नेपालगन्ज उपमहानगरपालिकाको तेस्रो नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रमको प्राथमिकतामा नेपालगन्ज विमानस्थलबाट नियमित दिल्ली उडानलाई राखिएको छ ।
देवेन्द्रराज पौडेल/दैनिक नेपालगन्ज
नेपालगन्ज उपमहानगरपालिकाले देशकै उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यसहित २ अर्ब ४३ करोड २ लाख वजेट प्रस्ताव गरेको छ । नेपालगन्ज–दिल्ली अन्तर्राष्ट्रिय उडान सुरु गरिने कुरालाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका रुपमा विकास गर्न पहल गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । उपमहानगरपालिकाले नेपालगन्जलाई ५ नं. प्रदेशको आर्थिक तथा औद्योगिक नगरीको रुपमा विकासको उत्कृष्ट नमूना शहर बनाउने लक्ष्य लिएको छ ।
आ.व. २०७५/७६ को लागि २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ रुपिया बजेट सार्वजनिक गर्दै उपप्रमुख उमा थापामगरले राजश्व संकलन, करको दर र दायरा निर्धारण गरिने योजनासहित आन्तरिक श्रोत अभिवृद्धिको कार्यक्रम अगाडि बढाइने आफ्नो नीति सुनाइन् ।
एसियाली विकास बैंक, नगर विकास कोष र बाह्य श्रोतबाट प्राप्त हुने ऋण तथा अनुदान १ अर्ब ११ करोड समेत गरि कुल आय २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ हुने अनुमान वजेट सार्वजनिक गर्दै उपप्रमुख थापाले आन्तरिक श्रोतमा आफ्नो ध्यान पुगिरहेको संकेत दिइन् । वजेट वक्तव्यमा आर्थिक वर्ष ०७३÷०७४ मा आन्तरिक श्रोततर्फ १२ करोड १६ लाख २५ हजार आय अनुमान गरिएकोमा १० करोड ३१ लाख ५२ हजार राजस्व असुल भई करिब ८५ प्रतिशत लक्ष्य हासिल भएको र चालू आर्थिक वर्षको बैशाखसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गरि आन्तरिक श्रोत अनुमानको ९० प्रतिशत भन्दा बढी लक्ष्य प्राप्ती हुने उनको अनुमान छ । आगामी आबको आन्तरिक श्रोतको आय अनुमान १५ करोड ११ लाख प्रस्ताव गरिएको छ ।
गत आ.व. ०७३/७४ मा व्यय तर्फ चालू खर्च २० करोड ३३ लाख ९२ हजार र पूंजिगत खर्च ३२ करोड ३४ लाख ६ हजार रहेको छ । चालु आर्थिक वर्षको हाल सम्मको संशोधित खर्च चालु खर्च तर्फ ९० प्रतिशत भन्दा बढि र पुँजीगत खर्च तर्फ ८० प्रतिशत भन्दा बढी खर्च हुने अनुमान वजेट वक्तव्यले गरेको छ । आगामी आ.व.०७५÷७६ को ब्यय अनूमान चालू खर्च तर्पm सशर्त अनुदान तर्फ समेत गरी ५४ करोड ४ लाख ५० हजार र पूंजिगत खर्च तर्पm १ अर्ब ८७ करोड १८ लाख १३ हजार ३६ हुने अनुमान छ । यसमा चालु खर्च करीब २२ प्रतिशत र पूँजिगत खर्च करीब ७८ प्रतिशत रहने अनुमान छ । पुँजीगत खर्चमा एकीकृत तथा क्षेत्रीय सहरी विकास आयोजनाको अनुदान र ऋण रकम करीब १ अर्ब ११ लाख रहेकोले चालु र पुँजीगत खर्च बीचको अनुपातमा भारी फरक देखिएको उपप्रमुख थापाको तर्क छ ।
कूल आम्दानीको अधिकांश भार संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा दातृ निकायबाट प्राप्त हुने ऋण रहेकोले राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु पर्ने कुरामा उपप्रमुखको जोड छ ।
‘नेपालगन्ज नेपालको पर्यटकीय द्वारः शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र व्यापार विकासको मुल आधार भन्ने नारासहितको सार्वजनिक बजेट, आर्थिक नीति तथा कार्यक्रममा उपप्रमुख थापाले लक्षित समुदायको आयमुलक, रोजगारमुलक र सिपमुलक खालका क्षमता अभिवृद्धि कार्यक्रम तथा प्रविधि हस्तान्तरण जस्ता कार्यक्रम संचालन गरिने बताएकी छन् । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्ने, अवसरबाट बञ्चितिमा परेका वर्गलाई प्रत्यक्ष फाइदा पु¥याउने योजनालाई उच्च प्राथमिकतामा राख्दै समग्र विकासमा हातेमालो गर्ने नीति अवलम्वन गरिने उपप्रमुख थापाद्वारा प्रस्तुत वजेट नीति उल्लेख गरिएको छ ।
