह) दबाउन जंगबहादुरले ब्रिटीस इन्डिया कम्पनीलाई सहयोग गरे । सहयोगको बदलामा गुन तिर्न अंग्रेज सरकारले ४४ बर्षपछि जंगबहादुर राणाको नेतृत्वको नेपाल सरकारलाई उपहार स्वरुप बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी चार जिल्ला फिर्ता दिएको हो ।
नयाँ मुलुकका रुपमा प्राप्त चार जिल्लामध्ये जंगबहादुरले बाँके जिल्ला अन्तर्गत रहेको पुरानो बस्तीलाई नेपालगन्ज नामाकरण गर्दै शहरीकरण सुरु गरेका हुन् । काठमाडौं, ललितपुर भक्तपुर, पोखरा र पाल्पापछिको छैठौं शहर हो नेपालगन्ज । पुर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको समतल तराईको पहिलो शहर । तत्कालीन शक्तिशाली शासक जंगबहादुरको रोजाइमा यो शहर पर्नुका पछाडि पक्कै यसको धार्मिक, सांस्कृतिक, ऐतिहासिक पृष्ठभुमि लुकेको बुझ्न सकिन्छ । यसर्थ शहरीकरण हुनु अघि नै यहाँ मानव बस्ती थियो भनेर दाबी गर्नेहरुको तर्क जायज छ । किनकी बाँके गाउँ, करमोहना, जैसपुर आदि त्यतिबेला नै अस्तित्वमा थिए । उता भारततर्फ बाबागञ्ज, नवाबगञ्ज, इमामगञ्ज आदि नाम रहनुले नेपालगन्ज पनि त्यतिबेलैदेखि रहन गएको हो या त्यसकै प्रभावमा जंगबहादुरले नै नामाकरण गरे भन्ने बहस र छलफलको बिषय अहिले पनि यथावत छ ।
जे होस् नेपालगन्जको अर्थ नेपालकै केन्द्र भन्ने हो । नेपाल भनेपछि सिंगो देश र गन्ज अर्थात मुकाम (बजार)। देशकै मुकामका रुपमा तत्कालीन शासकले नेपालगन्जलाई स्थापित गर्न खोज्नु चाहिं नेपालगन्जको आकर्षण, सम्भावना र भबिष्यसँग जोडिएको छ भन्ने नै हो ।
त्यतिबेला काठमाडौं, ललितपुर र भक्तपुरसहितको उपत्यकालाई नै नेपाल भनिन्थ्यो । देशका बिभिन्न भुभागबाट प्रशासकीय कामका लागि जानुपर्ने ठाउँ राजधानीलाई सबैले नेपाल जाने भन्थे । त्यस्तो बेला नेपालगन्ज नाम राखेर शक्तिशाली शासक जंगबहादुरले यस ठाउँलाई ठुलो महत्व दिएको इतिहासका अध्येता सच्चिदानन्द चौबे बताउँछन् । यस हिसाबले नेपालगन्ज पौराणिक कालदेखि नै अस्तित्वमा रहेको पवित्र स्थल हो । शक्तिपीठ बागेश्वरीका कारण पनि यो निकै पुरानो ठाउँ भएको अनुमान गर्न सकिन्छ ।
नेपालगन्ज शहर बन्नुअघि यहाँको व्यापार थलो सिंधनीयाघाट थियो । त्यसपछि मौसमी बजार जयसपुरमा हुने गरेको अवधि साहित्यका अगुवा चौबेको भनाइ छ । सन् १८६० देखि सहर निर्माणको सुरुवात भयो । भारत उत्तरप्रदेशको राजधानी लखनउ मोडलमा नेपालगन्ज शहर निर्माण गरियो । आवाद गर्नका लागि अवधका बिभिन्न सहरका व्यापारीलाई राज्यले सहुलियत दिएर निम्त्यायो । यसरी शहरीकरण सुरु भएको हो ।
