कथा : बाबा खोई ?


भरत बहादुर रानाभाट

मन्जु र अस्मिता कक्षा तिनमा पढ्ने मिल्ने साथी थिए । अस्मिता र मन्जुको घर केही टाढा भएपनि दुबै जना नर्सरीदेखि एउटै स्कूलमा सँगै पढेका हुनाले मिल्ने साथीसाथी थिए । दुबै जना कहिले काँही झगडा गर्थे, ठुस्स पर्थे । भोलिपल्ट पहिला को बोल्ने भनेर बिचार गर्थे । दुबै जना मनमनै बोल्न मन भएपनि केही समय साथीलाई गलाउन आँखाबाट बिचार गर्थे । एक न एक जनाले लौ बाबा म ता हारे तैले जितिस् अब भयो बोल भनेर दुबै जना खितितित गरेर हाँस्थे ।

 

 
घरबाट बिहान साथमा लगेको टिफिन एक आपसमा बाँडेर खान्थे । अस्मिताको बाबा निजामति सेवामा जागिर खान्थे । मन्जुको बाबा परदेश गएको भन्ने मात्र थाहा थियो मन्जुलाई । तर, मन्जुले बाबाको अनुहार देख्न पाएकी थिइन् । भित्तामा मम्मी र बाबाको झुण्डिएको फोटो हेरेर मात्र बाबालाई चिनेकी थिई । प्रहरीको जागिर छोडेर बिदेश गएको भनेर मन्जुलाई भनिएको हुनाले बाबा बिदेशमा हुनुहुन्छ भन्ने कुरा थाहा थियो मन्जुलाई । एक दिन दुबै साथीसाथी बीच एक आपसमा झगडा भयो । कारण पनि सानो पेन्सिलको बिषय थियो । तर ख्यालख्यालमै पेन्सिल तानातान गर्दागर्दै झगडा भयो । अस्मिताले मन्जुलाई भनि ‘तेरो बाबालाई त कसैले धेरै पहिला नै मारेको हो अरे नि’ हाम्रो बाबाले भन्नु भएको थियो । यो कुरा सुन्ने बित्तिकै मन्जु छागाँबाट खसे जस्तै भई । अस्मिता सँग एक शब्द नबोली स्कूलमा बिदा हुँदासाथ सरासर घर गई ।

 

 
घरमा पुगेर पनि आमासँग नबोलेर ठुस्स परी । मन्जुको अनुहार मलिनो थियो । निधार तातो थियो । छोरीको त्यो अवस्था देखेर आमा मनमायाको सातो गयो । बिहान ठिकठाक स्कूल पठाएको छेरीलाई त्यो रुपमा देखेर मनमायाले के भयो तिमिलाई भनेर सोधिन् । मनमाया भान्सामा खाजा बनाउदै थिइन्, छोरी स्कूलबाट आउँदा भोक लाग्ला भनेर । सधै हाँसी खुसी आउने छोरीको त्यो अवस्था देखेर मनमाया खङ्रङ्ग भइन् । के भयो आज तिमिलाई गाला सुमसुमाइन , कपाल मुसारिन, छोरीको निधार छाम्दा तातो भयो । कपडा खोलेर बिस्तारामा लगी पानी पट्टी लगाई दिइन । तर, मन्जु केही बोल्दै नबोलेर निराश देखिई । आमाले धेरै कर गरे पछि मन्जु बोली । रुन्चे स्वरमा मेरो बाबा खोई ? कहाँ हुनुहुन्छ मेरो बाबा ? भनेर मनमायाको धोतीको फेरो समाएर ऊ रुन लागी । छोरीको त्यो अवस्था देखेर मनमायाको धैर्यताको बाँध फुटेर छताछुल्ल भयो । छोरीलाई अंगालो हालेर आमाछोरी दुबै जनाले धेरै बेरसम्म डाको छोडेर रोए अनी भएभरका आँशु निथारे । आमाछोरी एकआपसमा रुन थालेपछि घर नै एक तमासाले शुन्यतामा परिणत भयो । घरका कुना कन्दरासम्म शुन्यता छायो । आमाछोरीका रुँदारुँदा आँखाबाट आँशु निथ्रे ।