बजेट अघि नगर प्रमुख डा. धवल समशेर राणाले ११ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै करको दायरा बढाई राजश्व संकलन वृद्धि गर्ने योजना सुनाए । स्थानीय तहलाई निर्वाध रुपमा एकीकृत सम्पत्ति कर लिने व्यवस्थाको पहलको खाँचो औल्याउँदै डा. राणाले एकीकृत सम्पत्ति कर, घरबहाल कर, मनोरन्जन कर, विज्ञापन कर तथा सवारीसाधन कर संकलन बृद्धिलाई तिब्रता दिइने बताए । सबै किसिमका उद्योग, व्यावसायलाई व्यावसाय करको दायरामा ल्याइने नीति उपमहानगरपालिकाले लिने भएको छ ।
नेपालगञ्ज शहरलाई व्यवस्थित शहरको रुपमा विकसित गर्न र क्षेत्रीय हव एवं स्मार्ट सिटीको रुपमा विकास गर्दै चक्रपथ निर्माण प्रक्रिया अगाडी बढाइने, उपमहानगरपालिकाका सम्पूर्ण सडक पक्की गर्ने, विद्युत, खानेपानी सरसफाई आदिजस्ता न्यूनतम सुविधाहरु उपलब्ध गराउन विशेष पहल गरिने कुरा समेत प्राथमिकतामा राखिएको नगरप्रमुख राणाले बताए ।
छलफलमै रहेको नगरप्रमुखको नीति तथा कार्यक्रममा त्रिवेणीमोड देखि न्यूरोड जाने बाटोको पूर्व र पश्चिमतर्फ मेन नालाको दक्षिणतर्फ अण्डर ग्राउण्ड पार्किङसहित सवै सुविधा सम्पन्न विशाल वजार शपीङ कम्पलेक्स का लागि डीडीआर बढाइएको, सीटी हल निर्माणको लागि पहल गर्ने लक्ष्य राखिएको छ । सडकको दायाँ बायाँ ग्रिन वेल्टको अवधारणा अनुरुप बृक्षारोपणलाई प्रभावकारी बनाइने, व्यावसायिक रुपमा कृषि र पशुपालन गर्ने कृषकलाई कृषि र पशुजन्य प्रविधि, मल, बीउमा अनुदान दिने विषय समेटिएको छ । सुविधासम्पन्न रंगशाला निर्माणदेखि पर्यटकमैत्री वातावरण बनाउन संग्रहालय, कोशेलीघर र सभागृह निर्माण गरिने अवधारणा पनि अघि सारेका नगरप्रमुख राणाले खुल्ला स्थानीय सरकारको अवधारणा अवलम्बन गर्न रुची देखाएका छ । त्यसका लागि जनता र सरकारवीचको सम्वन्ध विस्तारमा सञ्चारमाध्यमसँगको सहकार्यलाई अगाढी बढाउने विकासका गतिविधिहरुलाई संचारका सबै माध्यम मार्फत जानकारी गराई सूचना प्रविधिलाई अधिक मात्रामा उपयोग गर्ने नीति पनि अवलम्बन गरिने जनाइएको छ ।
विपद व्यवस्थापन तथा उद्दार र राहतको कार्यक्रम अगाडी बढाइने, नगरमा “वालमैत्री कोष” स्थापना गरि आवश्यक बजेट व्यवस्थापन गर्ने र कोषबाट बालमैत्री वडा तथा नगर घोषणा सम्बन्धी कार्यक्रम सञ्चालन गरिने नीति पनि अघि सारिएको छ । सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्वद्र्धन गरि धार्मिक सहिष्णुतायुक्त शहरको रुपमा पहिचान स्थापना गर्न उपयुक्त कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
बालमैत्री, वातावरणमैत्री, अपाङ्गतामैत्री, लैङ्गीकमैत्री, खुलादिसामुक्त, पूर्ण साक्षर, पूर्ण खोपयुक्त कार्यक्रम कार्यान्वयन मार्फत् सामाजिक समावेशीकरण गर्ने नीति तथा कार्यक्रम सञ्चालन गरिने, कर्मचारीहरुको कार्यसम्पादनको आधारमा पुरस्कार तथा दण्ड दिने, उपलब्ध स्रोत साधनको उच्चतम परिचालन र उपयोग गर्ने नीति अवलम्बन गरिने उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत तोयानारायण सुवेदीका अनुसार, आगामी विहीवार नगरसभाको दोस्रो बैठक डाकिएको छ । उक्त बैठकले नीीत तथा कार्यक्रम र बजेट पारित गर्नेछ । ‘त्यस अघिनै नमिलेका कुराहरु कार्यपालिका बोर्डसँग बसेर सुल्झाउन भनिएको छ,’ सम्बद्ध स्रोतले भन्यो ।