टीएस ठकुरी
बिश्व खेलकुद पत्रकारिता दिवस : ओलम्पिकसँगै जन्मिएको खेल पत्रकारिता
खेलाडी र खेलपत्रकारका लागि ‘ओलम्पिक’ साझा सपना हो । बिश्व खेलकुदको महामेला ‘ओलम्पिक’ खेल्ने हरेक खेलाडीको अन्तिम सपना हुन्छ भने खेलपत्रकारको लागि रिपोर्टिङ गर्ने त्यस्तै आकांक्षा । हुनपनि नेपालको खेलकुद पत्रकारिताको नाता ओलम्पिकसँगै गाँसिएको छ । नेपालले जबदेखि ओलम्पिकमा सहभागिता जनाउन थाल्यो, तबदेखि नै नेपाली पत्रकारहरुमा खेलकुद सम्बन्धि रिपोर्टिङको इच्छा जागेको पाइन्छ ।
सन् १९५२ को हेलसिन्की सहभागिता नै नेपालका लागि डेब्यु ओलम्पिक हो । जुन बिश्व खेलकुद महाकुम्भको १५औं संस्करण थियो । यसमा नेपाल पर्यवेक्षकमा रुपमा पुगेको थियो । हरेक चार बर्षमा हुने ओलम्पिकको १६औं (मेलबर्न ओलम्पिक)संस्करणमा नेपालले प्रतिनिधित्व गरेन । तर यतिबेला नेपाली पत्रकारहरुमा खेलकुद रिपोर्टिङको चस्का लागिसकेको थियो । र, सन् १९५६ मा मणिन्द्रराज श्रेष्ठले खेलकुद म्यागजिन सुरु गरे । उनको सम्पादनमा सुरु भएको ‘स्पोर्टिङ टाइम्स’ नै नेपालको पहिलो खेलकुद म्यागजिन हो । यो पाक्षिक थियो । केही अंक प्रकाशनपछि यो बन्द पनि भयो । सन् १९६० को रोम ओलम्पिकमा फेरि नेपालले पर्यवेक्षकका रुपमा भाग लियो । सोही साल श्याम केसीले ‘स्पोर्ट्स म्यान’ मासिक सुर गरे, त्यो पनि चाँडै बन्द भयो ।
स्पोर्ट्स म्यानको प्रकाशनले खेलकुद पत्रकारिता बिस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको जानकारहरु अहिले पनि बताउँछन् । त्यसपछि कैयन खेलकुद म्यागजिन प्रकाशित भए, तर कुनै पनि नियमित प्रकाशन हुन सकेनन् ।
सन् १९६७ मा राजेन्द्र बहादुर श्रेष्ठको सम्पादकत्वमा ‘रंगशाला’ प्रकाशन भयो । सोही बर्ष राष्ट्रिय खेलकुद परिषदले ‘खेल र खेलाडी’ प्रकाशित गर्यो खेलकुद म्यागजिनका रुपमा । यी दुवैले निरन्तरता पाउन सकेनन् । १९७४ मा राखेपले ‘खेलकुद र जनजीवन’ त्रैमासिक सुरु गरेको थियो, जुन केही अंकपछि बन्द भयो । सरकारको अंग भएर पनि राखेपले बार्षिक बजेटसँगै किन आफ्ना प्रकाशनलाई निरन्तरता दिन सक्दैन भन्ने अहिले पनि बहसकै बिषय बनेको छ । राखेपले फेरि रेडियो नेपाल र नेपाल टेलिभिजनमा खेलकुद कार्यक्रम सुरु गर्यो, त्यो पनि छोटै रह्यो । सुबोध गिरीले ‘खेल जगत’ १९७९ मा सुरु गरे जुन १९८७ सम्म ढुलमुल ढुलमुल भइकन पनि चल्न सक्यो । यो नियमित प्रकाशन हुन नसक्नुमा लगानी र तालिमप्राप्त खेल पत्रकारको अभाव नै थियो ।
यसैबीच ‘खेलकुद मञ्च’, ‘खेल संसार’, न्यु स्पोर्ट्स मासिक जस्ता म्यागजिन पनि बजारमा देखिए । अहिले ती सब बन्द भइसकेका छन् । स्पोर्ट्स म्यागजिन जति प्रकाशन भए, ती केही अंकपछि बन्द भए । यसको सबैभन्दा प्रमुख कारण आर्थिक पाटो नै थियो । प्रकाशनका लागि आर्थिक स्रोतको अभाव, विज्ञापनको अभाव र सानो बजार नै खेलकुद म्यागजिन बन्द गर्नुको कारण मानिन्छ ।
लसएञ्जल्स ओलम्पिकपछि मात्र नेपालमा खेलकुद पत्रकारिताले महत्व पाउन सुरु गरेको इतिहास भेटिन्छ । सन् १९८४मा लसएञ्जल्स ओलम्पिक आयोजना भयो, जतिबेला कीर्तिमानी भारोत्तोलक ओलम्पियन सुरेन्द्र हमाल पनि सहभागि भएका थिए । त्यसको एक बर्षपछि (१९८५) मात्र खेलकुद पत्रकारिताले महत्व पाएको अग्रजहरु बताउँछन् । जतिबेला नेपालमा दुई ब्रोडसिट दैनिक पत्रिका गोरखापत्र र द राइजिङ नेपाल थिए । खेलकुदका लागि अलग पेज थिएन, एकदम कम कभरेज हुन्थ्यो । त्यतिबेला मोफसलमा खेलकुद लेख्ने पत्रकार नै नभेटिने गरेको ओलम्पियन हमाल बताउँछन् ।
