हजारौंलाई माक्र्सवाद पढाउँदै हिडेका अगुवा नेताहरुले मुलुकले समाजवादको धार समात्न सकारात्मक बाटो बनिरहेको बताइरहेका छन्
माक्र्सवादका अध्येताहरुले नेपालमा समाजवादका लागि सकारात्मक अवस्था सिर्जना हुँदै गैरहेको भन्दै त्यसका लागि ‘संघर्षको निरन्तरता’मा जोड दिएका छन् । दुई दिनसम्म प्रदेश ५ का हजार बढी अगुवा राजनीतिक कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर ‘अभियन्ता’ बनाइरहेका उनीहरुले संघर्षको निरन्तरताबाट समाजवाद स्थापना सम्भव भएको बताएका हुन् ।
‘परिस्थिति सकारात्मक बन्दै गैरहेको छ, आम जनता व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रिय र देश विकासका कुराहरु गर्न थालेका छन्’, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका कार्ल माक्र्स द्वीशतबार्षिकी समारोह मूल समितिका संयोजक घनश्याम भुषालले शनिबार नेपालगन्जमा भने, ‘त्यसका लागि हामी यो अभियान चलाइरहेका छौं ।’
कार्लमाक्र्स द्वीशतबार्षिकी समारोहले देशव्यापी रुपमा प्रशिक्षण गर्ने क्रममा नेपालगन्जबाट प्रदेश स्तरीय कार्यक्रम सुरु गरेको हो । ‘काठमाडौंपछि नेपालगन्जमा देखिएको उत्साहले हामी अभियानबाट सकारात्मक परिणाम आउनेमा आशावादी देखिएका छौं’, संयोजक भुषालले भने, ‘यसले कतिपयमा आशंका धेरैमा उत्साह जगाएको छ ।’
कम्युनिष्टहरुको झण्डै दुई तिहाई बहुमतको सरकार बनेपनि जनता सचेत नहुने हो भने परिवर्तन विरुद्धको शक्ति बिस्तारै हावी हुँदै जानसक्ने खतरा नेताहरु औंल्याए । माक्र्सवाद बारे प्रशिक्षण दिन आयोजित कार्यक्रममा नेताहरुले मौलाएको भ्रष्टाचार विरुद्ध जनताको निरन्तर खबरदारीमा पनि जोड दिए । ‘पदमा पुगेपछि जनताका मुद्दा बिर्सिएर सात पुस्ता पुग्ने गरी कमाउन तल्लिन हुनेहरुको संख्या बढिरहेको छ’, नेता भुषालले खबरदारी गर्दै भने, ‘त्यसविरुद्ध माक्र्सवादी अभियानले सार्थक परिणाम दिन सक्नुपर्छ ।’
कार्लमाक्र्सको दुई सय बर्ष पुगेको मौका पारेर देशव्यापी अभियान सुरु गरेका नेताहरुले यसबीच सात वटै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने जनाएका छन् । ‘त्यसपछि १० हजार युवा जो तीस बर्षमूनिका छन् उनीहरुलाई माक्र्सवादबारे शिक्षा दिइनेछ’, प्रदेश ५ संयोजक ठाकुर गैरेले भने ।
नेकपाका नेता शतबार्षिकी समारोहका सहसंयोजक राम कार्कीले दल सत्ताको नेतृत्वमा पुगेपछि भातृ संगठनहरु सेलाउने अवस्थाको अन्त्य गरिनु पर्ने बताए । ‘त्यसका लागि नेताका खल्तीबाट भातृ संगठनको नेतृत्व चयन गर्ने पद्धति समाप्त गरिनुपर्छ’, कार्कीले प्रशिक्षणका क्रममा निरन्तर संघर्षले मात्र समाजवाद सम्भव भएको औंल्याउँदै भने, ‘शान्तिपूर्ण संघर्षबाट पनि उपलब्धीहरु हासिल गर्न सकिन्छ ।’ उनले आदर्श र नैतिकता बचाएर संघर्षलाई निरन्तरता दिने कुरा महत्वपूर्ण भएको बताए ।
दुई दिनसम्म चलेको प्रशिक्षणमा नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह, गणेश शाह, नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका माक्र्सवादी अध्येता प्रदिप गिरी, डा. विजय पौडेल लगायतले प्रशिक्षण दिएका थिए । उद्घाटनको दिन शुक्रबार नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले माक्र्सवादबारे धारणा राखेका थिए ।
प्रदेश संयोजक गैरेका अनुसार, १२ जिल्लाका १ हजार २ सय ७२ जना प्रतिनिधि सम्मिलित प्रशिक्षणमा माक्र्सवाद र नेपाली समाजको विकास क्रम, माक्र्सवाद र विज्ञान, माक्र्सवाद र आजको कार्यभार, माक्र्सवाद र संगठन, युवाहरु बीच माक्र्सवादी अभियान लगायतका विषयमा प्रशिक्षित गरिएको थियो ।
‘कार्ल माक्र्स एउटा यस्तो व्यक्तित्व रहे जसले १ हजार बर्षको पछिल्लो इतिहासमा सबैभन्दा बढी उद्धेलित बनाउने विचार प्रतिपादन गर्यो’, नेताहरुले माक्र्सवाद अध्ययनको महत्व प्रकाश पार्दै भने, ‘जसले अहिलेसम्म सबैभन्दा बढी जनतालाई संघर्षका लागि सडकमा उतार्यो ।’