दैनिक नेपालगन्ज/विनय दीक्षित
नेपालगन्ज सभ्य नागरिकहरुको सहर हो । पश्चिम नेपालको केन्द्रको रुपमा चर्चा लिँदै आएको सहर पछिल्लो समय औद्योगिक सहरको रुपमा परिचित हुन थालेको छ । यसअघि प्रदेश ५ को राजधानीको मागमा लामबद्ध देखिएको नेपालगन्ज, मौसम अनुसार चर्को गर्मी, सित लहर र वर्षायाममा डुबान खेप्दै आएको सहर पनि हो । यसैसाता आइतवार र सोमवार परेको पानीका कारण अधिकाँश क्षेत्र जलमग्न हुन पुग्यो ।
सामान्य वर्षाका बेला नेपालगन्जका गल्ली, भौतिक संरचना र बाटो घाटो बाढीजन्य दृष्यमा बदलिन्छन् । अनि चर्चा सुरु हुन्छ उपमहानगरपालिका कार्यालयको लापरवाही र ढल निकासको । आम नागरिकले सहर डुबान हुनुको पछाडी मात्र उपमहानगरपालिकाको सरसफाई र ढलनिकास ब्यवस्थापनलाई दोषी ठान्छन् । सडकमा थुप्रिएको निर्माण सामाग्री, त्यसबाट भएको नाली जाम, र नालीमा प्लास्टिक फोहोर फालेर आफु सफा देखिने बानी पनि नेपालगन्ज डुबानको कारक हो ।
पानी जम्नु, बेलैमा निकास नहुनु, नेपालगन्ज डुबानमा पर्नु, मात्र एउटा ब्यक्ति दोषी होइन । आफुलाई शिक्षित भन्ने जमात अर्थात सहरियाहरुले उत्पन्न गरेको प्लास्टिक जन्य समस्या पनि डुबानमा उत्तिकै दोषी रहेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत वातावरण इन्जिनियर प्रकाश डीसीले बताए ।
‘वर्षाका कारण भएको डुबान वा पानी जमने समस्या नौलो होइन’, इन्जिनियर डीसीले भने, ‘समतल भूभाग भएका कारण परेको पानी निकासमा समय लाग्ने गर्छ र केहि बेर पानी जम्नु स्वभाविक हो ।’ सडकमा फोहोर फाल्न पाइंदैन, यो गैरकानूनी काम हो । निर्माण सामाग्री राख्नु त झन् बढी अपराध हो । यसलाई नियमन गर्ने निकाय आफै मौन बसेपछि सहरको दुर्दशामा भागीदार जिल्ला ट्राफिक कार्यालय, वडा प्रहरी कार्यालय र स्थानीय तह पनि हो ।
सहरमा ट्राफिक ब्यवस्थापनमा चुस्तता ल्याउन सक्रिय रहेका जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख हिरेन्द्र रोकाय सोधियो सडकमा निर्माण सामाग्री कुन कानून अन्तर्गत राखिएको छ ? उनी भन्छन्, ‘यसरी सडकमा कुनैपनि हालतमा निर्माण सामाग्री वा कुनैपनि सामाग्री राख्न पाउने कानूनी ब्यवस्था छैन, यो गैरकानूनी काम हो ।’
‘हामीले पटक–पटक प्रयास गरेर सडक ब्यवस्थापनलाई प्राथमिकताका साथ हेरिरहेका छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै ट्राफिक प्रमुख रोकायले भने, ‘नालीमा बालुवा, ग्राभेल ईंटा राखेर नाली जाम हुने काम गर्ने ब्यक्तिहरु दोषी हुन् ।’ यसै साता डुबान भएको समस्या बारे विश्लेषण गर्दै रोकायले भने, ‘उपमहानगरपालिकाले सडक सम्बन्धी ब्यवस्था अनुगमन गर्छ, यस्ता भित्री बाटोमा राखिएको निर्माण लगायतको सामाग्री हटाउने प्रयास भइरहेको छ ।’
