समाचारदाता
दैनिक नेपालगन्ज
अपराध नियन्त्रण, घटना अनुसन्धान र अवैध कार्य निगरानीका लागि नेपालगन्जको १६ स्थानमा सिसि क्यामेरा जडान भएको छ । नेपालगन्ज नगरक्षेत्र अब क्यामेराको निगरानीमा छ । अपराध गरेर उम्किने, लुक्ने वा प्रमाण मेटाउन सक्ने अवस्थालाई विराम दिँदै प्रहरीले अब प्रविधिको प्रयोग गरी सुरक्षा निगरानी बढाउँदैछ ।
बढ्दो आपराधिक क्रियाकलाप, अपराध र त्यसविरुद्ध सुरक्षाका लागि सहर सिसिटिभी क्यामेराको निगरानीमा राखिएको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बताए । ४ महिना अघि नेपालगन्जमा सिसिटिभी क्यामेरा ब्यवस्थापनका लागि गठन भएको २५ सदस्यीय समितिले प्रभावकारी रुपमा काम गर्दै सहरमा क्यामरा जडान गरेको हो । नेपालगन्ज उद्योग वाणिज्य संघको संयोजनमा गठन भएको समितिले सिसिटिभी क्यामरा जडान गरि परीक्षण समेत गरिसकेको छ ।
नेपालगन्ज क्षेत्रमा विभिन्न समयमा हुने आपराधिक क्रियाकलाप, तस्करी र अमानवीय ब्यवहारलाई प्रहरीले २४ सै घण्टा निगरानी गर्न सुरु गर्दैछ । ‘एक साता भित्र सबै क्यामराको कन्ट्रोल जिल्ला प्रहरीको नियन्त्रणमा हुन्छ’, दैनिक नेपालगन्ज संग कुरा गर्दै एसपी तामाङले भने, ‘प्राविधिक स्तरमा केही काम जारी रहेकोले एक साता भित्रै क्यामरा संचालनमा आउने निश्चित छ ।’
सुरक्षाका दृष्टिकोणले क्यामरा निकै महत्वपूर्ण थियो, क्यामेरा जडान भएपछि अपराध गर्ने ब्यक्तिहरु पनि सतर्क हुने र अपराधमा गिरावट आउने एसपी तामाङको भनाइ छ । नेपालगन्ज सुरक्षाको विषयमा संवेदनशील बन्दै गएपछि निगरानी गर्न र प्रमाणका लागि सहरका महत्वपूर्ण र संवेदनशील स्थानमा क्यामरा राखिएको हो । ‘प्राविधिक रुपमा सहरलाई सुरक्षा घेरामा राख्न खोजिएको हो, यसबाट आम नागरिकलाई निकै फाइदा हुन्छ’, एसपी तामाङले भने, ‘सडक दुर्घटना, आवागमन, चोरी र त्यस बमोजिमका अन्य अपराधलाई निगरानी गर्न अनिवार्य भएकोले क्यामरा जडानको योजना अघि सरेको थियो ।’
पुरानो जीर्ण अवस्थामा भइ बिग्रेका क्यामेरा पनि मर्मत सम्भार भइरहेको र सहरका थप केही स्थानमा क्यामरा जडान गर्ने तयारी रहेको छ । निजी क्षेत्रमा प्रयोग भइरहेका क्यामेरालाई पनि सार्वजनिक हितमा केन्द्रित गर्न कतिपय स्थानमा आग्रह गरिएको छ ।
खासगरि ब्यक्तिगत रुपमा जडान भएका क्यामरालाई सार्वजनिक रुपमा पनि प्रयोग गर्न मिल्ने हिसाबले केही ब्यक्ति र संस्थालाई आग्रह गरिएको हो । ‘प्रयोग गर्न मिल्ने स्थान बाहेकमा आफ्नो क्यामेरा जडान गरी सार्वजनिक स्थलको निगरानी बढाइएको हो’, तामाङले भने, ‘सिसिटिभी क्यामेरा जडान भइसकेका घर, व्यवसायिक प्रतिष्ठानको विवरण प्राप्त भएपछि उनीहरु संग पहल गरिएको छ ।’
‘एक प्रकारले पूरै सहर क्यामेराको निगरानी भित्र रहेको छ’, तामाङले भने, ‘बाँके धार्मिक, जातियता, समुदाय लगायतका विभिन्न दृष्टिकोणले संवेदशील क्षेत्र रहेकोले सुरक्षा चुस्त बनाउन यो प्रविधि आवश्यक थियो ।’ भारतीय सिमाना संग जोडिएको जिल्ला भएकोले विदेशी आवागमन र त्यसमा हुन सक्ने सुरक्षा जोखिमलाई ब्यवस्थित गर्न क्यामेरा महत्वपूर्ण हुने प्रहरी ठम्याई छ । ट्राफिक ब्यवास्थापन, शान्ति सुरक्षा कायम राख्न र अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सिसिटिभी क्यामराले महत्वपूर्ण सहयोग गर्ने प्रहरी विश्वास छ ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रको धम्बोझी चोक, पुष्पलाल चोक, शिव मन्दिर, जमुनाहा नाका, बागेश्वरी मन्दिर, जिल्ला प्रशासन कार्यालय लगायतका अति संवेदनशील ठाउँहरुमा यसअघि नै क्यामेरा जडान भएको छ ।