 

 
मनमायाले पनि बर्षौदेखि मनभित्र रहेको धुम्म बादलबाट छोरीका साथमा निर्धक्क भएर लामै बर्षा बर्साइन् । मन भित्रको धुम्म बादल फाटेपछि मनमायालाई पनि केही सहज महसुस भयो । आमाछोरीले केही समयको शुन्यतालाई भंग गर्दै मन्जुले ‘बाबालाई किन र कसले मारेको हो ? मेरो बाबालाई मर्नु पर्ने कारण के हो तपाईले बताउन सक्नु हन्छ मम्मी ?’ भनेर प्रश्न सोधी मनमाया छोरीको त्यो जिगासु प्रश्नले झन गम्भीर बनी । छोरी ‘त्यो समय देशमा द्वन्द्व थियो । पुरानो सत्तालाई धवस्त पारेर नयाँ सत्ता ल्याउन चहानेहरुले देशमा बिद्रोह गरेका थिए । राज्यका भौतिक संरचना माथि धावा बोल्दै प्रहरी माथी आक्रमण तिब्र भएको थियो । त्यही निशानामा तिम्रो बाबा पनि पर्नु भयो ।’

 

 
मम्मी सत्ता भनेको के हो ? फेरी मन्जुले मम्मीलाई सोधी । छोरी सत्ता भनेको जनताको नाम भजाएर देशको प्रधानमन्त्री बन्नु, मन्त्री बन्नु र राज्यका हरेक निकायमा आप्mना मानिस घुसाएर देशको साधन स्रोत माथी कब्जा गर्नु नै सत्ता हो । मन्जुले फेरी मम्मीलाई सोधी । मेरो बाबा त सानो सिपाही हो वहाले के नराम्रो काम गर्नु भयो र ? हो तिम्रो बाबा सानो सिपाही हो । देशको लागि सानो सिपाहीको पनि ठुलो भूमिका रहन्छ । राज्यको उपस्थिति भन्नु नै देशका कुना कन्दरा बिकट स्थानसम्म शान्ति सुरक्षार्थ खटिएका प्रहरी नै राज्यको उपस्थिति हो र विद्रोहीको पहिलो निशाना नै तिनै निर्दोष प्रहरी बने त्यही निशानामा तिम्रो बाबा पनि पर्नु भयो छोरी । तिमी सुन्दै जाउँ । म सबै कुरा तिमीलाई सुनाउँछु छोरी । नाबालिका मन्जु टोलाएर मम्मीका कुरा सुन्दै जान्छे ।

 

 
मेरो कलकलाउँदो उमेर थियो । बुबाआमाकी माईली छोरी थिए । गाउँको हाईस्कूलबाट एस.एल.सी.पास गरेपछि क्याम्पस जान थाले । क्याम्पस जाँदा बाटोमा प्रहरी चौकी थियो । त्यो चौकीको बाटो भएर दिनमा दुईपटक ओहरदोहर गर्नु पथ्र्यो । चौकीका प्रहरीहरु गोलघरमा बसेका हुन्थे । त्यहाँ सर्वसाधारण मानिसहरु पनि काम विशेषले चौकीमा गइरहन्थे । कोही प्रहरी राइफल समाएर डयूटीमा बसेका देखिन्थे । प्रहरीको बानी केटी देखेपछि जिस्क्याउनु पर्ने हुन्थ्यो । तर म कहिल्यै कुनै प्रहरीसंग बोलिन आप्mनो बाटो हिडेर क्याम्पस जाने आउने गर्थे । ति प्रहरीहरुको भीडमा एक जना गोरो युवक जहिलेसुकै ड्यूटी नहुँदा मेरो बाटो कुरेर बस्थ्यो, तर ऊ केही बोल्दैनथ्यो । कहिलेकाँही ऊसंग मेरा आँखा जुध्थे, म लाजले अनुहार रातो पार्थे । त्यो प्रहरी राम्रो थियो । ड्रेस लगाएर चटक्क परेर गेटमा ड्यूटी बस्दा भ्mन राम्रो देखिन्थ्यो । त्यो केटासंग नजानिदो गरेर माया बस्न थालेको थाहै पाइन । वर्ष दिनसम्म म त्यो बाटो हिड्दा पनि ऊ मसंग कहिल्यै एक शब्द बोलेन र कहिल्यै पनि मलाई बाटोमा देखेर जिस्क्याएन । अरु केटीहरुलाई पनि केही नराम्रो भनेन । हैन प्रहरीमा पनि यति राम्रा मानिसहरु पनि हुन्छन् र ? मेरो मनले यसो भन्थ्यो । क्याम्पस जादै आउँदै गर्दा क्रमशः दिनहरु बितिरहेका थिए ।

