ओलम्पिक गेट बाहिर नेपालगन्जको राबडी

काठमाडौंको जनजिब्रोमा नेपालगन्जको राबडी जति स्वादिलो छ, नेपालको खेलकुदमा नेपालगन्जका सुरेन्द्र हमाल, पार्वती थापा र अनिता श्रेष्ठको नाम त्यत्तिकै कर्णप्रिय छ । कारण एउटै हो, यी तीनै जना ओलम्पियन हुन्, त्यो पनि कीर्तिमानी । बिश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सहभागिता जनाउनासाथ प्राप्त हुने मानार्थ पदवी जस्तै हो ओलम्पियन । यस्तो पदवी सम्भवतः अन्य विधामा छैन ।

 

सिरियाको दमासकसमा भएको एशियन भारोत्तोलन च्याम्पियनसीप (१९८३)मा कास्य पदक जितेपछि सुरेन्द्र हमालको चर्चा एक्कासी चुलिएको थियो । मिनी ओलम्पिकका रुपमा चिनिने दक्षिण एशियाली खेलकुदको पहिलो संस्करण(काठमाडौं १९८३)मा रजत पदक जितेर नेपालगन्जलाई मुलधारको खेलकुदमा परिचय स्थापित गराएको श्रेय पनि उनै सुरेन्द्र हमाललाई नै जान्छ । खेलकुदको अन्तिम गन्तव्य ओलम्पिकको ढोका खोल्ने पनि सुरेन्द्र नै हुन्, १९८४ को लसएञ्जल्स ओलम्पिक । भलै समसुद्दिन सिद्धिकीले पनि हमालकै हाराहारीका दक्षिण एशियाली पदकहरु जिते, संख्यात्मक रुपमा अझ बढी । तर ओलम्पिकको ढोका उघार्न सकेनन्, सायद उनलाई यसैमा थकथकी पनि लाग्दो हो ।
सुरेन्द्रपछि सुटिङकी पार्वती थापाले सन् १९८८को सिओल ओलम्पिकमा पाइला टेकिन् । यो नेपाली महिलाका लागि पहिलो ओलम्पिक थियो ।

 

सिओल ओलम्पिकमा तीन महिलाले सहभागिता जनाए पनि एक्रिडेसन कार्ड (सहभागिताको सुनिश्चितता) पहिल्यै आएकाले पार्वती पहिलो नेपाली महिला ओलम्पियनका रुपमा दर्ज भइन् । हरेक चार बर्षमा हुने ओलम्पिकको बार्सिलोना संस्करणमा सुटिङकै अनिता श्रेष्ठले बन्दुक उठाइन् । अनिता दक्षिण एशियाली खेलकुद (हाल साग)मा पहिलो नेपाली महिला स्वर्णधारी र सुटिङमा हालसम्मकै एक मात्र साग स्वर्णधारी हुन् । यसरी यिनको शिरमा पनि कीतिमानको ताज छ । सन् १९९२ मा अनिताले बार्सिलोना ओलम्पिकको टिकट काटेयता नेपालगन्जको ओलम्पिक उडान ठप्प छ । यो समयावधि पनि अढाइ दशक बढी भएछ ।

 

यही शनिवार पश्चिम नेपालमा पहिलोपटक नेपालगन्जमा ओलम्पिक डे सेलिब्रेसन गर्ने सन्दर्भमा आयोजित ‘प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रियामा सहभागिहरुले समृद्ध इतिहास, संघर्षमय वर्तमान र सुन्दर भबिष्यका बारेमा चिन्तन गरे । उनीहरुले सम्भावनालाई औल्याउँने प्रयास पनि गरे । खेलकुद, सिनेमा र साहित्यको प्रवद्र्धनमा क्रियाशील क्रियटिभ ह्याण्ड्सले मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिसँगको सहकार्यमा आयोजना गरेको अन्तरक्रियामा अग्रज खेलकर्मी अजितकुमार शर्माले भने–‘निराशा र चिन्ताका कुरा नगरौं, पर्याप्त सम्भावनाहरु छन्, सबैले कर्तव्यबोध मात्र गरौं ।’ ब्याडमिन्टन र भलिबलमा राष्ट्रिय स्तरमा कहलिएका उनी एशियाली खेलकुद (एशियाड सिओल)का हालसम्मकै एक मात्र नेपाली रेफ्री हुन् । प्रदेश वा क्षेत्र भनिएपनि खास खेलकुद नेपालगन्ज पेरिफेरिमै घुमिरहेको पनि उनले स्मरण गराए ।

