बाबुकृष्ण शर्मा सहित नेपालगन्जका प्रमुख नेताहरु पक्राउ परेपछि नेपाली काँग्रेसका चन्द्रवीर सिंह (सी.वी. सिंह) रुपैडिहाका लागि हिंडे । उनलाई लिन नेपालगन्जबाट विष्णु प्रसाद शर्मा अधिकारी (शेखर शर्मा) गएका थिए । सी.वी. सिंहले महावीर समशेरबाट स्टेनगन १ र माउजर १ लिई हिडेका थिए । सी.वी. सिंह रुपैडिहा दशरचन्द्र आश्रम पुग्दा प्रकाश समशेरको ठाउँमा धु्रव समशेर वडाहाकिम भएर आइसकेका थिए ।
वीरगन्ज, भैरहवा र विराटनगरमा क्रान्ति युद्ध सुरु भैसकेको थियो । नेपालगन्जका कार्यकर्ताहरुका साथमा स–साना पिस्तोल र कटुवा बन्दुक बाहेक केही थिएन । यस्तो स्थितिमा युद्ध छेडिहाल्ने परिस्थिति पनि थिएन । राणाहरुका १३१ जना अफिसर, जवान र प्रशस्त गोली गठ्ठा भएको मेजर पद्यम बहादुर खत्री भएको सेना सिहत हतियारहीन नेपालगन्जका युवाहरु सोझै युद्ध छेड्ने आँट गर्न सकेका थिएनन् ।
सी.पी सिंहले रुपैडिहामा त्यस क्षेत्रका सबै क्रान्तिकारीहरुको बैठक गरी पश्चिमका पहाडी जिल्ला कब्जा गरी हात हतियार जम्मा भएपछि नेपालगन्ज कब्जा गर्ने सल्लाह गरे । र, क्रान्तिकारी युवाहरुको एक जत्था बनाई सुदूरपश्चिमका जिल्लाहरु कब्जा गर्ने रणनीति सहित नेपालगन्जका क्रान्तिकारी युवाहरु सी.वी. सिंहको नेतृत्वमा भारतको गौरीफन्टा पुगी अड्डा जमाए । आफ्नो ज्यानको परवाह नगरी सुदूरपश्चिम कब्जा गर्न हिडेका नेपालगन्जका क्रान्तिकारी युवाहरुको जत्थामा गोपाल बहादुर कर्माचार्य, जनक बहादुर कर्माचार्य, विष्णु प्रसाद शर्मा अधिकारी (शेखर शर्मा), रुप सिंह सिजापति, कृष्ण प्रसाद श्रेष्ठ, खड्ग बहादुर सिंह, राम शंकर शुक्ला, बाबु सिंह ठाकुर, गोपाल बहादुर मानन्धर, फकिरे मियाँ, श्यामलाल गुप्ता, गौरीलाल कुँवर, प्रल्हाद सिंह ठाकुर, लाल सिंह, बदलुराम नेपाली, बदलु राम पटहर, जोगाराम थारु र बर्मा आर्षिका अवकाश प्राप्त सिपाही आदि थिए ।
गौरी फन्टाबाट क्रान्तिकारीहरुले आफ्नो अभियान थाले । २००७ साल मंसिरमा ती क्रान्तिकारीहरु नेपाल प्रवेश गरे । कैलाली, वनकटकाका जमिदार धनीराम थारु र पर्तिपुर गाउँका जमिदार तेजराम थारुबाट बारबोर बन्दुकहरु र गोली गठ्ठा सहयोग लिएर कनरी चौकी कब्जा गरे र त्यहाँ रहेको हात, हतियार कब्जामा लिए । यसरी गाउँगाउँका चौकीहरु कब्जा गर्दै उनीहरुले भजनी कब्जा गरे र त्यहाँ भएको हातहतियार र रकम समेत कब्जा गरी कमाण्डर सी.वी. सिंहलाई बुझाए । यसरी कैलालीका चौकीहरु कब्जा गर्दै त्यतातिरका जिमिदारहरु सँग हात हतियारको सहयोग गर्दै जनसेनाको बिस्तार गर्दै कैलाली कब्जा गर्दै पुगे । कैलालीका बडाहाकिम महिकर नारायण देव थारु आफुलाई सुरक्षित राख्न भएका सैनिक परिचालन नगरी कैलाली सदरमुकामको सुरक्षामा लागेका थिए ।