सडकमा अतिक्रमण गरि ब्यवसाय चलाउने ब्यापारीलाई कारवाहीको दायरामा ल्याएका रोकाय, सडकमा थुप्रिएको निर्माण सामाग्री तर्फ ध्यानाकर्षण भएको बताए । उनले यस बारे सरोकारवाला कार्यालयहरु छलफल गरेर निकासमा काम गर्ने तयारी रहेको जानकारी दिए ।
सहरमा यत्रतत्र सडकमा राखिएको निर्माण सामाग्री हटाउने अभियानको खाँचो रहेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डाँगीले बताए । ‘यो आम नागरिकको दायित्वको विषय पनि हो’, उनले भने, ‘सबै पक्ष डुबान बारे गम्भीर भएर सफाई अभियानमा सक्रियता देखाएको खण्डमा आधा बढी समस्या स्वतः समाधान हुन्छ ।’ डाँगीले अरु सरोकारवाला कार्यालय अर्थात नेपालगन्ज उपमहानगरपालिका पनि डुबान हुनुको पछाडी दोषी रहेको बताए । डुबानका दिन प्रहरी टोली सहित नाली र ढलनिकास सफाईमा सक्रिय देखिएका डाँगी खुल्ला रुपमा प्रयोग भइरहेको प्लास्टिक डुबानको मुख्य कारक रहेको प्रष्ट पारे ।
देशमा संघीयता आएपछि अहिले स्थानीय तह स्थापित भई सक्रिय रुपमा काम गर्दैछ । नेपालगन्जमा डुबानमा परेका वडा अध्यक्षहरु पनि प्रत्यक्ष सरोकारवाला प्रतिनिधी हुन् । तर, नेपालगन्ज वडा नं १८ का अध्यक्ष दिपक बर्माले नाली पात्लो हुनु र त्यसमा प्लास्टिक जन्य फोहोर जम्नु डुबानको मुख्य विषय रहेको बताए ।
‘हामी अधिकांस क्षेत्रमा निर्माण गरिरहेको सडकहरु नै डुबान क्षेत्रको रुपमा देखिएका छन्’, दैनिक नेपालगन्ज संग उनले भने, ‘त्यसका लागि उपमहानगरपालिका संग समन्वय गरेर आगामी वर्षहरुमा काम गर्ने तयारी छ ।’ डुबान नेपालगन्जको गम्भीर समस्याको रुपमा रहेको बताउँदै बर्माले यसका लागि नगरवासीले पनि फोहोर ब्यवस्थापनमा भूमिका निर्वाह गर्नु पर्ने सुझाव दिए । नेपालगन्जको वडा नं. १ धम्बोझीलाई उत्कृष्ट वडा बनाउने उद्घोष गरेका वडा अध्यक्ष अधिवक्ता प्रमोद रिजालले उपमहानगरपालिकाबाट बेलैमा हुनु पर्ने काम हुन नसकेको स्वीकार गरे । ‘वर्षायाम अघि नै नाली, ढल निकास ब्यवस्थापन र सरसफाई गरिनु पर्ने त्यो हुन सकेन’, अध्यक्ष रिजालले भने, ‘तर आगामी वर्षबाट यो चुक हुन पाउनेछैन, बेलैमा सुधारका कामहरु सम्पादन हुनेछन् ।’
नेपालगन्जको बेलासपुर क्षेत्र एक दशकदेखि डुबानको केन्द्र बन्दै आएको छ । सामान्य वर्षा पछि जमेको पानी वर्षायाम सकिएपछि नै सुक्ने गरेको छ । महिनौंसम्म स्थानीयबासीहरु जमेको पानी र त्यसबाट उत्पन्न हुने विभिन्न रोगको सामना गर्दै आएका छन् । बाटो र नाली निर्माणको कार्य तीब्र गतिमा छ, तर पानी निकास उचित छ वा छैन भन्ने सन्दर्भमा वडा अध्यक्ष बुद्धी सागर सुवेदी अलमलमा छन् ।
विकास निर्माणको काम त भइरहेको छ पानी जम्ने हो वा होइन त्यो अझै यकिनका साथ भन्न सकिँदैन । टोल बारे बताउँदै सुवेदीले भने, ‘वर्षौंदेखि तलाउको रुपमा रहँदै आएको वडा क्षेत्रलाई केहि हदसम्म सुधार गर्ने प्रयास गरेको छु ।’
स्थानीय बासिन्दा मात्र होइन वडा नं.१२ को कार्यालय पनि जलभरावको पीडा खेप्न बाध्य छ । कर्मचारीहरु जमेको पानीमा कपडाहरु माथि माथि सार्दै कार्यालयमा पुग्ने गरेको बताउँदै उनले समस्या निकासका लागि काम भइरहेको जानकारी दिए ।
