श्राबस्ती परिक्रमा

खगेन्द्र गिरि ‘कोपिला’

धम्बोझीमा बटुलिन हामीले ढिलै गरेका हौं । राजीव साहले गरे सबैभन्दा ज्यादा अलमल । पर्खिदा पर्खिदा अत्यास लाग्न थालेपछि उनलाई छोडेरै जाने टुङ्गो गरियो । हामी रिक्सा चढिसकेका थियौं, टुपुलुक्क आइपुगे उनी मुसुमुसु हाँस्दै । सूर्यनारायण नाकैनिर आएर ठोक्कियुला जस्तो गरी अग्निवाण हानी रहेका छन् । उखरमाउलो गर्मीले वातावरण तप्त छ । बिहानबिहानै खलखली पसिना बग्न लागिसक्यो । मनभित्र अलिकति आस्था र अलिकति जिज्ञासाको आद्र्रताको चिस्यान बोकेर हामी लाग्यौं दक्षिणतिर । चारलेनको फराकिलो सडकले उज्यालो देखिएको छ नेपालगन्ज । सडक वरपरका सिमेण्टेड दृश्य पनि बिहानपख निकै सुन्दर देखिए ।

 
सीमापारि रुपैडिया पुग्दा त्यसैत्यसै उकुसुमुकुस भएर आयो मन । दशगजाको नाङ्गो रेखा र सीमाद्वारले छुट्टयाएको छ जमुनाहा र रुपैडियाका भूभागलाई दुई पृथक—पृथक देशको रुपमा । यद्यपि उस्तैउस्तै छ वारिपारिको भूवनोट, उस्तैउस्तै छन् बोटबिरुवा, बाली बनस्पतिहरु, मानिसका रुपरङ्ग, घरपसल र पसलमा राखिएका सरसामानहरु पनि उस्तैउस्तै छन् । केही फरक छैन दुबैतिर घामको प्रकाश र हावाको चञ्चलपना, तर जमुनाहामा अनुभूत भएको आफ्नोपनको शीतलता रुपैडियामा महसुस भएन । अर्कैको आँगनमा टेक्नु पर्दाको उकुसमुकुसले घाँटी अठ्याउन थाल्यो । कतिखेर अब कसले आएर ठग्ने हो भन्ने त्रासले लखेट्न थाल्यो ।

 
‘भारु चाहिए भारु?’ हातमा भारतीय नोटका बण्डल बोकेका मानिसहरुको हुल चिच्याउँदै घेर्न आइपुग्यो । धेरै रुपियाँ हामीहरुलाई चाहिएको थिएन । अलिअलि साँटेर उम्कियौं । ‘गाडी चाहिए गाडी ?’ फेरि अर्को हुलले घे¥यो । निकैबेरको गलफत्ति र मोलमालाई पछि एउटा जीप मिलाइयो । आउन र जान लाग्ने भयो एक्काइस सय रुपियाँ । तेल खर्च गाडीबालाकै । सबै कुरा निक्र्यौल गरेपछि हिडियो रुपैडियाबाट । ‘सबै कुरा पहिल्यै पक्का गरेर मात्रै हिड्नु पर्छ पहिल्यै, नत्र ठगिने डर हुन्छ पछि’ रामचन्द्र आचार्य सरले सचेत गराउनु भो ।

 
चिल्लो सडकमाथि सुलुलु दुगुर्न थाल्यो जीप । गाडीबाला जाहिदभाई निकै मजाका भेटिए । सडकमा कतै अवरोध छैन । सलल बगिरहेका छन् बाहनहरु । सडककिनारामा लहरै रोपिएका बृक्षहरु फिर्पिmर पात हल्लाएर यात्रुहरुको स्वागत गरिरहेका हुन् सायद । रेलका नागबेली लिकहरु सर्पजस्तै फिंजिएका छन् सडककै छेउछेउ । रेल र सडक रक्तनली नै हुन् कि झैं फैलिएका देखिन्छन् जताततै । ‘मोदी आने के बाद रोड बहुत अच्छा बना’ ड्राइभर जाहिदले मोदीको प्रशंसा गरे । मोदी सरकारका सडक परिबहन मन्त्री नितिन गडकरी सडक निर्माणका लागि सफल मन्त्री भनेर कहलिएका छन् । उनको प्रशंसा गर्दै मानिसहरु उनलाई गडकरी नभनेर रोडकरी भन्दा रहेछन् । मनमनै प्रशंसा नगरी रहन सकेनौं हामी पनि उनको ।

 
केही किलोमिटरमा बजारहरु आउँछन् । बजारमा भिडभाड, होहल्ला बढी देखिन्छ । निकै अव्यवस्थित लाग्छन् यहाँका बजार । घना छ जनसङ्ख्या । फोहोर पनि त्यस्तै । प्रकृतिले दिएका त्यति राम्रा चिजलाई मानिसले आफूखुसी प्रयोग गरेजस्तो मनमौजीपन भेटियो । कोही तरकारी बेचिरहेका छन् ठेलामा कोही तरभुजा । तरभुजा देखेर रमाउँछन् सन्दीप पुरी । नानपारा र बहराइचजस्ता ठुला बजार आए बाटोमा । यहाँका कुनै दृश्यले पनि तानेन मनलाई ।

 
नास्ता खायौं बहराइचमा । फोहोर र भीड छ होटलभरी । पान खाएर थुकेको देखिन्छ जताततै । ड्राइभर जाहिद भन्दैछन् ‘बहराइच का सब से अच्छा नास्ता मिलता है यहाँ’ । नास्ता भने उही जिलेबी, समोसा, पुरी र तरकारी । बहराइच छोडेर पूर्वतिर गैरहेको चिल्लो सडकमाथि कुद्न थालेपछि भने हलुंगो भएर आयो मन । जता हे¥यो उतै फाँटैफाँट, खेतबारी र बृक्षारोपणको हरियाली फैलिएको छ । आँप, केरा, लिचिका ठुलाठुला बगिया निकै देखिए बाटो छेउछाउ । उखु खेतीले पनि परपरका फाँटहरु भरिभराउ छन् । तरकारी खेतीले भरिएका छन् फाँटहरु । बिछट्टै रमायो मन । कृषिमा निकै लगनशील देखिए यताका मान्छेहरु । मान्छेका हुल छिचोल्दै, चिल्लो सडकमाथि बत्तासिंदै श्राबस्ती पुगेको पत्तै भएन । यहाँको प्रथम दृष्टी भने आकर्षक भएन ।

 
‘बुद्ध मन्दिरका गुम्बद है वो’ ड्राइभर फत्फतायो । ‘उधर ही लेजाओ’ रामचन्द्र आचार्य सरको आदेश सुनेपछि ड्राइभरले जीप बजारतर्फ नलगेर बाहिरबाहिरै कुदाउन लाग्यो । बजारभन्दा बाहिरको बाटोलाई यहाँ बाइपास भन्दा रहेछन् । हामी घना जङ्गलको माझैमा पुग्यौं । मान्छेको चहलपहल खासै छैन यहाँ । अघि देखिएको गुम्बद भने रुखहरुले छेलियो । जीप त्यही छोड्यौं । फराकिलो बाटो भेटियो । अग्लो पर्खाल पनि ठडिएको छ बाटोकै समानान्तर । हिड्न लाग्यौं त्यही गुम्बद खोज्दै पर्खालको छेवैछेउ । सिमेन्ट र फलामद्वारा बनेको अग्लो पर्खालले छेकिरह्यो भित्रका भव्य दृश्यहरुलाई । बाहिरबाट कसैले पनि नदेखोस् भन्दै गोप्य राखिएजस्तो । पूर्वपट्टि गएपछि एकछिन झुलुक्क मन्दिरको स्तुप आकारको गजुर र अग्लो बुद्ध मुर्तीको माथिल्लो भागमात्रै देखिए । परिक्रमा पथको पुरै फन्को मार्न डेड घण्टा लाग्यो । फेरि अघिकै ठाउँमा आइपुग्यौं । यो महामंगलजय उद्यान रहेछ । हिन्दी नबुझ्ने र अङ्रेजी पनि राम्ररी बोल्न नजान्ने एकजना श्वेत वश्रधारी मान्छेले यो उद्यान दुई बजेमात्रै खुल्छ भनेपछि हामी लायौं जेतवन उद्यानतिर ।

 
थुम्कोजस्तो ठाउँ, ठूलो पिपलको बृक्ष, वरिपरि थरिथरिका हरिया बोटबिरुवा अनि राता इँटाका भग्नावशेषका अनेक आकृतिहरु हाम्रा आँखा अगाडि छरिएका छन् । यहाँको विस्तृत स्थल विन्यासले आफ्नो प्राचिन भव्यता झल्काइरहेको छ । ठूलाठूला गगनचुम्बी हाँगा भएको बिशाल बोधीबृक्षको छहारीमा अग्नि र पिताम्बरी वस्त्र लगाएका केही साधुसन्तहरु ध्यान मुद्रामा बसेर आफैभित्र डुबेका छन् । कसैले आँखा चिम्लेका छन्, कोही टोलाएजस्ता छन् । सबैका आँखाबाट दिव्य शान्त भाव र मुहारबाट निष्काम करुणा झल्किरहेको छ । केही मान्छेहरु उद्यानभित्र केवल रमाइलो गर्न मात्रै आएझैं होहल्ला गरिरहेका छन् तर यीनिहरुको हल्लाले ती साधुसन्तहरुलाई कुनै असर परेजस्तो लागेन । सायद आफैमा डुबेर सांसारिक दृश्यहरुबाट निरपेक्ष रहन सक्नु नै संन्यास वा बुद्धत्व हो कि?

 
हामी जेतवनमा घुमिरहेका छौं । उद्यानभित्र दुई जना भन्ते भेटिए । भन्ते अर्थात् बन्दनीय, पुजनीय व्यक्ति । यिनीहरु अरुभन्दा केही युवा र अपेक्षाकृत केही चपल पनि लागे । बौद्ध साधुहरुलाई अभिवादन गर्दा कुन शब्द उच्चारण गर्ने हामीलाई थाह थिएन । हामीले नमस्ते नै भन्यौं तर उनीहरुले फर्काएनन् । उनीहरुको विनम्रता र निश्छलताले यसरी छोयो कि नमस्ते नफर्काउँदा पनि घमण्डीजस्ता लागेनन् । बास्तबमा नमस्ते नफर्काउनु साधु—संतहरुको संस्कार नै हो । मानिसले आफूलाई नमस्ते गरेको नभएर बुद्धत्वलाई नमस्ते गरेका हुन् भन्ने ठान्छन् रे यी साधुहरु । सारनाथबाट घुम्न आएका यी दुई जना साधकहरुको नाम भन्ते करुणा र भन्ते ज्ञान उदय रहेछ । पिताम्बरी बस्त्र लगाएका करुणा र अग्निवस्त्र लगाएका ज्ञानउदयको विनयशिलता र ज्ञानको बाछिटाले भिजाइरह्यो हामीलाई निकैबेर ।
भन्तेद्वय जेतवनको इतिहास सुनाउन लागे ।

 
वैदिक कालमा श्राबष्टा नामका राजाले राज्य गरेको यो ठाउँ छैठौं शताब्दीसम्म कोशल राज्यको राजधानी पनि रह्यो । बुद्धकालमा श्राबस्ती कोशल महाजनपदको राजधानी थियो । श्राबस्तीका सुदत्त नाम गरेको एकजना व्यापारी राजगृह पुगेका बेला उनले त्यहाँ बुद्धको प्रबचन सुन्ने मौका पाएछन् । सिद्धार्थले बुद्धत्व प्राप्त गरेको तेश्रो वर्ष भैसकेको थियो । सुदत्तले बुद्धलाई श्राबस्ती पनि आउनुहोस् भनेर अनुरोध गरी त्यहाँ बिहार बनाईदिने बचन दिएछन् । अचेल राप्ती भनिने अर्चरावती नदीको पूर्वी किनारमा श्राबस्ती नगर र पश्चिमी किनारमा एउटा उद्यान थियो । बुद्धको लागि विहार बनाउन सुदत्तले त्यही उद्यान किन्ने निर्णय गरे । त्यस उद्यानका स्वामी कोशल महाजनपदका राजकुमार जेत थिए । जेतले उद्यानको जति भागमा स्वर्णमुद्राले ढाक्न सक्छौ उति नै भूभाग मात्रै बेच्छु भनेपछि सुदत्त स्वर्णमुद्रा जमिनमा ओच्छ्याउँदै गए । भनिन्छ अठार करोड स्वर्णमुद्रा दान गरेर सुदत्तले सो उद्यान खरिद गरेका हुन् । उनले त्यति नै रकम खर्च गरेर गन्धकुटी र कौशम्बकुटी बनाइदिए । बुद्धको तेजबाट मोहित भएका राजकुमार जेतले आफ्नो उद्यान बेचेर पाएको अठार करोड रुपियाँद्वारा बिक्री नभएको जग्गामा भिक्षुहरुको लागि बिहार बनाईदिए । सुदत्त आफ्नो दानशिलताका कारण अनाथपिण्डिकको नामले विख्यात थिए । बुद्धले सुदत्त र जेतको दानशिलताबाट प्रभावित भै उद्यानको नाम जेतवन र बिहारको नाम अनाथपिण्डिक बिहार राखिदिनु भएको हो भनिन्छ ।

