बाँकेको कोहलपुर स्थित लक्ष्मी मावि बर्दहवाका शिक्षक र विद्यार्थीहरुले न्यायालय राजनैतिक प्रभावबाट मुक्त हुनु पर्ने जोड दिएका छन् । उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले आयोजना गरेको न्यायिक संवाद कार्यक्रममा बोल्दै शिक्षक विद्यार्थीहरुले न्याय सबैको पहुँचयोग्य हुनु पर्नेमा जोड दिएका हुन् ।
न्याय सम्पादनमा पैसा हुने र पहुँचवालाको प्रभाव अन्त्य गरिनु पर्ने भन्दै कार्यक्रमका सहभागीहरुले अदालतमा हुने भष्टाचार रोकिनु पर्ने, जनविश्वास बढाउने गरि अदालतले न्याय सम्पादन गर्नु पर्ने, न्यायमा धनी गरिव, उचनिच सबैको समान पहुँच हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालय शिक्षक निम बहादुर खत्रीले, न्यायीक अदालतमा हुने गरेको भष्टाचार रोक्ने निकाय अख्तियार हो कि कुन निकाय हो भन्ने पश्न गर्दै प्रहरी प्रशासनले पहुँचवालाको पक्ष पोषण गरेर मुद्दाको अनुसन्धान गर्न नहुने बताएका थिए । न्यायालयले कसैको दबाबमा नपरी निष्पक्ष तरिकाले न्याय सम्पादन गर्नु पर्नेमा शिक्षक खत्रीको जोड थियो ।
सहभागीहरुले राखेका जिज्ञासाको उत्तर दिंदै उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश प्रेमराज कार्कीले अदालत विधि र प्रक्रिया अनुसार चल्ने भन्दै अदालतले कसैको प्रभाव र दवावमा नपरी निष्पक्ष तरिकाले न्याय सम्पादन गर्ने गरेको जानकारी दिए । न्यायाधीशबाट हुने भष्टाचार हेर्ने निकाय न्यायपरिषद् रहेको जानकारी गराउदै न्यायाधीश कार्कीले अदालतले सबै सेवाग्राहीप्रति समान ब्यवहार गर्ने गरेको बताए । यदी कसैले ब्यक्तिगत रुपमा गडबढी गरेमा त्यसको सुनुवाई गर्ने निकाय रहेको न्यायाधीश कार्कीले बताए । न्यायाधीश कार्कीले कानून र न्याय सबैको सरोकारको बिषय भएकाले उच्च शिक्षामा कानून बिषय अध्ययनका लागि विद्यार्थीहरुलाई सुझाव दिएका थिए ।
कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश गणेश प्रसाद बरालले अन्याय पर्दा न्याय दिने ठाउँ अदालत भएकाले बिरामीको उपचारका लागि अस्पताल लगे जस्तै अन्यायमा परेका ब्यक्ति कानूनी प्रक्रियाद्वारा अदालतमा उजुरी गर्नु पर्नेमा जोड दिएका थिए । सहभागीहरुको प्रश्न तर्फ इंगित गर्दै न्यायाधीश बरालले सस्थाका एकाध मान्छे खराव भए पनिे समग्रतामा संस्था खराव नहुने बताए ।
कार्यक्रममा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका सदस्य समेत रहेका अधिवक्ता वसन्त गौतमले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले कानून सबैले जान्नु पर्ने बताए । आफ्नो अधिकारको बारेमा सबै सचेत रहुनु पर्ने भन्दै गौतमले कानूनको उल्लघंन गर्ने उपर कानूनी कारवाही गर्न र पीडितको न्यायको लागि शिक्षक र विद्यार्थीहरुले अहम भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।
नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बल बहादुर चन्दले न्याय सबैको पहुँचयोग्य हुनुपर्ने भन्दै अन्यायमा परेका पीडितहरुलाई न्याय दिलाउन नेपाल बार एशोसिएसनले सहयोगी भूमिका खेल्ने बताए ।
कार्यक्रमा लक्ष्मी स्कूलका प्रधानाध्यापक बद्रीनाथ सापकोटाले न्यायिक सम्बाद कार्यक्रमबाट अदालती काम कारवाही बारे धेरै कुरा जान्ने अवसर मिलेको बताए । अन्यायमा परेका असक्षम ब्यक्तिलाई निशुल्क कानूनी सहायताको ब्यवस्था रहेको जानकारी कार्यक्रमबाट पाएकाले अव यस क्षेत्रका जनताले सेवा लिन मद्दत पुग्ने बताए । न्याय सम्पादन विधि प्रक्रिया, तथ्य र प्रमाणका आधारमा हुने रहेछ भन्ने कुरा कार्यक्रमबाट सिकिएको प्रधानाध्यापक सापकोटाले बताए । अदालत परिवार र कानून ब्यवसायीको टोली विद्यालयमै आई कानूनी प्रक्रिया र अदालती काम कारवाही बारे जानकारी गराएकोमा आयोजकप्रति उनले आभार व्यक्त गरेका थिए ।
विद्यालयमै अदालतका न्यायाधीश पुगि अदालती काम कारवाही र न्यायिक प्रक्रिया बारे जान्न पाउदा बिद्यार्थीहरु दङ्ग परेका थिए । आम नागरिकको न्यायमा सहज पहुँचमा मद्दत पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको अदालतका शाखा अधिकृत पुष्पराज जोशीले बताए ।
न्यायिक सम्बादका क्रममा बिद्यार्थीहरु समिना खातुनले पछिल्लो समय सबैमा अनुशासन हितता बढेको, लागु औषध अपराधको बढोत्तरी भएको भन्दै न्याय सबैको पहुँच योग्य हुनु पर्नेमा जोड दिइन् । कार्यक्रममा सहभागी शिक्षक विद्यार्थीहरुले न्याय सम्पादनको क्रममा कसैलाई पनि विभेद गर्न नहुने, सबै सेवाग्राहीहरुलाई सम्मानजनक व्यवहार गरिनु पर्ने, अपराध अनुसन्धानको क्रममा प्रहरी प्रशासनको राम्रो व्यवहार हुनु पर्ने, अदालती काम कारवाही सरल सहज र सबैको पहुँच योग्य हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शाखा अधिकृत हेमराज तिमिल्सेनाले संचालन गरेको कार्यक्रममा अदालतका बैतनिक कानून ब्यवसायी बिश्वजित तिवारी, अदालतका अधिकृत मुन्ना सिंह क्षेत्री, अदालतका कर्मचारी बासुदेव गिरि, दिपेन्द्र न्यौपाने,धनराज पुरी, विद्यालयका शिक्षक, चुडामणि ढकाल, श्रीभद्र सुवेदी, निम बहादुर खत्री, जनकराज उपाध्याय, भुपति लामिछाने,जितेन्द्र थारु, सुरेन्द्र केसी, शिवा शाह, सरस्वती ढकाल, संगिता थारु र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
अदालत भने पछि ठुलै चिज हो भन्ने बुझेका विद्यालयका शिक्षक, विद्यार्थीहरु अदालतका न्यायाधीश कर्मचारी र वकिल समेतलाई आफ्नो विद्यालयमा पाउँदा अदालती हाउगुजी हटाउन मद्दत पुगेको बताएका थिए ।