द राइजिङ नेपालले नै स्थापना कालदेखि नै खेलकुद समाचारलाई प्राथमिकता दिएको देखिन्छ । यद्यपी दैनिक समाचारपत्रहरुले ९० को दशकसम्म अलग पेज दिएका थिएनन् । सन् १९९०पछि राष्ट्रिय दैनिक समाचारपत्रहरुले अलग खेलकुद पेज सुरु गरे, जुन आजको दिनसम्म पनि यथावत छ । यो खेलकुद पत्रकारिताका लागि सकारात्मक पक्ष हो । वर्तमान परिस्थिति यस्तो छ कि हरेक दैनिक समाचारपत्रले खेलकुद पेज अलग दिएका छन् । तर उनीहरु खेलकुद समाचारका बारेमा अझै त्यति गम्भीर अझैपनि छैनन् । खेलकुदको समाचार पहिलो पृष्ठमा प्रकाशनका लागि खेलकुद डेस्कले पत्रिकाको सम्पादकलाई महत्व बुझाइदिनुपर्ने अवस्था छ ।
प्राय दैनिक समाचारपत्रहरुले दुई वा बढी पेज दिनु भनेको खेलकुदको महत्वलाई आत्मसात गरेको भन्ने बुझ्नुपर्छ । मिडिया भनेको नागरिक आवाज हो । मिडियाले दिएको स्थान हेर्दा नागरिक आवश्यकता हो भन्ने लाग्छ ।
विद्युतीय मिडियाले खेलकुदको महत्वलाई आत्मसात गर्दै अघि बढ्न खोजेका छन् नेपालमा, उनीहरुले कभरेज दिए, केही इभेन्टलाई प्रत्यक्ष प्रसारण गर्न सुरु गरेका छन् । नेपाल टेलिभिजनले फुटबल र क्रिकेटको चार पाँच बर्षका लागि राम्रो रकम खर्चेर प्रसारण अधिकार किन्ने अभ्यास पनि सकारात्मक हो खेलकुदको विकासका निम्ति । हालका दिनमा नेपाल टेलिभिजनबाहेकका नेपाली टेलिभिजन च्यानलहरु प्रत्यक्ष प्रसारणको अधिकार किन्ने सवालमा प्रतिस्पर्धाको दौडमा छन् ।
मुलधारको खेल पत्रकारिताले गति समात्नेक्रममा अहिले ठुलो नेटवर्क खडा गरिसेकेको छ, खेलपत्रकारलाई संगठित पनि गरिसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्च खेलपत्रकारहरुको साझा संस्थाका रुपमा स्थापित भइसकेको छ । बिश्व खेलकुद पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ(एआइपीएस)को महत्वपुर्ण सदस्यका रुपमा नेपालले आफुलाई अघि बढाएको छ । देशभित्र तालिम तथा प्रशिक्षण बेला बेला सञ्चालन गर्दै आएको छ । उर्जाशील युवा पत्रकारलाई अन्तर्राष्ट्रिय तालिमको अवसर पनि दिन थालेको छ । तर मोफसलको खेल पत्रकारिता अपेक्षित गतिमा गुड्न सकिरहेको छैन । मोफसलमा अब्बल पत्रकारहरु छन्, तर उनीहरु खेलपत्रकारिताको दौडमा निकै पछाडि छन् । यसको एउटै कारण हो, मोफसलका पत्रकारहरुको खेलकुद प्रतिको अभिरुचि कम । किनकी खेल पत्रकारिता गर्न गहिरो अध्ययन आवश्यक छ, प्राविधिक ज्ञानको खाँचो छ ।
काठमाडौंमा क्रियाशील पत्रकारहरु प्राज्ञिक हिसाबले स्नातक तह उत्तीर्ण वा सोभन्दा माथि प्राज्ञिक प्रमाणपत्र प्राप्त मात्र छन् । मोफसलको अवस्था अलिक फरक पाइन्छ । उच्च शिक्षा हासिल गरेकाहरुका लागि खेल रिपोर्टिङ उच्च प्राथमिकतामा छैन । नेपालको राज्य संरचनाका कारण पनि सायद यसो हुन गएको हो कि? सबै खेलकुद विकाससँगसँगै खेलकुद सम्बद्ध निकायले पत्रकारिता तालिमलाई पनि उच्च प्राथमिकतामा राख्न जरुरी छ । किनकी खेलकुद र पत्रकारिता एक सिक्काका दुई पाटा हुन् । पहिले कुन भन्ने मात्र सवाल हो । यसहिसाबले पहिले खेलकुद आयोजना गर्ने, त्यसपछि खेल पत्रकारिता तालिम ।
नेपाली खेलकुदको कमान्ड राष्ट्रिय खेलकुद परिषदसँग रहँदा जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिहरु यसअघि कहिल्यै योजना तर्जुमा र कार्यान्वयन गर्ने तहमा रहन सकेनन्, स्वायत्त ढंगले काम गर्न पाएनन् । अब प्रादेशिक संरचनामा गइसकेपछि भने यो सब आशा गर्ने ठाउँ देखिन्छ ।
स्थानीय तहले खेलकुदको महत्व आत्मसात गरी खेलकुद पत्रकारितालाई समेत सँगसँगै अगाडि बढाउन चाहे स्थानीय तहको खेलकुद पत्रपत्रकारिता दौडन सक्छ, अन्यथा फेरि पनि गुनासोका पोका सिवाय हामीसँग केही हुनेछैन ।