केन्द्रबाट पठाइएका पद्यनाथ जोशीको योजनामा सदरलाइनमा बनेका ३६० घरलाई ३६ कोठिया भनिन्थ्यो । जैसपुरको अस्थायी हाटबजारबाट स्थायी बजार नेपालगन्ज सारेपछि यहाँ दुई थरी व्यापारी भए सदरिया र मुग्लानिया । सदरियाले स्थायी घरजम नेपालमं गर्ने भएको हुँदा उनीहरुलाई राज्यले घर उपलब्ध गरायो, कारोबारमा भन्सार शुल्क पनि कम लगाउँथ्यो । मुग्लानिया भने सिजनल अस्थायी व्यापार गरेर फर्कने हुँदा तिनको व्यापारमा भन्सार शुल्क ज्यादा हुन्थ्यो । जंगल क्रमशः फाँडिदै गए । खाली जमिन उर्वरा खेतिमा फेरिंदै गयो । सरकारी कर्मचारी पनि आउन थाले । घरबारीटोल आवासीय क्षेत्र (रेजिन्डेन्सल एरिया) बन्न थाल्यो भने फुल्टेक्रा राणाहरुको बस्ती बन्यो । सदरलाइन व्यापारिक थलो । गडरियनपुर र बाँके गाउँ पनि क्रमिक रुपमा बिस्तार भयो । चन्द्रशमसेरले बिराटनगर शहर बसाल्ने बेला नाम नेपालगन्ज राख्न खोजेका रहेछन् । पछि कसैले नेपालगन्ज त पश्चिममा बनिसकेको बताएपछि नाम बिराटनगर नामाकरण गरिएको अग्रज साहित्यकार सनत रेग्मीले आफ्नो आलेखमा उल्लेख गरेका छन् ।
नेपालगन्ज सम्झिने बित्तिकै हरेक मानिसका मनमस्तिष्कमा आउने भनेकै यहाँको गर्मी हो, तातो हावा हो । नेपालकै सर्वाधिक गर्मी हुने ठाउँ भनेर चिनिएको नेपालगन्ज राजधानी काठमाडौंदेखि २२७ माइल टाढा छ । नगरबाट उपमहानगर बनाउन उदयपुर, भवानियापुर, पिप्रहवा, जयसपुर, परसपुर, इन्द्रपुर, खासकारकादो, बसुदेवपुर, मनिकापुर र पुरैना लगायत साविकका गाविसलाई मिलाइयो । पछि उपमहानगरमा जानकी गाविस र हिरमिनिया गाविसको केही वडाहरुलाई पनि जोडिएको थियो ।
विविध जातजाति र धर्मावलम्बीहरुको बसोबास रहेको नेपालकै पुरानोमध्येको यो शहर यतिबेला महानगरोन्मुख दिशामा छ । गर्मी र तातो हावालाई यहाँको सभ्यता, रहनसहन, खानपान र संस्कृति लगायत तमाम चिजले ओझेल पारिदिएको छ । महानगर बन्न आवश्यक पुर्वाधारहरु खडा गर्दै अघि बढेको नेपालगन्ज कुनैबेला मध्य र सुदुरपश्चिमका २४ जिल्लाको केन्द्र हो । संसारकै ध्यानाकृष्ट गराउन सफल विश्वकपको फाइनल खेल सञ्चालन भएको लुजनिकी स्टेडियम रुसको प्रमुख शहर मस्कोमा अवस्थित छ । सात महिना अध्यधिक चिसो हुने मस्कोमा प्रायः मानिसका अनुहार रिसाए झैं देखिने विश्वकप सम्बन्धी एक आलेखमा उल्लेख छ । यता सात महिना गर्मी हुने नेपालकै पुरानोमध्येको शहर नेपालगन्जका नागरिकमा भने कहिल्यै बेखुशी बेचैनी देखिंदैन । ‘यो त सम्भावनानै सम्भावनाको शहर हो ।’ पत्रकार शंकर खनाल भन्छन् ।
अधिकार र पहिचानको लडार्इंमा नेपालगन्ज कहिल्यै अग्रमोर्चामा रहेन । तसर्थ भन्न सकिन्छ –‘नेपालगन्ज असन्तुष्ट छैन, यो साना साना कुरामा पनि खुशी हुने शहर हो, सबैलाई खुशी बाँड्ने शहर हो ।’ किनकी यहाँको बिशेषता पनि त्यस्तै त्यस्तै छ । सडक खानादेखि सुलभ यातायातका साधन टांगा, रिक्सा सबैको मन राखिदिने माध्यम बनेको छ । सडकदेखि महलसम्मको आवश्यकता पुरा गरीदिने शहर बनेको छ नेपालगन्ज । त्यसैले यो झुपडीदेखि महलसम्म रहेको शहर हो । दैनिक मजदुरी गर्नेदेखि उद्योग धन्दा सञ्चालकहरुको शहर हो । ठेला मजदुरी गर्नेदेखि देशकै नाम चलेको ठुला उत्पादक कम्पनीहरुका उद्योग यहाँ सञ्चालनमा छन् । तीन दर्जन बढी उच्च शिक्षा प्रदान गरिरहेका शैक्षिक संस्था छन् । जसमा नेपालगन्ज मेडिकल कलेजदेखि इन्जिनियरिङसहित प्राविधिक कक्षा सञ्चालन गरिरहेका दर्जन शैक्षिक संस्था छन् ।
