वनजन्तु र काठतस्करी, लागुऔषध, मानववेचखिन विरुद्ध सुरक्षा रणनीति
समाचारदाता/दैनिक नेपालगन्ज
नेपाल भारतबीच सोमवार भारतीय क्षेत्रमा भएको ५०औं बैठकमा सिमा क्षेत्रमा भइरहेको धार्मिक अतिवाद र आतंकवाद विरुद्ध सक्रिय रुपमा काम गर्न सहमति भएको छ । नेपाली क्षेत्रमा लुकी छिपी आतंकी गतिविधि भइरहेको बारे भारतीय सुरक्षा अधिकारीले आतंकवाद र धार्मिक अतिवाद विरुद्ध मिलेर काम गर्न आग्रह गरेका हुन् । भारतीय क्षेत्रमा वान्टेड रहेका मौलाना सुभराती जोलाहलाई पक्राउ गर्न सफल भएकोमा नेपाली सुरक्षा अधिकारीको सरहना गर्दै भारतीय अधिकारीले यस्ता क्रियाकलापमा अझ बढी सक्रिय भएर काम गर्न आग्रह गरेका हुन् ।
सीमा सुरक्षा बल, छैठौं बटालियनको मुख्यालय अगैया (नानपारा) स्थित कतर्निया ब्लाकमा नेपाल भारत संयुक्त सीमा समन्वय समितिको बैठकमा काठ तस्करी, वन्यजन्तु चोरी शिकारी, मानव तस्करी लगायत विषयमा छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए । ‘आतंकवाद, धार्मिक अतिवाद, लागुऔषध, हतियार, बाढी, बाँध र सिमा सडक बारे बैठकमा विषय उठान भएको हो’, प्रजिअ केसीले दैनिक नेपालगन्जसँग भने, ‘हामीले सिमा सडकमा प्रशस्त पानी निकास, लक्ष्मपुर ब्यारेजको ढोका निरन्तर खुल्ला राख्न र लागुऔषध नियन्त्रणमा भूमिका निर्वाह गर्न आग्रह गरेका छौं ।’
भारतीय तर्फबाट आयुक्त देवीपाटन मण्डल गोण्डा सुधेश कुमार ओझा, डीआईजी अनिल कुमार राय, बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, प्रहरी प्रमुखहरु लगाउत उच्च अधिकारीहरुको सहभागितामा भएको बैठकमा सीमा क्षेत्रमा बढ्दो अपराध र नियन्त्रण बारे छलफल भएको हो ।
सिमा क्षेत्रमा सेवाग्राहीबाट असूल भइरहेको घूस र त्यसमा संलग्न रहेको कर्मचारीहरुलाई कारवाहीको दायरामा ल्याउन पनि बैठकमा चर्चा भएको हो । बाँके सहित दाङका समेत सुरक्षा अधिकारी सहभागी रहेको बैठकमा मानवतस्करी, लागुऔषध, बालिकाबालिका तस्करी लगायत हतियार कारोबारमा विशेष छलफल भएको छ । यसअघिका बैठकहरुमा भएको निर्णय कार्यान्वयनको अवस्था र आगामी रणनीतिका बारेमा दुबै पक्षका सुरक्षा अधिकारीले आफ्नो पक्ष राखेका थिए ।
सिमा क्षेत्रमा भइरहेको भारत विरोधी गतिविधि, अन्तर्राष्ट्रिय आतंकवाद, मदरसामा अनियन्त्रित लगानी लगायतबारे भारतीय सुरक्षा अधिकारीले चासो ब्यक्त गरेका छन् । त्यस संगै अवैध हतियारको कारोबार, मादक पदार्थको तस्करी र नक्कली नोट सहित सिमा क्षेत्रमा रहेका नोट कारोबारीमाथि लगाम लगाउने तय भएको हो । भारतीय क्षेत्रबाट काठ तस्करी भई नेपालमा आउने गरेकोबारे भारतीय सुरक्षा अधिकारीले कारवाही गर्न आग्रह गरेका छन् । भारतीय क्षेत्रबाट सालका गोलिया नेपाली क्षेत्रमा पुग्ने गरेको सुरक्षा अधिकारीहरुको दाबी थियो ।
बैठकमा भारत नेपाल सीमा क्षेत्रमा रहेको सिमा स्तम्भको मर्मत सम्भारमा पनि विचार ब्यक्त गरिएको छ । त्यस संगै राप्ती नदीमा आउने बाढीको पूर्व सूचना प्रणाली प्रभावकारी बनाउन भारतीय पक्षले नेपाली अधिकारीहरुलाई आग्रह गरेको हो । बैठकको संचालन गर्दै बहराईचकी जिल्ला अधिकारी माला श्रीवास्तवले कैलाश मानसरोवर यात्रामा गएका भारतीय तीर्थ यात्रीलाई सुरक्षित भारत पुर्याउन नेपाली सुरक्षा अधिकारीले देखाएको तदारुकताको प्रशंसा गरिन ।
सुरक्षा बैठकमा बांकेका जिल्ला अधिकारी रमेश कुमार केसी, एसपी टेक बहादुर तमाङ, सशस्त्र प्रहरी बाँकेका एसपी फणिन्द्र पौडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, एपी कृष्ण कोइराला, डीएसपी युवराज खड्का, अनुसन्धान अधिकारी बर्दियाका अशोक भट्ट, सहायक जिल्ला अधिकारी दाङबाट गणेश प्रसाद आचार्य, एसपी राम प्रसाद घर्तीमगर, बाँकेका वन अधिकृत ईश्वरी प्रसाद पौडेल, दाङबाट एसपी तुलसी राम दाहाल लगायतको सहभागिता रहेको थियो ।
भारत तर्फबाट जिल्ला अधिकारी बहराइच माला श्रीवास्तव, श्रावस्तीका दीपक मीणा, पुलिस अधीक्षक बहराइच सभाराज, श्रावस्तीबाट अशोक कुमार शुक्ला, मुख्य राजस्व अधिकारी राजेश कुमार, प्रभागीय वन अधिकारी बहराइच आरपी सिंह, कतर्नियाघाटका जीपी सिंह सहभागी थिए ।
कमान्डेन्ट छैठौं बटालियन एसएसबी यूपीएस चौहान, डिप्टी कमान्डेन्ट शैलेन्द्र कुमार पाण्डेय, एसडीओ वन नानपारा पीएस त्रिपाठी, उप जिल्ला अधिकारी नानपारा सिद्धार्थ यादव र मिहींपुरवा (मोतीपुर)का कीर्ति प्रकाश भारती, पुलिस क्षेत्राधिकारी नानपारा विजय प्रकाश सिंह लगायत सहभागी थिए ।