 

सन् १८९६ अप्रिल ६ मा पहिलो पटक एथेन्समा आयोजना भएको ओलम्पिकले बिभिन्न उतारचढावका बावजुद ३१ औं संस्करण पुरा गरिसकेको छ ।

नेपालको सहभागिता

नेपालले १५औं ओलम्पिकदेखि यात्रा प्रारम्भ गरेको हो । सन् १९५२ मा भएको हेलसिन्की ओलम्पिकमा नेपालले पर्यवेक्षकमा रुपमा सहभागिता जनाउने अवसर पाएको थियो । नरशमसेर राणा र कृष्ण बहादुर बर्माले खेलाडीका रुपमा भाग लिएका थिए । यसमा ६९ देशबाट ५४२९ जनाले भाग लिएका थिए ।

 

सन् १९५६ को मेलबर्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व भएन । तर रोम ओलम्पिक(१९६०)मा पर्यवेक्षकको रुपमा नेपालले फेरि भाग लियो । तर आधिकारि सहभागिता सन् १९६४ देखि थालेको हो । यो ओलम्पिकको १८औं संस्करण थियो । नेपालबाट एथलेटिक्स र बक्सिङका खेलाडीले भाग लिए । म्याराथनधावकद्धय गंगाबहादुर थापा र भुपेन्द्र सिलवालले भाग लिए भने बक्सिङतर्फ नेपाली बक्सर नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भिमबहादुर थापाले स्पर्धा गरेका थिए ।

 

सन् १९६८ को मेक्सिको ओलम्पिकमा नेपालले खेलाडी पठाएन । फेरि सन् १९७२ को म्युनिख ओलम्पिकमा जितबहादुर केसी र भक्तबहादुर सापकोटाले म्याराथनमा भाग लिए । उनीहरुसँगै पहिलोपटक एक जना अफिसियल पनि पुगेका थिए । ती अफिसियल अमेरिकन थिए । जसले यी दुईलाई प्रशिक्षण गराएका थिए । जितबहादुर १९ किलोमिटरसम्म सबैभन्दा अगाडि थिए । सबैले जितबहादुरकै नाम लिएका थिए । अचानक मांसपेशीमा समस्या आएपछि उनले दौड त्याग्नुपरेको थियो । भक्तबहादुरले ६०औं स्थान हासिल गरेका थिए । म्याराथन पुरा गर्ने पहिलो खेलाडी पनि उनी नै हुन् । सन् १९७६ को मोन्ट्रियल ओलम्पिकमा बैकुण्ठ मानन्धर एक्लैले देशको प्रतिनिधित्व गरे । उनले २ घण्टा ३० मिनेट ७ सेकेन्डमा म्याराथन पुरा गर्दै ५० औं स्थान हासिल गरे ।

 

सन् १९८० को मस्को ओलम्पिकमा एथलेटिक्स, बक्सिङ र भारोत्तोलनबाट १२ जनाले भाग लिएका थिए । बैकुण्ठ मानन्धर, नरबहादुर दाहाल, लक्ष्मण बस्नेत र मुकुन्दहरि श्रेष्ठले एथलेटिक्सका बिभिन्न विधामा भाग लिएका थिए । बक्सिङमा उमेश मास्के, रबिराज थापा, नरेन्द्र पोमा, स्वं पुस्करध्वज शाही र बिष्णु मालाकारले सहभागिता जनाए । मस्को ओलम्पिक राजनीतिक कोपभाजनबाट गुज्रियो । एकातर्फ सोभियत संघ रसिया र अर्कोतर्फ संयुक्त अधिराज्य अमेरिकाबीच भएको शीतयुद्धका कारण सहभागिता उत्साहजनक रहन सकेन । यद्यपी नेपालले भने भाग लिएर छाड्यो । यो सगै नेपालले निरन्तर भाग लिंदै आएको छ ।

