‘संघीयता धान्न व्यवसायीलाई करको भार थपियो’

गाउँगाउँमा सिंह दरबार होइन, बाघ दरबारमात्र आयो : व्यवसायी

‘मुलुकमा संघीय व्यवस्था आयो । तर, हाम्रा लागि करको भारी झनै थपिदियो’, सोमबार नेपालगन्जमा आयोजित नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसन (एनइए) बाँकेको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभामा व्यवसायीहरुले असन्तुष्टि पोखे ।

 
‘तीन तहका सरकारको करको भार हामीले नै बोक्नु परिरहेको छ’, व्यवसायीहरुको धारणा थियो, ‘स्थानीय सरकारले मनोमानी कर वृद्धि गर्दा व्यवसायीहरु थेग्न नसक्ने अवस्थामा छन् ।’ साना र ठूला पूँजी भएका व्यवसायीलाई एकै किसिमको करको दर निर्धारण गरिएकोमा भन्दै उनीहरुले पूँजी अनुसार कर निर्धारणको व्यवस्था गरिनुपर्ने धारणा राखे ।

 
राज्यको खर्च धान्ने व्यवसायीहरुको भूमिकाको सरकारले कहिल्यै मूल्यांकन गर्न नसकेको उल्लेख गर्ने कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले भने, ‘हामीमाथि सरकारले करदाता बाहेक अर्को व्यवहार गर्न सकेन ।’ उनले व्यवसायीहरुलाई राजनीतिक दलले चन्दादाता, उम्मेदवारले मतदाताको रुपमा मात्रै लिएकाले उद्योगी, व्यवसायी सधै समस्यामा पर्ने बताए । ‘हाम्रा मुद्दाहरुमा सरकार चासो देखाउन चाहँदैन’, अध्यक्ष वैश्यले भने, ‘त्यसैले दबाब सिर्जना गर्न देशभरका व्यवसायीले एक भएर आफ्ना मुद्दाहरुको सम्बोधनका लागि सरकारलाई दबाब दिन आवश्यक छ ।’

 
‘आन्तरिक राजश्व, भन्सारको टार्गेट हामी पूरा गर्छौ’, अध्यक्ष वैश्यले भने, ‘तर, तिनै कार्यालयले व्यवसायीलाई चेकजाँचका नाममा सताउने गरिन्छ ।’ अध्यक्ष वैश्यले यद्यपि, सम्बन्धित कार्यालयमा गुनासो पछि नेपालगन्जमा भने त्यो प्रवृत्ति कम भएको बताए । उनले एक बर्ष नविकरण नगर्दा दर्ता नै खारेज गर्ने वाणिज्य कार्यालयको नियम सरकारले बदल्न माग गरे । ‘त्यसका लागि महासंघबाट पनि पहल भैरहेको छ’, अध्यक्ष वैश्यले भने ।

 
एग्रोभेट व्यवसायी संघका अध्यक्ष रमेश बहादुर शाहले गाउँगाउँमा सिंह दरबार व्यवसायीका लागि नारामा मात्रै सीमित भएको बताए । ‘हाम्रा लागि अर्थमन्त्रालय बसेको बागदरबार मात्रै आयो’, शाहले भने, ‘हामीले सिंहदरबारको अनुभूति गर्न सकेनौं ।’ उनले संघीयताका नाममा तीन तहले कर बढाउने मात्रै काम गरेको बताए ।

 
अध्यक्ष शाहले कर निर्धारण गर्दा वस्तुगत संघलाई सहभागी नगराउने गरेको भन्दै स्थानीय तह प्रति असन्तुष्टि व्यक्त गरे । ‘स्थानीय सरकारले जे मन लाग्यो त्यही गरिरहेको छ’, शाहले मनोमानी कर निर्धारणले व्यवसायी पर्ने असरबारे स्थानीय सरकारले ध्यान नदिएको गुनासो गर्दै भने ।

 
‘हरेक बर्ष कर बढ्छ, बैंकले मनपरी ब्याज बढाउँछ’, अध्यक्ष शाहले भने, ‘व्यवसाय बढ्दैन, नाफा बढ्दैन अनि कसरी टिक्ने ।’ अध्यक्ष शाहले १०÷१२ वटा वस्तुगत संघ हुँदा महासंघले गरेको सदस्यको व्यवस्था अहिले ३० कट्दा पनि उही रहेको भन्दै वस्तुगतको महासंघमा सदस्य संख्या बढाउन आग्रह गरे ।

 
एनइएका महासचिव चिरञ्जीवि ओलीले इलेक्ट्रोनिक्स व्यवसाय अनिवार्य मुअकरमा दर्ता हुनुपर्ने सरकारी नीति अव्यवहारिक भएको बताए । ‘स–सानो पूँजीबाट व्यवसाय गरिरहेकाहरुलाई मुअकरमा जानुपर्दा अनावश्यक झन्झट व्यहोर्नु पर्नेछ’, उनले भने । वाणिज्य कार्यालयले इलेक्ट्रोनिक्स व्यवसाय दर्ता गर्न जाँदा २० लाख पूँजी राख्न अनुचित दबाब दिने गरेको गुनासो महासचिव ओलीको थियो । कार्यकाल सकिंदै गरेका महासचिव ओलीले आफ्नो कार्यकालमा भएका कामहरु बारे प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

 
महासचिव ओली र इलेक्ट्रोनिक्स तथा मोबाइल वितरक संघ कोहलपुरका अध्यक्ष रमणी शर्माले कोहलपुर र नेपालगन्ज जोडिदै गएकाले व्यवसायिक एकजुटता र आपसी हितका लागि संगठन मर्ज गरिनुपर्ने धारणा राखेका थिए ।
नेपालगन्ज किराना व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीहरुमा करको आतंक नै रहेको धारणा राखे ।

 
एशोसिएसनका संस्थापक धु्रव दाहालले प्रविधिको विकाससँगै इलेक्ट्रोनिक्स व्यवसायीहरु बढ्दै गएको बताए । वडा नं. २ बाट जनप्रतिनिधि समेत रहेका उनले स्थानीय सरकारले व्यवसायीहरुमाथि अनुचित रुपमा करको भार बढाएकाले उक्त निर्णयमा आफुले हस्ताक्षर समेत नगरेको दाबी गरे । एनइएका उपाध्यक्ष शैयद जहाँगिरले इलेक्ट्रोनिक्स व्यवसायमा युवाहरुको संख्या बढ्दै गएको बताए । नेपाल मोबाइल वितरक संघका क्षेत्रीय अध्यक्ष अर्जुन खड्का, क्यान बाँके अध्यक्ष भोजराज तिमिल्सिना, बद्री प्रसाद श्रेष्ठले व्यवसायिक एकतामा जोड दिए ।

 
वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेल, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका राजु प्याकुरेलले आफ्नो कार्यालयबाट दिइने सेवामा आवश्यक परे व्यवसायीहरुलाई सहजीकरण गर्न तयार रहेको बताएका थिए । ‘कर शिक्षाका लागि हामी सधै तयार छौं’, प्याकुरेलले भने । एनइए सम्बद्धहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा सत्यनारायण वैश्यले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया