वृद्धाश्रममा पुगेर प्रदेश मन्त्रीले भने, ‘सरकार सामाजिक संघ, संस्थासँग सहकार्यमा ज्येष्ठ नागरिकहरुको आश्रयका लागि काम गर्न तयार छ ।’
‘छाडा पशुलाई समात्न काञ्जी हाउस बनाउन सक्ने सरकारले वेवारिसे नागरिकको संरक्षणका लागि बजेट छुट्याउन किन सक्दैन ?’, शनिबार निल सागर वृद्धाश्रम तथा असहाय सेवा केन्द्र पुगेका प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई स्थानीय व्यवसायिक अगुवा विजय कुमार गुप्ताले भने ।
गुप्ता निल सागरमा एक बर्षयता अभिभावक प्रमुखका रुपमा सक्रिय छन् । उनको भनाइ थियो, ‘छाडा पशु समात्न करोडौं खर्च गर्ने सरकारले वेवारिसे नागरिकको संरक्षणमा एक रुपैयाँ बजेट दिंदैन ।’ सामाजिक विकास मन्त्री बराल सरकारी योजना अनुरुप नै निल सागर पुगेका हुन् । उनलाई स्वागत गर्दै सल्लाहकार समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले वृद्धाश्रम सञ्चालनका लागि सहयोगको याचना गरे । उनले भवन निर्माणको अभियानमा जुटिरहेकाले निल सागरलाई आवश्यक सहयोगको माग प्रदेश सरकारसँग गरेका हुन् ।
तीन बर्षअघिदेखि सञ्चालनमा आएको निल सागर नितान्त मनकारी दाताहरुको सहयोगमा सञ्चालनमा भैरहेको जानकारी दिंदै अध्यक्ष सरिता खनालले सरकारी सहयोगको अपेक्षा गरिन् । सञ्चालक अमन सुवेदीका अनुसार, ७३ जनालाई उनीहरुकै घरमा पुनस्र्थापन गरिसकेको निल सागरमा हाल ५ बालबालिका सहित ३२ जना असहाय, ज्येष्ठ नागरिक आश्रित छन् । ‘उनीहरु मध्ये ८ जनामा बौद्धिक अपाङ्गता छ’, अध्यक्ष खनालले उनीहरुको उपचारमा डा. तनवीर अहमद खाँ र डा. प्रकाश नाग निरन्तर सक्रिय रहेको जानकारी दिंदै भनिन् ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, प्रदेश सभा सदस्य कृष्णा केसी सहित पुगेको अनुगमन टोलीको नेतृत्व गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री बरालले सरकार आफैले भन्दा अभियन्ताहरु मार्फत ज्येष्ठ नागरिकको संरक्षणमा काम गर्न चाहेको बताए । त्यसका लागि निल सागरको प्रशंसा गर्दै मन्त्री बरालले अनुगमनपछि आवश्यक योजना बनाउने जानकारी दिए ।
अध्यक्ष खनालले मासिक ४० हजार घरभाडा तिरेर आश्रमलाई निरन्तरता दिन चुनौति भैरहेको भन्दै भवन निर्माणका लागि दाताहरु गुहारिरहेको बताइन् । ‘हामीलाई पैसा होइन इट्टा, वालुवा, रड, सिमेन्ट दिनुस्’, मन्त्री लगायत सरकारी टोलीसँग अध्यक्ष खनालले भनिन्, ‘तीस कोठाको भवन निर्माणका लागि आवश्यक सहयोगको जोहो गरिरहेका छौं ।’ जग्गादाता भेटिएपछि निल सागरले भवन निर्माणका लागि दाताहरु गुहार लगाइरहेको हो ।