नेतृत्वमा मिश्रको निरन्तरता
समाचारदाता
दैनिक नेपालगन्ज
कर्णाली विकास बैंकले आफ्नो अधिकृत पूँजी ५० करोड पुर्याउने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई पूँजी बढाउन वा त्यसका लागि मर्जरमा जान दिएको निर्देशनका क्रममा कर्णालीले एक्लै आफ्नो पूँजी ५० करोड पुर्याउने निर्णय गरेको हो ।
‘हामी यसै महिना ५० करोड अधिकृत पूँजी पुर्याउँदैछौं’, बैकका अध्यक्ष पशुपति दयाल मिश्रले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि हामी पूर्ण तयारीमा जुटेका छौं ।’ कर्णालीले हाल ४३ करोड रहेको पूँजीलाई दुई साताभित्रै ५० करोड पुर्याउन लागेको हो । ‘हामी मर्जरमा नजाने निश्चित गरेका छौं’, अध्यक्ष मिश्रले भने ।
१६ बर्ष अघि नेपालगन्जमा प्रधान कार्यालय रहने गरी स्थापना गरिएको कर्णाली विकास बैंक बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा विभिन्न १४ वटा शाखा बिस्तार गरिसकेको छ ।
यसैबीच, कर्णाली विकास बैंकको विशेष साधारणसभाले अध्यक्ष मिश्रलाई नै आगामी कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको छ । शनिबार भएको विशेष साधारणसभाले सञ्चालकमा डा. उषा शाह र युवराज अधिकारलाई नियुक्त गर्दै पुरानो सञ्चालक समितिलाई निरन्तरता दिएको हो । ‘छिट्टै नियमित साधारणसभा गर्ने गरी त्यतिञ्जेलका लागि हाम्रो नेतृत्वलाई निरन्तरता दिने निर्णय साधारणसभाले गरेको छ’, मिश्रले भने ।