२००७ साल मंसिर २५ गते नेपालगन्जका क्रान्तिकारीहरुले कैलालीमा हमला गरे । बडा हाकिम मैकर देव नारायण थारुले आत्मसमर्पण नगरी भाग्न खोज्दा गौरीलाल कुँवरको गोली लागि उनको मृत्यु भएको कुरा सुनाउँथे नेपालगन्जका क्रान्तिकारीहरु ।
कैलाली कब्जा भएपछि कलकत्ताबाट जनमुक्ति सेनाका रणकुमार गुरुङ्ग, तुक बहादुर गुरुङ्ग, राम बहादुर मगर समेत १२ जना जवान हात हतियार सहित कैलाली आइपुगे । त्यसपछि पश्चिम क्षेत्रका कमाण्डर नेपाली काँग्रेसका महामन्त्री श्री राजेश्वरी उपाध्याय, सिद्धि गणेश मानन्धर, विष्णु बहादुर मानन्धर, लोक बहादुर तामाङ्ग, हो वीर आले र निर्मल लामाका साथ आइपुगे । उनले कैलालीमा जनसरकार गठन गरी तबल भत्ता समेत तोकिदिए । जन सरकारका मिलटरी गभर्नर तोगदली थारु रु. ४०० प्रधानमन्त्री राधाकृष्ण थारु २५०, खाद्यमन्त्री सेन बहादुर लामा २००, अर्थमन्त्री तारा प्रसाद श्रेष्ठ २००, वनमन्त्री जगत बहादुर क्षेत्री २००, यातायात मन्त्री टंक मेयर श्रेष्ठ २०० पाउने जनसरकारका मन्त्रीहरु भए । कैलालीमा जनसरकार गठन भएपछि क्रान्तिकारीहरुको दुई समूह बनाइयो । एक समूह उनीसँगै रह्यो भने अर्को समूहमा रुप सिंहको सहयोगीका रुपमा शेखर शर्मा (विष्णु प्रसाद शर्मा अधिकारी)लाई कञ्चनपुर कब्जा गर्न पठाए ।
यस समूहका अन्य सदस्यहरुमा ध्यान सिंह (डोटी), बदलु पटहर नेपालगन्ज, कृष्ण प्रसाद श्रेष्ठ तौलिहवा, गौरीलाल कुँवर सल्यान, फकिरे मियाँ नेपालगन्ज, बाबु सिंह नेपालगन्ज, लल्लु सिंह नेपालगन्ज, प्रल्हाद सिंह नेपालगन्ज, राम शंकर शुक्ल नेपालगन्ज थिए ।
महेन्द्र विक्रम शाह, राजेश्वरी उपाध्याय सहितको समूह बाँके, बर्दिया कब्जा गर्ने उद्देश्यले राजापुर तिर लाग्यो । फेरि त्यस समूहलाई पनि विभाजित गरी निर्मल लामाको नेतृत्वमा दुल्लु, सुर्खेत, जाजरकोट कब्जा गर्न पठाइयो ।
राजेश्वरी उपाध्यायको टोलीले राजापुर कब्जा गरेर गुलरिया कब्जा गर्न हिड्यो । यस टोलीले सजिलै गुलरिया कब्जा गर्यो । स्थानीय कर्मचारी र नेताहरुको राम्रो समर्थन पाएको थियो । मालका हाकिम भद्रकाली उपाध्यायले आफै मालको तीन लाख रुपैयाँ राजेश्वरी उपाध्यायलाई बुझाएका थिए । बर्दिया कब्जा भएपछि त्यहाँ पनि स्थानीय नेता चित्र बहादुर राईको अध्यक्षतामा जन सरकारबाट गठन गरियो । यस जनसरकारमा सल्लाहकारमा राधाकृष्ण थारु, भद्रकाली उपाध्याय र सुरेशराज शर्मा थिए ।
उता रुप सिंहको नेतृत्वमा गएको दलले कञ्चनपुर, डोटी, अछाम, बैतडी आदी कब्जा गरेका थिए । निर्मल लामाको नेतृत्वको टोलीले सुर्खेत, दुल्लु, दैलेख कब्जा गरेका थिए ।
नेपालगन्जका वरिपरि र पहाडी जिल्लाहरु कब्जा भैसक्दा पनि नेपालगन्जका बडा हाकिम धु्रव समशेर गलेका थिएनन् । उनी राष्ट्रिय सेनाको आडमा तुजुक देखाइरहेका थिए । नेपालगन्जमा रहेका क्रान्तिकारीहरु मुलायम बेहना, दुलरी पण्डित, राजाराम कुर्मी, लच्छि अहिर, घुरे काँदु आदी पूर्वी भेगका किसानहरुको ठूलो जुलुस गोपाल बहादुर सिंह र काँग्रेसका सभापति कुँवर कल्लु सिंहको नेतृत्वमा निस्क्यो । जस्मा राष्ट्रिय सेनाले हवाइ फायर गरेर जुलुस तितरवितर भयो । त्यसबेला गोपाल बहादुर सिंह, कुँवर कल्लु सिंह, मुलायम बेहना, दुलारे पंडित र राजाराम कुर्मी गिरफ्तार गरिए । मुलायम बेहना, दुलारे पण्डित र राजाराम कुर्मी, धु्रव समशेरको रिसको झोंकमा परेर निकै कुटाई खाएर घाइते भए । जेलमा दुई पछि दुलारे पण्डित र राजाराम कुर्मीको मृत्यु भयो । धु्रव समशेरले तेस्रो घाइते मुलायम बेहना पनि मर्छ भन्ठाने र उसलाई रिहा गरिदिए । अरु पक्राउ परेका नेताहरु जेल चलान भए । नेपालगन्जका सबै ठूला नेता कि जेलमा कि मुक्ति युद्धमा भएकाले आलाकाँचा युवाहरु क्रान्तिकारी सेनाको पर्खाइमा बसेको थियो ।
महेन्द्र विक्रम शाह र राजेश्वरी उपाध्यायको टोली टे«नबाट रुपैडिहा पुगे र उनीहरुको जमुनाह कब्जा गरी बसेका थिए । तौलिहवा कब्जा गरेर गोपाल समशेर राणा र दिल बहादुर लामा (डि.बी. लामा) जनमुक्ति सेनाको एउटा दल लिएर जयसपुरमा बसेका थिए । महेन्द्र विक्रम शाह, गोपाल समशेरहरुको टोलीले दक्षिणतिरबाट घेरेकै बखत, दांग कब्जा गरी नेपालगन्ज आएको भरत मणि शर्माहरुले फुल्टेक्रामा डेरा जमाएपछि धु्रव समशेर आत्तिएका थिए । अब उनी कुनै जुक्तीले भाग्ने विचार गर्दै थिए । उनले नेपालगन्जका व्यापारी कृष्ण गोपाल टण्डनसँग सहयोग लिएर भएभरको नेपाली रुपैयाँको भारतीय रुपैयाँ बनाई भारत तिर भागे, योजना बनाए । उनले आफ्नो रातो मोटरमा नेपाली काँग्रेसको चारतारे झण्डा फहराएर रुपैडिहा तिर हिंडे । जयसपुर निर मुलायम बेहनाले उनलाई चिनेर उनले गाडी घेरेर धु्रव समशेरलाई गिरफ्तार गर्न लगाए । अन्तमा केही सीप नलागेपछि उनले आत्मसमर्पण गरे र नेपालगन्ज २००७ साल माघ १६ गते नेपालगन्ज स्वतन्त्र भयो र जेलमा भएका सम्पूर्ण राजबन्दीहरु रिहा भए ।