त्रिवेणी मोड देखि घरवारीटोलको अवस्था भन्न लायक छैन । वर्षायाम होस वा सुख्खा याम अधिकांस क्षेत्र जलमग्न नै हुन्छ । नाली सडकमा छ कि सडक नालीमा, यो बुझ्न पनि ठूलै सकस छ । सुख्खा सडक स्थानीयहरुले नहेरेको वर्षौं भयो । सडक विस्तारका हवाई योजनाहरु चर्चामा आए, तर घरबारी टोल उस्तै छ । वडा नं.४ का अध्यक्ष मोहम्मद सफीक बेहनाले सहर अब डुब्न नदिने प्रतिबद्धता ब्यक्त गरे । हालै भएको डुबानबाट हामीले पाठ सिकेका छौं, बेहनाले भने, तत्कालै डोजर प्रयोग गरेर पानी निकास बनाइएको छ । ‘आगामी दिनमा यस्तो हुन नदिनका लागि उपमहानगरपालिका प्रयासरत छ’, उनले भने, ‘अझै धेरै कुराहरु निर्माणको क्रममा रहेका कारण समस्या उत्पन्न भएको हो ।’
सहर डुब्दा मौसमलाई दोष दिँदै वडा नं.११ का अध्यक्ष उज्वल सिंह राठौरले भने वर्षापछि पानी जम्नु स्वभाविक हो । उनले भने, ‘पानी जमेपछि तत्कालै डोजर प्रयोग गरे पानी निकास सरल बनाईको छ ।’ राठौरको भनाईको अर्थ हो, पानी निकास बनाउनका लागि पहिला सहर डुब्नु पर्छ । ‘त्यसपछि उपमहानगरपालिकाले पानी निकासका लागि डोजर चलाउँछ’, उनले भने, ‘हामी विकास र समृद्धि तिर अग्रसर छौं ।’
वडा अध्यक्ष, ट्राफिक प्रमुख, वडा प्रहरी प्रमुखले जस्तो कुरा गरेपनि स्थानीयहरुको मुद्दा त्यति मात्र होइन । घरबारीटोलका बासिन्दा हरि न्यौपानेले सडक विस्तारको हल्ला सुनेको एक वर्ष वितेको बताए । नालीबाट बाहिर निकालिएको फोहोरमा घाँस उम्रिदा सम्म नउठाइएपछि सहरमा सफाई कर्मचारी छन् कि छैनन् भन्ने प्रश्न पनि खडा हुन्छ । नेपालगन्जका बासिन्दाहरु भन्छन् एक साता बढि समय देखि नालीबाट झिकिएको फोहोर सडकमा यत्रतत्र छ ।
सहाबा रोड बस्ने सफीस सेख भन्छन्, ‘१५ दिन अघि नालीबाट निकालिएको फोहोर सुखेर घाँस उम्रियो ।’ ‘सफाई कर्मचारीले निकालेको कतिपय स्थानको फोहोर पुनः नालीमा पुग्छ’, उनले भने, ‘कर्मचारी भेटाउन मुस्किल छ ।’ मुख्य सडक सुर्खेत, गुल्म क्षेत्र, पुष्पलाल चोक, सेतुबिक चोक, फुल्टेक्रा, अस्पताल क्षेत्रमा यसैगरि फोहोर भरिभराउ छ । समस्या समाधानको साटो हरेक वर्ष बढ्दै गएको छ । नेपालगन्जमा प्रतिदिन ३५ टन फोहोर उत्पन्न हुन्छ । त्यसलाई फाल्ने उचित स्थान पनि छैन ।
हिरमिनियामा निर्माणाधीन रहेको ल्याण्डफिल साईटको काम अझै पूरा हुन वर्ष लाग्ने सक्ने इन्जिनियर डीसीको भनाई छ । विभिन्न खेत, सार्वजनिक जग्गा, सडक छेउमा नेपालगन्जको फोहोरलाई ओत लगाउने बाहेक विकल्प छैन । यसरी उत्पन्न भएको फोहोर कतिपय स्थानबाट संकलन नै हुँदैन । नेपालगन्जको सरसफाईका लागि प्रतिवर्ष २ करोड ५० लाख रुपैयाँ खर्च हुन्छ । ११२ जना कर्मचारी रातदिन सफाई कार्यमा सक्रिय छन् । तर प्रतिफल सहरको अवस्था र दुर्गन्धले बताउँछ ।