नेपालगन्जमा करोडबढी लगानीमा अत्याधुनिक फिटनेस सेन्टर शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
हेल्थ बेनिफिटनेस प्रा.लि.ले करोड बढीको लगानीमा फिटनेस सेन्टर सञ्चालनमा ल्याएको हो । ‘५० लाख बढीको उपकरण मात्रै खरिद गरिएको छ’, हेल्थ बेनिफिटनेसका सञ्चालक बिनि टण्डनले दैनिक नेपालगन्जसँग भनिन्, ‘नेपालगन्जका लागि यो अहिलेसम्मकै अत्याधुनिक र सुविधासम्पन्न फिटनेस सेन्टर हो ।’
झण्डै ३ करोड लागत अनुमान गरिएको हेल्थ बेनिफिटनेसमा ५ जना प्रशिक्षकले स्वास्थ्य प्रशिक्षणदेखि व्यायाम र उपकरणको प्रयोगबाट स्वस्थ बन्ने प्रक्रियाहरु सिकाउनेछन् । ‘यो जीम खानामात्रै होइन’, सञ्चालक बिनिले भनिन्, ‘म मानिसको ढाँचा नै परिवर्तन गर्न सक्छु भन्ने अभिप्रायका साथ स्वास्थ्य सचेतना अभियानमा लागेकी हुँ ।’ उनले ५ देखि २० किलोसम्म तौल घटाउने आफ्नो कोर्ष देखाउँदै भनिन्, ‘दैनिक १ सय रुपैयाँ खर्च गरेर तपाईको जीवन स्वस्थ रहन्छ भने यो भन्दा सुविधा अरु केही हुनसक्दैन ।’
कार्डियोका लागि सबै प्रकारका उपकरण भित्र्याइसकेको हेल्थ बेनि फिटनेसले ९ हजार इक्वायर फिटमा बनेको फिटनेस सेन्टरभित्र जीमका नियमित बाहेक स्टिम बाथ, जुमा डान्स, एरोबिक्ससम्मका सुविधाहरु थप गरेको सञ्चालक बिनिले जानकारी दिइन् । ‘फिटनेस एरिया पुरै हाइजेनिक हुनेछ’, वातानुकुलित भवन भित्र सरसफाईलाई विशेष ख्याल गरिएको जानकारी दिंदै बिनिले भनिन्, ‘तपाई कार्यालयबाट आएर होस् वा कार्यालय जानु अघि फिटनेस सेन्टरको उपयोग गर्न सक्नुहुन्छ ।’ उनको भनाइ थियो, ‘चेन्जिङ्ग रुमदेखि बाथरुमसम्मका सुविधासँगै लकरको व्यवस्था गरिएकाले आफ्ना आवश्यक कपडाहरु सुरक्षित र व्यवस्थित राख्न सकिनेछन् ।’
सानै उमेरदेखिका बालबालिकालाई मार्सल आर्टदेखि शारीरिक व्यायामका सबै आयाम सिकाउने तयारी गरिरहेकी बिनिले ज्येष्ठ नागरिकका लागि ‘वाकिङ्ग पार्क’ बनाउन लागिएको जानकारी दिइन् । ‘६० भन्दामाथि उमेर समूहका सबै ज्येष्ठ नागरिकलाई एक किलोमिटर बढी नियमित निःशुल्क वाकिङ्ग गर्न मिल्ने पार्क निर्माण गरिंदैछ’, बिनिले फिटनेस सेन्टरमा पनि ठूलाबढाले मात्र नभई जोकसैले पनि लिन सक्ने गरी शुल्क निर्धारण गरिएको दाबी गरिन् ।
मासिकदेखि बार्षिकसम्मका शुल्कमा फिटनेस सेवा उपयोगिता व्यवस्था मिलाएको हेल्थ बेनिफिटनेसले हाइजेनिक खानाका लागि क्यान्टिन समेतको गर्ने सञ्चालक बिनिले जानकारी दिइन् । फिटनेस सेन्टरको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले औपचारिक कार्यक्रम बीच उद्घाटन गरेका थिए ।