 

 
एक दिन म कलेज जाँदै गर्दा चौकीका प्रहरीहरु सबै बाटोमा उभ्भिएर गाडी कुर्दै गरेको देखे । त्यो प्रहरी अनेत्र जिल्लामा सरुवा भएको रहेछ । उसलाई साथीहरुले विदाई गरेर गाडीमा चढाई दिएको मेरा आँखाले देखे, ऊ सरुवा भएर गएको थाहा पाएपछि मलाई असाध्यै नरमाइलो लाग्न थाल्यो । हुनत ऊ मेरो कोही थिएन । तर ऊ गएपछि मेरो बेचैनी बढ्न थाल्यो । म ऊ संग नबोले पनि भित्रभित्रै मैले उसलाई माया गर्न थालेछु । जहिले पनि उसलाई देख्ने बित्तिकै मेरो मन शान्त हुन्थ्यो । ऊ गएको तीन महिनापछि मलाई मैले पढ्ने क्याम्पसको ठेगानामा एउटा चिठ्ठी आयो । उसले चिठ्ठीमा लेखेको थियो । म जिल्लाको बोडरको चौकीमा आएको छु । तिमीसंग छुट्टीएर आएपछि तिम्रो एक झुल्को नजर देख्न नपाउदा मलाई दिउसै अन्धकार भए जस्तो भएको छ । साँच्चै मनै देखि नढाँटी भन्दा म तिमीलाई असाध्यै माया गर्छु र तिम्रो मन्जुरी भएमा विवाह पनि गर्न चाहन्छु । यसमा तिम्रो बिचार के छ ? । मलाई चिठ्ठीमा आप्mनो मनसाय लेखेर पठाउनु म प्रतिक्षामा हुनेछु भन्ने ब्यहोराको चिठ्ठी पाएपछि मैले पनि मेरा मनमा लागेका बिचार र मेरा भावना लेखेर पठाए । ऊ गएको एक वर्ष पछि मेरो आइए दोश्रो वर्षको परिक्षा सकिएपछि ऊ मलाई भेट्न आयो । म पनि ऊसँग भागेर उसको साथ लागेर गए ।

 
प्रहरीको जागिर जुन ठाउँमा खटाएपनि जानु पर्ने हुनाले कहिले कता कहिले कता झोला गुण्टा बोकेर हिडीरहनु पथ्यो । वहाँ अनुशासित सिपाही भएको हुँदा आफु भन्दा माथिकाले सबैले माया गर्थे । आफु भन्दा माथिकाले भनेको काममा वहाँले कहिल्यै अटेरी गर्नु भएन । एकदिन कार्यरत जिल्लाको अति संवेदनशिल इलाका प्रहरी कार्यालयमा वहाँलाई खटाइयो । खटाएको ठाँउमा जान्न भन्ने कुरा हुँदैन्थ्यो । त्यो समय देशमा अशान्ति मात्र थियो । कति बेला कहाँ के हुन्छ ? समय कसैको बसमा थिएन । इलाका प्रहरी कार्यालय देखि अलिपर हाम्रो डेरा थियो । साँझको खाना खाएर वहाँ सधै राती कार्यालयमै जानु हुन्थ्यो । त्यो दिन पनि साँझको खाना खाएर वहाँ अफिस जानु भन्दा अगाडि मलाई भन्नुभयो, ‘तिमीलाई असाध्यै माया गरेर श्रीमति बनाएर ल्याए । कति धेरै चहाना मनमा सजाएर राखेको छु । जोखिमवाला जागिर भएको प्रहरीको श्रीमति भयौँ । प्रहरीको जागिर कति कष्टपूर्ण छ भन्ने कुरा अनुभव गरेकै छौ । कुन दिन कुन समय कहाँ के हुन्छ यसै भन्न सकिदैन । तर प्रहरीको श्रीमति भएर जे जस्ता चुनौतीको सामना गर्न परे पनि हिम्मत चाही कहिल्यै नहार्नु भन्दै खिस्स हासेर अफिस तिर जानु भयो ।

 

 
मलाई निद्र लागेको थिएन । मनमा कुरा खेलाउदा खेलाउदै निद्र लम्बिएको थियो । ठिक रातको बाह्र बजे ठुलो आवाज आयो । त्यो आवाज इलाका प्रहरी कार्यालय तर्फ लक्षित थियो । बिद्रोही पक्ष र प्रहरी बिच दोहोरो फाइरिङ्ग चल्न थालेपछि मेरो होसहवास उड्न थाल्यो । सुनसान रात जताततै अन्धकार छ । न कोही बोल्छन । न कोही खोक्छन । ढोका खोलेर बाहिर जाने कस्को हिम्मत ? सबै तै चुप मै चुप रहे । मेरो मन भकभक पाकिरहेको थियो । भएभरका देउता सम्झेर बसेकी थिए । मेरो मुख सुकेको थियो । म आफै एक्लै छटपटिएर मैले गर्न के पो सक्थेर । रातभरी जागा रहे । भोलिपल्ट बिहान उठेर म थानामा जान खोज्दा प्रहरीले जान दिएनन् । पछि मलाई थानामा लिएर गए । वहाँ राती १२ बजे सेन्ट्री बसेको समयमा गोली लागेर ढल्नु भएछ । म त्यहाँको दूश्य देखेर बेहोस भए । मलाई प्रहरीले अस्पताल लगेर भर्ना गरे । त्यहाँ अरु प्रहरी पनि घाईते भएका थिए । वहाँको शव पोष्टमार्टम पछि घर नजिकैको खोलामा लगेर प्रहरीको सलामी सहित दहासंस्कार सम्पन्न भयो ।

 

 
मेरो पेटमा गर्भ थियो । पहिला घरमा सासुससुरा जेठाजुले असाध्यै माया गर्नु हुन्थ्यो । म घरमा सुत्केरी भएर तिमीलाई जन्म दिदा पनि सबैले माया गर्नु भयो । तर, बिस्तारै म सबैको आँखाको कसिङ्गर बन्न थाले । अनि सबैले हेला गर्न थाले । घरमा खान बस्न दिएन्न । यो भर्खरकै छ, छोरी छोडेर अन्यत्र पनि जान सक्छे, यसको बिश्वास छैन । यसको भर छैन भनेर मलाई दुःख दिनसम्म दिए । माथिबाट आउने राहात रकम पनि मलाई नदिने र दिएपनि थोरै दिने षडयन्त्र रचिन थालियो । मैले रकम समेत नपाउने स्थिति आएपछि म जस्तै घटनामा श्रीमान गुमाएका दिदी बहिनीहरुलाई घरमा ल्याएर सम्झाई बुझाई गर्दा घरमा सासु ससुरा नमाने पछि तिनै दिदी बहिनीको सहाराले मैले अदालतमा मुद्दा हाले । मैले मुद्दा जिते पनि । माथिबाट पाएको राहत रकमले मैले घडेरी किनेर चार कोठाको घर बनाएर यो सहरमा तिमीलाई एक्लै राखेर पढाएकी छु । घर तर्फकाले कसैले पनि वास्ता गर्दैनन् । मलाई माइतबाट हेरबिचार भइरहेको छ । तर, तिम्रो पढाईमा बाधा पर्ला भनेर बुबा विदेशमा हुनुहुन्छ भनेर मैले नै सबैलाई भन्न अनुरोध गरेकी थिए ।

 

 
मैले यहाँ व्यूटीपार्लर चलाएर आजसम्म तिमीलाई पढाएकी छु । मलाई मानिसहरुले नराम्रो नियतले हेरे पनि समाज संग जुधेर संघर्ष गरेर नै म आज यहाँ छु । भन्नेहरुले जेसुकै भनुन्, कुरा गर्नेले जेसुकै कुरा गरुन त्यसको पर्वाह नगरी म अगाडि हिडिरहेकी छु । तिमीलाई बुबाको अभाव नहोस् भनेर घर परिवार र समाजका अगाडि तिमीलाई पढाएर यो देशको एउटा सच्चा नागरिक भएको हेर्ने धोको छ ।

 

 
छोरी मैले जीवनमा एक पटक मात्र तिम्रो बाबा भगवानसंग प्रेम गरे । तिम्रो बाबा भगवान साँच्चै एउटा असल होनाहार राष्ट्रसेवक हुनुहुन्थ्यो । वहाँले मसंग भन्ने गर्नु हुन्थ्यो, ‘हामीले गीता छोएर कसम खाएका छौँ । यो देश र जनता प्रति वफदार भएर कर्तव्य पालन गर्दागर्दै परिआए दुस्मनसंग नडराई विरतापूर्वक लड्दालड्दै मूत्युवरण भएपनि अमर प्रहरीको रुपमा देश र जनता रहेसम्म हामी पनि बाँचिरहेका हुनेछौं ।’ तर वहाँले भनेको त्यो कुरा आज यथार्थमा परिणत भयो । एकल महिला भएर समाजमा बाँच्नु पर्ने बाध्यता र पीडा त असाध्यै छ तर हरेक दुःख कष्ट झेल्दै त्यसलाई चिर्दै पतिको मायाले हरबखत मलाई कर्तव्यबोधले झकझकाउँछ । छोरीको भविष्यलाई साकार पार्न प्रत्येक कदमकदममा अगाडि लम्किन आज मलाई वहाँको सम्झनाले उर्जा प्राप्त भएको छ ।

 
त्यसैले छोरी तिम्रो बुबा नभएपनि तिम्रो बुबाको फोटो र वहाँको असिम माया मसंग छ । मैले वहाँसंग गरेको पहिलो प्रेमले नै हरेक अप्ठ्याराहरुसंग लड्न र जुध्न सहास पलाएको छ । प्रेम प्राप्त गर्नुमात्र पनि होइन, प्रेम त्याग, तपस्या र बलिदान पनि हो । बिछोड पनि हो । मेरो एक मात्र इच्छा र चहाना तिमी ठुलो भएर बिए पास गरेपछि प्रहरीको इन्स्पेक्टरमा खुला प्रतिस्पर्धाबाट छानिएर तिमी प्रहरीको इन्स्पेक्टर भएको मैले देख्न चाहान्छु । तिम्रो भविष्य, मेरो इच्छा र बुबाको सम्झना यसैमा जोडिएको छ । तिम्रो मम्मी र बाबा मै नै हो । मैले तिम्रो हरेक चहानालाई दुःख कष्ट सहेर अपमानको प्रर्वाह नगरी तिमीलाई पढाएर एउटा लक्ष्यमा पुर्याउनु छ । मैले देखेको सपना तिमीले पुरा गर्यौं भने त्यो बेला तिमीले बाबाको बारेमा धेरै कुरा बुझ्ने छौं । बाबाको सम्झना, मेरो सपना पनि त्यहीँ हुनेछ छोरी जुन दिन तिमीले तिम्रो कर्तव्य पुरा गर्नेछौं । त्यो बेला तिमीले ‘बाबा खोई ?’ भनेर आँशु खसाल्न नपर्ला ।

प्रतिक्रिया

प्रतिक्रिया