 
भगवान गौतम बुद्ध सुदत्तले निम्तो दिएको अर्को वर्ष श्राबस्ती आउनु भयो । सुदत्तद्वारा निर्मित जेतवन विहारमा भगवान बुद्ध आफ्ना शिष्य र संघका साथ चौबिस चतुर्मास बस्नु भएको थियो । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशी सम्मको चारमहिनालाई वैदिक पञ्चाङ्गले चतुर्मास भन्छ । बुद्ध भगवानले श्राबस्तीमा पच्चिस वर्षावास गर्नु भएको थियो भनेर कतैकतै उल्लेख गरेको पनि पाइन्छ तर उहाँले यहाँ चौबिस वटा वर्षायाम व्यतित गर्नु भएको तथ्य पुष्टी भैसकेको छ । वर्षका अरु आठ महिना बुद्ध देशाटन गरी धर्मप्रचार गर्नु हुन्थ्यो । त्यही भएर बुद्धलाई परिब्राजक पनि भनिन्छ । बौद्ध कथाहरुमा धेरै उल्लेख गरिएका पटाचारा र अंगुलीमाल जस्ता पात्रहरु पनि श्राबस्तीसंगै सम्बन्धित छन् । बौद्ध दर्शनका थुप्रै महत्वपूर्ण ग्रन्थहरु श्राबस्तीमैं लेखिएको मान्यता छ । कोशल नरेश प्रसेनजीत पनि कालान्तरमा बुद्धका चेला बने ।

 
जेतवन उद्यानमा थुप्रै भग्नावशेषहरु देख्यौं । ती मध्ये अनाथपिण्डिक बिहार, गन्धकुटी र कौशाम्बकुटी प्रमुख हुन् । गन्धकुटी भगवान बुद्धको आवास, कौशाम्बकुटी ध्यान केन्द्र र अनाथपिण्डिक विहार भिक्षुहरुको वासस्थान रहेछन् । गन्धकुटी भन्दा अलि पर उभिएको बोधिबृक्ष बुद्धकालिन बोधिबृक्षको पाँचौ पिंढी मानिदो रहेछ । जेतवन बिहारको छेउमा सम्राट अशोकले बनाएको स्तुप र पूर्वपट्टि दुईटा स्तम्भ पनि छन् । भगवान बुद्धले श्राबस्तीबाट पलाउन हुनु परेको कारण पनि बडो रोचक रहेछ ।

 
त्यो बेला बुद्धबाट प्रभावित भएर थुप्रै मानिसहरु भिक्षु बन्दै हिड्न लागे । भिक्षुहरुका ठूलाठूला संघ बने । संघभित्र भिक्षुहरुमा मनमुटाव बढ्न थाल्यो । एकथरि भिक्षुहरु बुद्धको शान्त स्वभाव, दयामय चरित्र र पञ्चशीलको अनुकरण गरी त्यस्तै बन्ने प्रयास गर्ने कुरामा जोड दिन थाले । यिनीहरु शीलबादी कहलिए । अर्का थरी भिक्षुहरु बुद्धले दिनु भएका उपदेशको अनुशरण गर्ने कुरामा जोड दिन थाले । यिनीहरु सूत्रबादी कहलिए । एकपटक शीलबादी र सुत्रबादीहरुको बीचमा ठूलो झगडा हुँदा त्यसलाई रोक्न नसकेको पीडाले बुद्ध एक वर्षसम्म मौन बस्नु भएको थियो भनिन्छ । त्यस पछि बुद्धले श्राबस्ती छोड्नु भएको हो रे । कालान्तरमा शीलबादीहरु हिनयानी र सूत्रबादीहरु महायानीको रुपमा चिनिदै बौद्ध धर्मभित्र पनि दुई सम्प्रदाय बन्न पुगे ।

 
बुद्धले छोड्नु भएपछि श्राबस्तीको तेज हराउँदै गयो । यसले समयका अनेक कालखण्डमा थुप्रै आक्रमणहरु पनि ब्येहो¥यो । इतिहासका अनेकौं उतारचढावहरु देख्यो, भोग्यो । कैंयौं पटक लुटियो पनि । भनिन्छ मुस्लिमहरुले आक्रमण गर्दा बुद्धका चेलाहरुले बालुवा र पातले ढाकेर जोगाएका थिए श्राबस्तीलाई । बिस्तारै श्राबस्ती इतिहासमा लुप्त हुँदै गयो । अर्चरावतीको प्रकोपले पनि यस शहरलाई पटकपटक दुख दिदै आयो । बुद्ध स्वर्गे भएको दुई शताब्दी पछि त जेतवन र श्राबस्ती माटोमा पुरिएर माटोका थुप्रा बनेर रहे । छेउछाउमा महेट र महेट नामका गाउँ बसे । वर्षैसम्म यी गाउँका बस्ती मुनी श्राबस्तीको इतिहास दबिएर बस्यो ।

 
श्राबस्ती पत्ता लगाउने व्यक्ति ब्रिटीश पुरातत्वबिद् अलेक्जेण्डर कलिंघम मानिन्छन् । उनले सन् १८६६ मा सहेटमा उत्खनन् गरी यो जेतवन भएको र महेट पुरानो श्राबस्ती भएको प्रमाणित गरेका थिए । त्यस पछि पुनः श्राबस्तीको महिमा पुनर्जागरण भएको हो । श्रीबस्तीको उत्खनन गरिएपछि सहेट र महेट गाउँलाई अधिग्रहण गरी अलिपर स्थानान्तरण गरिएछ तर हुसैनजोत नामक मुस्लिमगाउँका मानिसहरुले अन्त जान मानेनछन् । श्राबस्तीका खण्डहर, फाँट, उद्यान र स्तुपको विहंगम परिसरको बीचैमा साँगुरिएर, खुम्चिएर बसेको छ हुसैनजोत गाउँ । संगसंगै भएर पनि त्यहाँको बौद्ध परिवेशसंग घुलमिल हुन नसकेको जस्तो लाग्यो त्यो गाउँले ।

 
श्राबस्ती स्तुप, बिहार र मन्दिरहरुको नगर हो । बोटबिरुवा चौर र खण्डहरहरु फैलिएका छन् चारैतिर । बिभिन्न देशले आफ्नै कला शैलीले निर्माण गरेका बौद्ध मन्दिरहरु आआफ्नै सुन्दरता बोकेर उभिएका छन् ठाउँठाउँमा । कोरियन मन्दिर परिसरको शान्तपन र मंगोलियन गुम्बाको भब्यताले हृदयमा प्रिय छाप छोड्यो । चिनियाँ कलाकारिताको भव्यता पस्किरहेको छ धरहराजस्तो देखिने सबैभन्दा अग्लो रेनचेन गुम्बाले । अंगुलीमाल स्तुप र कच्ची कुटीका भग्नावशेषहरु हेर्न अलि पर पुग्नु पर्छ । छेवैमा प्राचीन श्राबस्ती नगरको अग्लो प्राचिरको भग्नावशेष पनि देख्यौं । वरपर पातला रुख, बोट, बुट्टयानहरु छरिएका छन् ।

 
श्राबस्तीको सबैभन्दा मुख्य आकर्षण हो महामंगलजय उद्यान । मानौं सारा श्राबस्तीको सौन्दर्य र आस्थालाई यही उद्यानले एक्लै समेटेर रोखको छ । थाइल्यान्डका पूर्व राजा भुमिबोल अदुल्यादेजद्वारा निर्माण गर्न लगाइएको महामंगलजय उद्यान परिसरको ठूलो भुखण्ड आफैमा सानो थाइल्याण्ड जस्तै लाग्दछ । वरिपरि परिक्रमा पथले परिवेष्ठित यो परिसर बाहिरबाट हेर्दा पिपल, लहरे पिपल, अशोकवृक्ष, चन्दन र जामुनका अग्ला र बाक्ला रुखहरुको जंगलजस्तो मात्रै देखिन्छ । भित्र पुगेपछि भने कुनै भव्य दरबारको प्राङ्गलमा पुगेको आभास हुन्छ ।

 
दुई बजे खुल्यो महामंगलजय उद्यानको गेट । थाई उच्चारणमा यसलाई महामंकलक्चाई भनिदो रहेछ । सेता कपडा लगाएका थाई स्वयंसेवक—सेविकाहरुको विनम्रता पोखियो गेटैमा । सबैका शरिर छामछुुम गरेर कडा सुरक्षाजाँच पनि गरे उनीहरुले । गेटबाट भित्र प्रवेश गरेपछि कहिले दायाँ कहिले वायाँ घुम्दै अघि बढ्यौं । ठाउँठाउँमा यता जानुहोस् उता जानुहोस् भन्दै संकेत गर्न उभिएका छन् त्यस्तै सेता वस्त्र लगाएका स्वयम्सेवक—सेविकाहरु । निहुँरिदै, विनम्र हाँसो पोख्दै नमस्ते, नमस्ते भन्दै सेवामा दत्तचित्त छन् उनीहरु । नमस्ते भन्दा अरु केही पनि बुझिन्न उनीहरुले बोलेको । उद्यानको शान्त र शीतल परिवेशमा उनीहरुको विनम्रताले सुनमा सुगन्ध थपे झैं लाग्यो । उद्यानभरी चारैतिर ढकमक्क रुखैरुखका लहर छन् । बाँदरहरु एउटा रुखबाट अर्को रुखमा निस्फीक्री हाम फालिरहेका छन् ।

 

 

चराचुरुङ्गीका चिरबिरले यो सानो उद्यानलाई पनि बाक्लो जंगलमा पुगेको आभास गरायो । उद्यानभित्र आआफ्नो काममा जुटिरहेका श्वेत वस्त्रधारी थाई स्वयम्सेवकहरुको सेवाभाव देखेर मन नतमस्तक भएर आयो । कोही खसेका पात टिपिरहेका छन् कोही आगन्तुकलाई विनम्र भएर बाटो देखाइरहेका छन् । उद्यानभित्र हावाले पात झार्नै हुन्न टिपेर कतै थन्क्यनाउन दुगुरिहाल्छन् । संस्कृति, भाषा, मौसम र हावापानी केही पनि नमिल्ने यस्तो ठाउँसम्म बौद्ध धर्मको आस्थाको डोरीमा झुण्डिएर आएका हुन् उनीहरु । उनीहरुको मनोयोग र समर्पण भाव साँच्चिकै हेर्न लायकको छ ।

 
हिड्दै जाँदा हामी खुला चौरमा पुग्यौं । बाटोको देब्रेपट्टि चौरको बीचैमा अग्लो र भीमकाय बुद्ध मुर्ती देखियो । सेतो जगमाथि पहेंलो कमल र पहेंलो कमलमाथि पहेंलो मुर्ती । चारैतिर सुन पोखिएर स्वर्णिम आभा फैलिएजस्तो लाग्यो । ध्यानस्थ मुद्रामा बसेका बुद्धका शान्त आँखाबाट करुणाको प्रकाश चहुँवर फैलिरहेको आभास गरायो । मुर्तीलाई ढोग्यौं र आँखा चिम्लिएर उभियौं केही बेर । दुबो उम्रिएको चौर र बालुवामाथि एकछिन हिडेर फेरि एउटा बिशाल भवनको आँगनमा पुग्यौं । सेतो र पहेंलो रंग पोतिएको यो भवनका छतमा अनगीन्ती शिखरहरु ठडिएका छन् हरियो रंगका । उनै सेतो वस्त्र लगाएका स्वयम्सेविकाहरुले पछाडीपट्टि जाने संकेत गरे । त्यहाँ खुट्टा पखालेर भित्र पस्ने संकेत गरिन अर्की स्वयम्सेविकाले । यन्त्रवत् हामी एउटी स्वयम्सेविकाको पछिपछि त्यही भवनको माथिल्लो तलामा उक्लियौं । बिशाल र भव्य ध्यानशालामा हामीजस्तै सयौं मान्छेहरु पलेटी कसेर बसेका छन् । भित्तामा बुद्धको मुर्ती र उत्तरतिर थाई नरेशको तस्वीर टाँगिएको छ ।

 

एउटी अलि बृद्ध उमेरकी स्वयम्सेविका माइकबाट मंत्रोच्चारण गर्न थालिन् । हिन्दी, थाई र अङ्रेजी भाषा मिसिएको उनको भनाई बुझ्न सकिएन । केही बेर ध्यान गराएपछि सबैलाई लहरै हिंडाएर फेरि तल ओरालियो । सिढींमा उभिएका स्वयम्सेविकाहरुले नमस्ते गरिरहिन् । त्यहाँको व्यवस्थापन र सरसफाईमा कसैले बाधा पु¥याइदिन्छ कि भन्ने कुरामा उनीहरु निकै सचेत देखिए । पुरै प्रतिबद्ध देखिए उनीहरु यस बौद्ध परिसरको सुरक्षा र व्यवस्थापनका लागि ।

 
हामी फेरि दक्षिणपट्टिको चौरमा आई पुग्यौं । अघि परैबाट देखिएको अग्लो गुम्बद भएको मन्दिरको नजिक हामीलाई जान दिइएन । एउटी बृद्ध भिक्षुणीलाई निकै अनुरोध ग¥यौं तर उनी एकोहोरो नो एलाउ नो एलाउ भनिरहिन् । सो मन्दिरमा मर्मत कार्य हुँदै रहेछ । पहेंलो र हरियो रङ्गले नुहाएको मन्दिरको भव्यता टाढैबाट स्पर्श ग¥यौं । मन्दिरभन्दा त्यसको गुम्बद लाग्यो झन् आकर्षक । चौरको पूर्वी किनारमा अर्को भव्य विहार देख्यौं । भिक्षु भिक्षुणीहरुको आवास रहेछ यो । हरियो छत र भित्ताहरु पुरै सेता । थाई बास्तुकलाका अनुपम छटाहरु आँखा अगाडि सजीव भएर नाच्न थाले । ‘साधुहरु बस्ने घर पनि दरबारजस्तो !’ आश्चर्य लाग्यो सन्दीप पुरीलाई । ‘थाइल्याण्डमा त कस्ता—कस्ता भव्य भेन्टिछन् मन्दिर र बिहारहरु’ रामचन्द्र सरले थाइल्याण्डको वर्णन गर्नु भो । मानौं थाइल्याण्ड भन्नु नै कलाको घर हो । ‘भित्र झन् कस्तो भव्य होला?’ टक्कर कुँवरको कुतुहलता अझैं सकिएको छैन ।

 
मन्दिर त मन्दिर यहाँ त ध्यान केन्द्र र विहार झन् भव्य र झकिझकाऊ छन् । जुन संरचनालाई हे¥यो त्यही नै कलाकारको अनुपम रचनाजस्तो लाग्छ । वरपर हेरेर मन भरिएकै थिएन स्वयम्सेविकाले जानू भन्ने संकेत गर्न लागिन् । ‘यो घुम्ने होइन ध्यान गर्ने ठाउँ हो’ उनको संकेतको भाव यही थियो । हामी भने यहाँको सम्पूर्ण सौन्दर्यलाई फुर्सदले नियाल्न खोजिरहेका छौं । होहल्ला वा कुनै उपद्रव गरेर यहाँको शान्ति खलबल्याउँछन् कि भन्ने निकै डर देखियो उनीहरुमा । उद्यानभित्र पसेका आगन्तुकहरु छिट्टै गैहालुन् भन्ने भाव छ उनीहरुको नमस्ते गराईमा । बिस्तारै हिड्दैहिड्दै अघि प्रवेश गरेको गेटनिर आइपुग्यौं । त्यहाँ हात धुन र पिउनको लागि पानीका गाग्रा राखिएका छन् । एउटी स्वयम्सेविका निहुरेर नमस्ते गर्दै मसिनो स्वरमा ‘प्लिज वाटर’ भनिरहेकी छिन् । नपिउँ भने पनि उनको अनुरोधलाई पन्छ्याउन मन लागेन । पानी पिएर गेट बाहिर निस्कियौं । वैसाखको प्रचण्ड गर्मी र महामंगलजय उद्यानको शीतलानुभूतिको दोछायाँले मन त्यसैत्यसै लोलाउन थाल्यो । कानमा ठोक्कियो गेटमा कसैले मधुरो स्वरमा बजाएको

सुमधुर मन्त्रः
बुद्धम शरणम् गच्छामि
संघम् शरणम् गच्छामि
धम्मम् शरणम् गच्छामि

प्रतिक्रिया

प्रतिक्रिया