 

नेपालगन्जको सहभागिता

फेरि १९८४ को लसएञ्जल्स ओलम्पिक पनि राजनीति प्रेरित नै थियो । २३औं संस्करण आयोजनाको जिम्मा अमेरिकाले लिएको थियो । रसियामा भाग नलिनेहरु एकातर्फ थिए । रसियालाई समर्थन गर्ने देशले यस ओलम्पिकमा भाग लिएनन् । तर नेपालले भने भाग लिने निर्णय गर्यो । जसमा नेपालगन्जका सुरेन्द्र हमालसहित एथलेटिक्स, बक्सिङ र भारोत्तोलनमा १० खेलाडी पठायो । त्यसमा एथलेटिक्सका बैकुण्ठ मानन्धर, अर्जुन पण्डित, अमिरी यादव, पुष्पराज ओझा र जोधा गुरुङ थिए । बक्सिङका उमेश मास्के, स्व. दलबहादुर राना र प्रबिन तुलाधरले राम्रो खेल्न सकेनन् । सुरेन्द्र हमाल र जगदीश प्रधानले राष्ट्रिय रेकर्ड राखे । नेपालगन्जनिवासी सुरेन्द्र हमालले पश्चिम नेपालको तर्फदेखि पहिलोपल्ट ओलम्पिकमा ढोका खोले ।

 

सन् १९८८ को सिओल ओलम्पिकलाई निकै महत्वका साथ लिइन्छ आधुनिक ओलम्पिक इतिहासमा । किनकि यतिबेला ओलम्पिक राजनीति मुक्त भइसकेको थियो । नेपाली तेक्वान्दो खेलाडी विधान लामाले प्रदर्शनी खेलमा कास्य पदक जितेर संसारलाई नै चकित तुल्याइदिएका थिए । सियोल ओलम्पिकमा नेपालले तेक्वान्दो, एथ्लेटिक्स, बक्सिङ, सुटिङ, भारोत्तोलन र जुडोमा गरी १७ जना खेलाडी पठाइएको थियो । म्याराथनमा बैकुण्ठ मानन्धरसगै टिका बोगटी, कृष्ण बस्नेत तथा महिलातर्फ राजकुमारी पाण्डे र मेनका रावतले भाग लिए । हरिबहादुर रोकाय र डम्बरदत्त कुवरले पनि एथलेटिक्समा भाग लिएका थिए । हरिबहादुर रोकाय जुम्लानिवासी हुन् । बक्सिङमा स्व. दलबहादुर राना, बिष्णुबहादुर सिंह, झपटसिंह भुजेल, रामबहादुर गिरी र डम्बरदत्त भट्टले राम्रो स्पर्धा गरे । यसैगरी गंगाबहादुर डंगोल र ऋषिराम प्रधानले जुडो तथा भरत सावदले भारोत्तोलनमा राम्रो प्रदर्शन गरे । नेपालगन्जकी पार्वती थापाले १० मिटर एयर राइफल्समा ४३औं स्थान हासिल गरिन् । यो ओलम्पिक नेपालगन्जको लागि निरन्तरता भयो । पार्वती थापा नेपालकै पहिलो महिला ओलम्पियन भनेर पनि इतिहासमा नाम लेखियो ।

 

त्यसपछि सन् १९९२ को बार्सिलोना ओलम्पिकमा एथलेटिक्सतर्फ हरिबहादुर रोकायले भाग लिए । सुटिङमा अनिता श्रेष्ठ र नारायण गुरुङ, प्रमिला थापा सीता राइले तेक्वान्दोमा भाग लिए । सीता राई त्यतिबेला डिस्क्वालिफाइ भएकी थिइन् । अरुको पनि राम्रो प्रदर्शन रहेन । नेपालगन्जकी अनिताले त्यहाँ राम्रै प्रदर्शन गरिन् ।