पौराणिक कालमा राजा महाराजा र ऋषिमुनिले यातायातका साधनका रुपमा घोडा टांगा रथ प्रयोग गर्थे । यतिबेला अस्तित्वको संघर्षमा रहेको टांगा नेपालगन्जको खास पहिचान हो । यसले पनि नेपालगन्ज धेरै पुरानो बस्ती हुनसक्ने अनुमान छ । यद्यपी यो सत्य हो, नेपालगन्ज राजधानी काठमाडौं, ललितपुर र भक्तपुर, पोखरा र पाल्पापछि सरकारले व्यवस्थित बसाएको नेपालकै छैटौं पुरानो शहर हो । पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको समतल तराईको यो पहिलो शहर रहेको बिभिन्न दस्तावेजमा उल्लेख छ । भारतको उत्तरप्रदेश अन्तर्गत बहराइच जिल्लासँग सिमाना जोडिएका कारण यो सिमावर्ती शहर हो ।
७३ हजार जनसंख्यासहितको पश्चिम नेपालको एक समय व्यापारिक केन्द्र रहेको व्यस्त शहर नेपालगन्ज चेतना र राजनीतिको मुल थलो पनि हो । यहाँबाट फैलिएको चिन्तनले मध्य र सुदुरपश्चिमका २४ जिल्लाको सोंच निर्माण गथ्र्यो एक समय । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस शिक्षाको दियो जलाउने थलो हो, जसले २४ जिल्लालाई प्रभावित पारिरह्यो लामो समय । साथै नेपालगन्ज विविध धर्म र संस्कृतिको साझा थलो पनि हो । चर्चित बागेश्वरी मन्दिर यहीं अवस्थित छ, साथैं संसारकै एकमात्र जुंगे महादेवको मूर्ति पनि यहीं खडा छ । मस्जिद छ, गुम्बा छ, गुरुद्धारा छ, चर्च पनि छ । त्यसैले त ३४ प्रतिशत मधेसी, १८ प्रतिशत थारु, २० प्रतिशत मुस्लिम र २८ प्रतिशत पहाडी समुदायको बसोबास रहेको नेपालगन्ज सद्भावको शहर हो । चेतनाको हिसाबले नेपालगन्ज जहिल्यै अग्रपंक्तिमा रहँदै आएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, व्यापार र राजनीतिक क्षेत्रमा नेपालगन्जले आफ्नो अलग अस्तित्व तयार गरेको छ ।
२००७ सालको क्रान्तिमा उल्लेख्य योगदान पुराउने दिलमानसिंह थापा, श्याम तामांग, सर्वज्ञमान श्रेष्ठ, गोपालबहादुर कर्माचार्य, गोपालबहादुर श्रेष्ठ, गणेशबहादुर कर्माचार्य, बदलुराम हलवाई, जनकबहादुर कर्माचार्य, मदनबहादुर श्रेष्ठहरु नाम नबिर्सने सुचिमा छ । पछि रणेन्द्र हमाल भाइराजा पनि बीपी कोइरालाको सानिध्यमा रहेका नेपालगन्जका राजनीतिज्ञ हुन् । कर्मथलो नेपालगन्ज बनाएका सुशील कोइराला नेपालको इतिहासमा प्रधानमन्त्री बन्न सफल भइ राष्ट्रिय एरिनामा नेपालगन्जलाई स्थापित गराए ।
शिक्षाको क्षेत्रमा नारायण चौधरी र औतारद्दिन चौधराइन तथा मंगलप्रसाद माडसाबको नाम नेपालगन्जले कदापि बिर्सन नसक्ने नाम हो । नारायण उच्च मावि र मंगलप्रसाद मावि अझैं त्यसका साक्षी छन् । नारायणकै बिस्तारित रुप महेन्द्र बहुमुखी क्याम्पस हो, जुन मध्य र सुदुरपश्चिमको शिक्षाको ज्योति फैलाउन सफल शिक्षण संस्था हो । नीजि क्षेत्रबाट सञ्चालित एञ्जल्स हाइस्कुल पहिलो हो । जुन घरबारीटोलमा छ ।
साहित्यकार इन्द्रमणि मानव, बी.विकास, नन्दराम लम्साल, सनत रेग्मी हुँदै रेशम बिरही र नयनराज पाण्डेले अक्षरमार्फत नेपालगन्जको खुब प्रवद्र्धन गरेका छन् । उनीहरुमात्र हैन, उर्दु साहित्यमा अब्दुल लतिफ सौक, मो. खयाली साब, आरिफ माडसाब, गौर साहव र अवधि साहित्यमा सच्चिदानन्द चौवेले नेपालगन्जलाई सम्झन योग्य बनाएका छन् । बिष्णुलाल कुमाल पनि त्यो दौडमा छन् ।
उद्योग व्यवसायतर्फ टण्डन परिवार नेपालगन्जको ब्राण्ड बन्यो । एक समय थियो नुनदेखि सुनसम्म उनीहरुकै एकाधिकार रह्यो । खेलकुद क्षेत्रमा रतन टण्डन र समग्र टण्डन परिवारको योगदान नेपालगन्जले कदापि भुल्न सक्दैन । नेपालगन्जले तीन ओलम्पियन जन्माएको छ । ओलम्पियन सुरेन्द्र हमाल, पार्वती थापा र अनिता श्रेष्ठ । सबै आआफ्ना विधाका कीर्तिमानी खेलाडी हुन् । घरवारीटोल निवासी यी तीनै जना आआफ्ना विधाका कीर्तिमानी खेलाडी हुन् । हमालको एशियाली कास्यपदक नेपाली भारोत्तोलनकै अहिलेसम्मको वजिलो पदक हो । उता सुटिङकी पार्वती थापा नेपालकी पहिलो महिला ओलम्पियनका रुपमा आफ्नो नाम दर्ज गराउन सफल भइन् भने सुटिङकै अनिताले श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एशियाली खेलकुदमा जितेको स्वर्ण नेपाली महिला खेलाडीका निम्ति पहिलो थियो भने सुटिङका लागि हालसम्मकै एकमात्र पदक हो । मुश्लिम समुदायबाट खेलकुदमा प्रभुत्व जमाउन सफल समसुद्धिन सिद्दीकीले पनि दक्षिण एशियाली खेकलुदमा दर्जन बढी पदक जिते । जुन नेपालगन्जका लागि गर्वको बिषय हो । भलिबलमा एकैपटक चार जनासम्म राष्ट्रिय टिममा अटाउने अवस्था थियो, साथै महिला क्रिकेटमा पनि सात जनासम्म एकैपटक राष्ट्रिय टिममा स्थान पाएको यथार्थ हामी सामु छ । नेपालगन्जकै नेरी थापा नेपाली महिला क्रिकेट टिमको पहिलो कप्तान हुन् ।
जसरी विकास र समृद्धिको सन्देश प्रवाह गर्न हरेक ठुला शहरले खेलकुद प्रतियोगिता आयोजना गर्ने गर्छन्, नेपालगन्ज त्यो दौडमा पनि पछि छैन । चौथो बृहत राष्ट्रिय खेलकुद आयोजना गरिसकेको नेपालगन्ज फेरि आठौं राष्ट्रिय खेलकुद आयोजनाको लागि तयार छ । पाँच संस्करण पुरा गरिसकेको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबललाई दक्षिण एशियाली स्तरको बनाउने तयारी यो शहरले गर्दैछ । उता तीन संस्करण पुरा गरिसकेका नेपालगन्ज म्याराथन र नेपालगन्ज गोल्डकप फुटबल पनि अर्का परिचय बनिसकेका छन् ।
८५.९४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको नेपालगन्ज शिक्षा, स्वास्थ्य, खेलकुद र राजनीतिको हब बनिसकेको छ । अन्तर्राष्ट्रिय स्तरकै नेपालगन्ज विमानस्थल छ । भारत उत्तरप्रदेशको राजधानी लखनउलाई जोड्ने चारलेनको चौडा सडक निर्माण भइसकेको छ । र, भित्री सडकहरु पनि द्रुत गतिमा बिस्तार भइरहेका छन् । सडक नै विकासको मुल मन्त्र रहेकोमा मेयर डा. धवलशमसेर राणा ढुक्क छन् । उनी भन्छन्–‘नेपालगन्जले चाडै मुहार फेरिसक्नेछ ।’ पहिलो कार्यकालमा विकासको छनक दिएका राणा भौतिक पुर्वाधार निर्माणमा जोड दिइरहेका छन् । पर्यटकीय गन्तब्य बनाउने क्रममा फेरि उनी रानी तलाउ, वाटरपार्क, कान्ति ताललगायत बिभिन्न ठाउँमा हरियाली पार्क निर्माणमा काम गरिरहेका छन् । रेलमार्ग बन्ने आधारशीला तयार हुँदै गरेको छ भने औद्योगिक शहरका रुपमा परिचय बनाएको नेपालगन्ज पछिल्लो समय ट्रान्जिट प्वाइन्टका रुपमा आफुलाई स्थापित गर्ने तयारीमा छ ।
हवाइरुटले नेपालगन्ज र भारतको राजधानी नयाँदिल्ली जोड्दैछ । यसले पनि यहाँको विकासमा कोशेढुंगा सावित हुनेछ । किनकी यो पश्चिम नेपालको प्रवेशद्वार नै हो । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर मानसरोवर, स्वर्गद्धारी, देउती बज्यै लगायत रारा ताल, शेफोक्सुन्डो ताल लगायत प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न आउने पर्यटकहरुलाई नेपालगन्जले नै पहिलो आतिथ्यता दिन्छ । यसका लागि निर्मित चार तारे होटलहरुको सुचि हेर्दा पनि शिक्षित बेरोजगारी कम गर्ने दिशामा नेपालगन्जको यात्रा अघि बढेको छ । शैक्षिक संस्थाहरुको स्तरीकरण, फस्टाउँदो स्वास्थ्य व्यवसाय र उद्योग कलकारखानाको बृद्धिले रोजगारीका तमाम अवसर सिर्जना हुँदैछन् । स्वास्थ्य, शिक्षा, उद्योग र होटलका कारण धेरै रोजगार र स्वरोजगार बढ्दैछ, जुन महानगरका लागि अत्यावश्यक छ । समग्रमा विकास पुर्वाधारका अलावा रोजगारका पर्याप्त अवसर महानगरका लागि अर्को शर्त हो ।
र, एउटा शहरलाई चिनाउने धेरै विधाहरु सक्रिय बन्दैछन् । खेलकुद, सिनेमा र साहित्य कुनै पनि शहरको समृद्धि देखाउने माध्यम हो । २०७१ पुस २८ गते उपमहानगरपालिका घोषित नेपालगन्जले खेलकुदमा प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल, नेपालगन्ज म्याराथन र नेपालगन्ज गोल्डकप फुटबललाई निरन्तरता दिएको छ । यसको अभिभावकत्व उपमहानगरले लिन जरुरी छ । उता सिनेमातर्फ नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करणको तयारीमा छ भने नेपालगन्ज साहित्य उत्सव पनि निरन्तरताको तयारीमा छ । यी सब ठुला इभेन्टहरुमा उपमहानगरले अपनत्व महसुस गरि अभिभावकत्व ग्रहण गर्न सके निरन्तरताको आधारशीला तयार हुन सक्ने जानकारहरु बताउँछन् ।
नेपालगन्ज नभइदिएको भए आफुभित्र लेखकीय चेत जागृत नहुने साहित्यकार नयनराज पाण्डेले बताए झैं धेरै मान्छेलाई नेपालगन्जले दिशानिर्देश गरेको छ । र, नेपालगन्ज प्रदेश राजधानी नबन्दा पनि सबैले सम्भावनाको खोजी गरिरहेका छन् । महानगर सबैको आम सपना हो । आधुनिक शहरका लागि क्युएफएक्स सिनेमा, फुटसल, पौडी पोखरी र अत्याधुनिक हेल्थ जिम क्लब पनि थप सुन्दर पक्ष हुन् । यहाँको मिठो राबडी, स्वादिलो चाट र बिरयानीले सबैको मन जितेकै छ । जनसंख्या, भौगोलिकता, भौतिक पुर्वाधार र विकास निर्माणको माहोल हेर्दा तातो हावा र मिठो गर्मीले भरिएको नेपालगन्जको महानगर उडानले चाँडै सार्थकता पाउने अपेक्षा गर्न सकिन्छ ।