नेपाली मुल्यको टिकलाई भारतीय मुल्यमा बिक्री गरेको खुलासा
सिमा क्षेत्रमा प्रहरीबाटै नेपाली यात्री लुटिने गरेको तथ्य निरन्तर सार्वजनिक भइरहँदा पनि सो अपराध नियन्त्रणमा आउन सकेको छैन । हिमाली पहाडी जिल्लाबाट भारत जाँदा नेपालगन्ज नाका प्रयोग गर्ने यात्रीबाट नेपालगन्जको केहि होटेल र यातायात एजेन्सीले आवश्यकता भन्दा बढी रकम असूल गरिहेको तथ्य बारे समाचार प्रकाशित हुँदै आएपनि कारवाही अघि बढ्न सकेको छैन ।
सिमा क्षेत्रबाट भारतीय सहर, शिमला, देहरादून, हरिद्वार, लखनउ, लुधियाना, अमृतसर जस्ता स्थानमा मजदुरीका लागि जाने आम नेपाली नागरिकहरु नेपालगन्ज होटेल देखि यातायात एजेन्सी सम्म लुटिने गरेको तथ्य प्राप्त भएको हो ।
५ सय रुपैयाँ मात्र भाडा पर्ने कोठाको १७ सय र ८ सय रुपैयाँ पर्ने स्थानको भाडा १ हजार ४ सय रुपैयाँ असूल गरेर सिमा क्षेत्रमा ठगी हुँदै आएको हो । यातायात ब्यवसायीबाटै सेटिङ गरेर यात्रीलाई होटलमा लैजाने र त्यहाँबाट भारतीय यातायात ब्यवसायी संग साँठगाँठ गरी मोटो कमिशनको खेलमा संलग्न रहेको बारे कारवाही गर्न बाँके प्रहरी मौन देखिएको हो ।
जमुनाहामा स्थापित पब्लिक मेट्रो सर्भिस प्रालि र स्वर्गद्वारी यातायात सेवा प्रालिले भारतीय क्षेत्रमा यातायात संचालन गर्दै आएका छन् । भारतीय क्षेत्रमा मात्र हैन नेपाली क्षेत्रमा पनि चर्को भाडा तिर्नु परेको यात्रीको गुनासो छ । पहाडी जिल्लाबाट आउँदा नेपालगन्जमा नै रात पर्ने भएपछि होटेलमा बस्ने र अर्को दिन मात्र भारतीय क्षेत्रको यात्रा तय गर्ने यात्रीलाई होटेलदेखि नेपाली यातायातका साधनमा समेत लूटपाट गरिँदै आएको यात्रीको गुनासो छ ।
सल्यान बस्ने मणिराम काफ्ले शिमला जाँदा १४ रुपैया तिर्नु परेको बताए । टिकटमा नेपाली रुपैयाँ उल्लेख रहेको पब्लिक मेट्रो प्रालिका प्रतिनिधिले जानकारी दिए । तर, यात्री काफ्लेले आफुले भारतीय रुपैयाँ तिर्नु परेको बताउँछन् ।
‘नेपालगन्ज बसपार्क स्थित रुक्मेली होटलमा बसेका काफ्ले सहितका १३ जनाले सोही दरले रकम तिरेको बताए । हामीलाई भारतीय रुपैया भनिएको छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै उनले भने, ‘नेपाली रुपैयाँ दररेटबारे हामीलाई जानकारी छैन ।’ रुक्मेली होटल संचालकले नै आफुहरुलाई पब्लिक मेट्रो सर्भिसमा सुम्पेको काफ्ले बताए । ‘साहुजी आफै यातायात एजेन्सीमा आएका थिए’, उनले भने, ‘मिलोमतो बारे जानकारी भएन ।’
जमुनाहा स्थित स्वर्गद्वारी र पब्लिक मेट्रो सर्भिसले भारतीय क्षेत्रमा यातायातको साधन संचालन गर्दै आएका छन् । ५० सिट भएको फोर्स गाडीमा ८० जनालाई यात्रा गर्न बाध्य पार्ने एजेन्सी बारे बाँके प्रहरीले थालेको अनुसन्धान पनि फितलो पाइएको छ । घटनामा संलग्नताको आधारमा इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी हवल्दार मान बहादुर अधिकारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धानको लागि झिकाएको बताउँदै आएको छ ।
अनुसन्धानका लागि गठन गरेको समितिको संयोजक रन्जन स्वाँर ढुंगा तस्करीमा संलग्न रहेको जिल्ला वन कार्यालय बाँके र इलाका वन कार्यालय नरैनापुरले प्रमाणित गरेपछि जाँच प्रतिवेदन नै आशंकाको दायरामा पसेको छ । अनुसन्धान जाँच समितिको संयोजकमा तोकिएका प्रहरी निरीक्षक स्वाँरले सिमाक्षेत्रबाट हवल्दार अधिकारीले १५ देखि ३० हजार रुपैयाँ असुल गरेको नभई भारतीय रुपैयाँ सटही गर्न गएको प्रतिवेदन पेश गरेका छन् । अनुसन्धान र प्रतिवेदनमा ब्यापक हेरफेर भएको तथ्यमा श्रोतको दावी आइरहँदा वन कार्यालयले स्वाँर माथि ढुंगा तस्करीको विषयमा अनुसन्धान अघि बढाउने भएको छ ।