बाढी र डुबानको जोखिममा रहेको होलिया र फत्तेपुरको करिब १३ किलो मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण सुरु भएको हो ।
नेपालगन्ज / कृष्ण अधिकारी
राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेका बाँके होलिया र फत्तेपुरका वस्ती जोगाउन करिब १३ किलोमिटर पक्की तटबन्ध निर्माण सुरु गरिएको छ । बर्षात्का बेला राप्ती नदीमा आउने बाढीबाट हुने कटान र डुबानलाई नियन्त्रण गर्नका लागि करिब १ अर्बको लागतमा बाढी तथा डुबानको उच्च जोखिममा रहेको करिब १३ किलोमिटर लामो तटबन्ध निर्माण भइरहेको हो ।
जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयले दाङका अनुसार, बाढी र डुबानबाट गाउँ बस्तीलाई सुरक्षित गराउने उद्देश्यले राप्ती नदी किनाराका होलिया, खल्ला झगडिया, ढलैया र गोडदुई लगायत बिभिन्न ६ वटा स्थानमा पक्की तटबन्ध निर्माण भइरहेको हो । आयोजनाका प्रमुख बिनोद कुमार चापागाईले यसले राप्ती तटीय क्षेत्रका झण्डै एक लाख जनतालाई सुरक्षित बनाउने लक्ष्य राखिएको बताए ।
बाँकेका राप्ती नदी किनाराका बस्तीहरुलाई बाढी तथा डुबानको जोखिमबाट बचाउनका लागि जनताको तटबन्ध कार्यालयले गत बर्ष देखि बहुबर्षीय ठेक्का अन्र्तगत नदीको कटानको उच्च जोखिममा रहेको होलिया र फत्तेपुरको खल्ला झगडिया र भरैया क्षेत्रमा तटबन्ध निर्माणको काम सुरु गरेको हो । पक्की तटबन्ध निर्माण सुरु भए पछि पछि बर्षाै देखि बाढी तथा डुबानको चपेटामा पर्दै आएका ती स्थानहरु केहि हदसम्म भए पनि सुरक्षित भएको स्थानिय बासिन्दा राजकुमार शुक्लाले बताए ।
स्थानीय बासिन्दाहरुले राप्ती नदीको दुबै किनारामा करिब ४० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको माग गर्दै आए पनि नेपाल सरकारले पर्याप्त बजेट उपलब्ध नगराएका कारण नदी कटानको उच्च जोखिममा रहेका बिभिन्न ६ वटा स्थानको करिब १३ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको हो ।
नदी कटानको उच्च जोखिममा रहेका स्थानमा तटबन्ध निर्माणको काम भइरहेकाले बिगतका बर्षहरुको तुलनामा यो बर्ष बाँकेको होलिया र फत्तेपुरका बासिन्दाहरु सुरक्षित भई बाढी र डुबानबाट हुने धन जनको क्षति पनि कम हुने विश्वास आयोजना प्रमुख चापागाईको छ ।
पक्की तटबन्ध निर्माणको काम भने बजेट अभाबका कारण सुस्त गतिमा भइरहेको गुनासो सथानीयको छ । राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा रहेको फत्तेपुरको खल्ला झगडियामा चालु आर्थिक बर्ष २०७४÷०७५ मा सुरु भएको करिब २ हजार २ सय मिटर लामो तटबन्ध निर्माणको काम सुस्त गतिमा भइरहेको छ । २० करोड ६९ लाखको लागतमा तटबन्ध निर्माणको काम सुरु भए पनि समय मै बजेट निकाशा नहुदा तटबन्ध निर्माणको काम प्रभाबित भएको हो ।
सोही क्षेत्रको अर्काे प्याकेजमा २६ करोड २७ लाखको लागतमा चालु आर्थिक बर्ष २०७४/०७५ मैं सुरु भएको करिब २ हजार ८ सय मिटर लामो तटबन्ध निर्माणको कामको करिब आधा पुरा भएको छ । गत आर्थिक बर्ष देखि सुरु भएको सोही क्षेत्रमा अर्काे प्याकेजको अन्र्तगतको करिब १६ करोड ५० लाखको लागतमा सुरु भएको हो । २ हजार ५ सय मिटर लामो तटबन्धको काम पनि करिब ७० प्रतिशत भएको छ ।
सम्बद्धका अनुसार, बाँकेको होलिया क्षेत्रमा ३ वटा प्याकेज अन्र्तगत करिब ९ सय मिटर लामो तटबन्ध निर्माणको काम पनि निक्कै सुस्त गतिमा भइरहेको छ । ८ करोड २६ लाखको लागतमा निर्माण सुरु भएको करिब ९ सय मिटर लामो तटबन्धको निर्माणको काम पनि करिब ६० प्रतिशत पुरा भएको छ । ती स्थानहरुमा निर्माण भई रहेको तटबन्ध २०७६ असार मसान्त सम्म पुरा गर्ने लक्ष्यका राखिएको बताइएको छ ।
अबिरल बर्षा पछि राप्ती नदीमा उर्लिएर आउने बाढीले नदी किनाराका खेतबारी संगै बस्तीहरु कटान गर्ने र बस्तीमा पसेर बितन्डा मच्चाउदै आएको छ । बाढीबाट खेतबाली, र घर गोठ क्षतिग्रस्त हुँदा घरमा भन्डारण गरेर राखेको खाद्यान्न समेत नोक्सान भई स्थानीय बासिन्दाहरु बिच्चलीमा पर्ने गरेका छन् । यो क्रम बिगत १५ बर्ष देखि दोहोंिरदै आएको छ ।
गत बर्ष आएको बाढी राप्ती नदीको सतह भन्दा ८ दशमलब ८७ मिटर सम्म पुग्दा बाँकेमा निक्कै ठुलो परिमाणमा क्षति भयो । बाढीबाट बाँकेमा ८ जनाको मृत्यु भयो । बाढीबाट ११ सय २२ घर पुर्ण रुपमा र १५ हजार ७ सय ३७ घर आंशिक रुपमा क्षति हुँदा करिब ८० हजार जनता प्रत्यक्ष रुपमा प्रभाबित भए । करिब ४ हजार हेक्टरमा लगाएको खेतीबालीमा क्षति भएको थियो ।
स्थानीय बासिन्दाले लगाएको खेतीबाली, घरमा भन्डारण गरेको खाद्यान्न लगायतका सामाग्रीहरु समेत कतिको क्षति भयो भन्ने एकिन तथ्याङक नभए पनि करिब २ अर्ब बराबरको क्षति भएको थियो । बषौ देखि राप्ती नदीको कटान र डुबानको चपेटामा परेका बाके फत्तेपुरका दुर्गा पान्डे भन्छन्, ‘मन्त्री र नेताहरुले बाढी र डुबानका बेला हेलिकोप्टरबाट डुबान ग्रस्त क्षेत्रको भ्रमण गरी नदी नियन्त्ररणका लागि तटबन्ध निर्माणका लागि बजेटको कमी हुन नदिने आश्वासन दिन्छन् । बाढी सकिए पछि नेताहरु फर्किएर आउदैनन् ।’ ‘यो बर्ष त बजेट नआएका कारण तटबन्ध निर्माणको काम निक्कै सुस्त गतिमा भइरहेको’ उनको गुनासो छ ।
मनसुनको सुरुवातसंगै बाँकेको राप्ती नदी किनारका बासिन्दाहरुका दुःख र कष्टका दिनहरु सुरु हुने गरेका छन् । राप्ती सोनारी गाउपालिका वडा नं ७ का बडा अध्यक्ष राम लखन थारु भन्छन्, ‘सरकारले राप्ती नदीको दुबै तर्फ पक्की तटबन्ध निर्माणका लागि गुरु योजना बनाएर पर्याप्त बजेट नदिंदा सम्म राप्ती नदी किनाराका बासिन्दाहरुले खेप्दै आएको बाढी र डुबानको समस्या कम हुँदैन ।’
पूर्व तयारी उस्तै
बर्षेनी बाढीबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि बाँके प्रशासनले पूर्व तयारी गरिरहेको जनाएको छ । ‘नौ वटा कलष्टरलाई रेडि पोजिसनमा राखेका छौं’, सोमबार पूर्व तयारी अभ्यास राखिएको जानकारी दिंदै जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले दैनिक नेपालगन्जसँग भने, ‘नियमित समस्या भएकाले तयारी अवस्थामा छौं ।’
बाँकेमा बर्षौदेखि बाढी र डुबानका लागि करोडौं रकम खर्चिइ सक्दा पनि जनधनको क्षति हुँदै आएको छ । यसबर्ष पनि सुरु नहुँदै आएको झरीले बाढी र डुबान निम्त्याउँदा बाँकेमा ५ जनाको ज्यान गैसकेको छ । ‘भौतिक पूर्व तयारीले मात्र नहुँदो रहेछ’, प्रजिअ केसीले यसपटक सामूदायिक सचेतनामा बढी ध्यान दिइएको जानकारी दिंदै भने, ‘समुदायलाई नै सजग बनाउन सबैतिरबाट जोड दिइरहेका छौं ।’ त्यसका लागि मिडिया, रेडक्रस, स्थानीय तह मार्फत सचेतनाका विभिन्न सन्देशहरु प्रवाह भैरहेको प्रजिअ केसीको भनाइ छ ।
त्यसबाहेक ‘नियमित तयारी’ भैरहेको जिल्ला दैवी प्रकोप उद्दार समितिले जनाएको छ । ‘खोज र उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको फौजलाई विभिन्न उपकरणहरु प्रदान गरिएको छ’, प्रजिअ केसीले खोज र उद्दारका पूर्वाभ्यास समेत फिल्डमा भैरहेको जानकारी दिंदै भने, ‘उनीहरुलाई तैनाथी अवस्थामा रहन निर्देशन दिइएको छ ।’ आपतकालीन उद्दारका लागि सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहेको पनि प्रजिअ केसीले जानकारी दिए ।
‘सबै गाउँपालिका र नगरपालिकालाई विपद् आइपरेको खण्डमा सर्वसाधारणका लागि आवश्यक पर्ने तयारी खाद्यान्नको मौज्दात गर्न जिम्मा लगाइएको छ’, नरैनापुरले व्यवस्था गरिसकेको, राप्तीसोनारी र डुडुवाले खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी आएको बताउँदै प्रजिअ केसीले भने, ‘जल तथा मौसम विभागबाट हुने मौसमपूर्वानुमानलाई नियमित प्रसारण व्यवस्था पनि मिलाइएको छ ।’
मौसम पूर्वानुमान अनुसार, बाँकेको कुसुम स्थित राप्तीनदीको जल स्तर मापन केन्द्रमा ५.४ पुगेपछि जोखिम आउन लागेको जानकारी राप्ती तटीय बासिन्दालाई पुर्याइन्छ । ‘६ नाघेपछि साइरन सहितका सतर्कता प्रवाह हुनेछ’, प्रजिअ केसीले जिल्ला स्तरीय परिचालन पूर्वाभ्यासमा नौ वटै कलष्टरका तयारीका जानकारीसँगै घटना भइहाले के गर्ने भन्नेबारे व्यवहारिक अभ्यास गरिने जानकारी दिए ।