जेलबाट रिहा भएका बाबु कृष्ण शर्माको सल्लाह अनुसार मुलायम बेहनाको नेतृत्वमा जनसरकार बन्यो । नेपालगन्ज कब्जामा गोपाल समशेर, महेन्द्र विक्रम शाह र भरत मणि शर्मा सबैको समान योगदान थियो । तर, भारत मणि शर्माहरुले नेपालगन्ज कब्जा आफ्नो टोलीले गरेको भनेर जस लिन खोजेपछि विवाद भै क्रान्तिका सर्वोच्च कमाण्डर मातृका बाबु आएर यो विवाद मिलाउनु परेको थियो ।
नेपालगन्जका युवाहरु केन्द्र दशरथ चन्द्र आश्रमका नेपाली काँग्रेसका युवा क्रान्तिकारीहरुले जनमुक्ति सेनाका साथ काँधमा काँध मिलाई सम्पूर्ण पश्चिम क्षेत्र कब्जा गरे । रुप सिंह, विष्णु प्रसाद शर्मा (शेखर), गोपाल बहादुर कर्माचार्य, जनक बहादुर कर्माचार्यको नेतृत्वमा पश्चिम कब्जामा आएको थियो ।
डोटी, सिलगढी कब्जा भएपछि त्यहाँ प्राप्त भएको ठूलो धनराशी र केही प्रशासनिक विषयलाई लिएर क्रान्तिकारीहरु बीच तनावपूर्ण स्थिति भएको थियो । बैतडी कब्जा गरेपछि कृष्ण प्रसाद श्रेष्ठ र रामशंकर शुक्लाहरु केही रकमका साथ डोटीबाट भारत तर्फ लागेका थिए । बाटोमा लेलेको लेकमा अज्ञात बन्दुकधारीहरुले उनीहरुमाथि आक्रमण गरे । कृष्ण प्रसाद श्रेष्ठ भने मारिए तर राम शंकर शुक्ला भने स्थानीय यात्रीहरुको सहयोग पाएर बाँचे । उनले कसैको नाम नलिएर आफ्नै साथीहरुले पैसा लुटेको र आफ्नो हत्या गर्ने प्रयत्न गरेको भनेर बयान दिएका थिए ।
पश्चिमको क्रान्तिमा केही चलखेल भएको थियो नै । विष्णु प्रसाद शर्मा अधिकारी माथि कैलाली कञ्चनपुरको रकम सरकारलाई न बुझाएको मुद्दा चलेपछि उनले आफ्नो नाम शंकर शर्मा राखी विष्णु प्रसाद शर्मा लापता देखाइ उनी बाँचेको भन्ने किंवदन्ती छ । रुप सिंहले पनि आफ्नो रकम दाजुहरुलाई दिएको र आफु कंगाल भएको गुनासो थियो नै । फेरि रामशंकर शुक्लाहरु सो रकम कमाण्डर सी.वी. सिंहका लखनउ खातामा जम्मा गर्न जाँदै गर्दा लेले लेकको घटना भएको गौरी लाल कुँवर जोशी र ध्यान सिंहको आपसी विवादमा गौरीलालको रिवाल्वरको गोली लागि ध्यान सिंहको मृत्यु भएको भन्ने किंवदन्ती पनि छ । यी इतिहासका गर्भमा हराएका कुरा हुन् । क्रान्ति पश्चात केही अपराधी प्रवृत्तिका मानिसहरुका बहकाउमा वनियागाउँ, हिरमिनिया, हलबलडोलीमा डकैतीको घटनामा नेपाली काँग्रेसका तत्कालीन केही नेताका नाम पनि नजोडिएको होइन । बाबु सिंह, ठाकुर र प्रल्हाद सिंह ठाकुर पछि डकैतीको केशमा पनि परे । ठाकुर बाबु सिंहको जेलमै मृत्यु भयो । यस्ता एक दुई अप्रिय घटनाहरुका बावजुद समग्रमा भन्ने हो भने नेपालगन्जका युवा क्रान्तिकारीहरुले पश्चिम नेपालको जिल्लाहरु कब्जा गर्न आफ्नो ज्यानको परवाह नगरी महत्वपूर्ण योगदान पुर्याएका थिए । ती युवाहरु नै पश्चिम नेपालका प्रजातान्त्रिक सेनानीहरु हुन् ।