 

सन् १९९६ मा एटलान्टा ओलम्पिकमा बिभाश्वरी राइले सुटिङ, सुनिललाल जोशीले भारोत्तोलन, टीका बोगटीले एथलेटिक्स, निस्मा गुरुङ र सीताराम शाहीले पौडीमा भाग लिए । सन् २०००को सिड्नी ओलम्पिकमा पौडी, सुटिङ र एथलेटिकसमा पाच खेलाडीले भाग लिए । ज्ञानबहादुर बोहरा र देवीमाया पनेरुले दौड तथा चित्रबहादुर गुरुंगले पौडीमा भाग लिए । सन् २००४को एथेन्स ओलम्पिक नेपालका लागि बिशेष यसअर्थमा छ कि तेक्वान्दोकी संगीना वैद्यले नयाँ सम्भावनाको ढोका उघारिन् । छनोट चरण पार गरेर ओलम्पिक पुग्न सक्ने सामथ्र्य उनले पेश गरिन् । वाइल्डकार्डमार्फत टीकाराम श्रेष्ठ, स्वीमर नयना शाक्य र एलिश श्रेष्ठ, धाविका कान्छीमाया कोजु र राजेन्द्र भण्डारीले पनि एथेन्सको टिकट पाए ।

 

संगीनाको पदचापलाई दीपक बिष्टले पनि पछ्याए । उनले २००८को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेरै सहभागिताको सुनिश्चिता गरे । जुडोकी देवु थापा, पौडीका करिस्मा कार्की र प्रसिद्धजंग शाह, सुटिङकी फुलमाया क्याप्छाकी, एथ्लेटिक्सका अर्जुन बस्नेत र चन्द्रकला थापाले पनि बेइजिङ सयर गर्ने अवसर प्राप्त गरे ।
सन् २०१२ को लन्डन ओलम्पिकमा एथ्लेटिक्सका तिलकराम थारु र प्रमिला रिजाल, सुटर स्नेह राणा, पौडीवाज प्रसिद्धजंग शाह र श्रेया धितालले भाग लिए भने सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोकी निशा रावल, लण्डनमा बस्ने गौरिका सिंह पौडीमा, जुडोकी फुपुल्हामु खत्रीले भाग लिए । ओलम्पिक इतिहासमा फुपुले पहिलो पटक महिला खेलाडीका रुपमा नेपालको राष्ट्रिय झण्डा बोकिन् ।

 

यसरी लगातार तीन ओलम्पिकमा सहभागिता जनाएको नेपालगन्जका लागि ओलम्पिक अब काँडेतारको बार लगाए जस्तै देखिएको छ । मिनी ओलम्पिकका रुपमा चिनिएको दक्षिण एशियाली खेलकुदको उपलब्धि पनि खस्कदो छ । सुरेन्द्र हमाल, समसुद्दिन सिद्धिकीदेखि पार्वती थापा र अनिता श्रेष्ठको बेलामा देखिएको जगजगी यतिबेला सपना जस्तै बनेको छ । तथ्यांकले यसै भन्छ ।

 

यद्यपी नेपालगन्जको मौलिकता र पहिचान धर्मराएको छैन । राबडीको स्वाद यथावत छ । त्रिभुवनको चोकको चाटले ख्याति कमाएकै छ । मुबारकको बिरयानीले काठमाडौंसँगको नाता प्रगाढ बनाउँदै लगेको छ । ओलम्पिकसँग नेपालगन्जको नाता भने बिरानो बन्दै गएको हो कि भन्ने आभाष मात्र भएको छ । सबै सकारात्मक सोंचका साथ हातेमालो मात्र गरिदिए नेपालगन्जले फेरि आफ्नो साख व्युताउँन सक्छ । किनकी ओलम्पिकले नेपालगन्जको मिठो राबडीको स्वाद पर्खिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया